–ओम बस्नेत
“नेपाली है ?”, पुलिसले सोध्छ आसाम यातायातको सिलगडीदेखि गुवाहाटी जाने सरकारी बसमा यात्रा गर्दै गरेको जंगेलाई ।
“जिउ हो”, भन्छ जंगे ।
पुलिसले भन्छ, “बाहार आओ अपना बेग लेके ।”
बेग चेपेर बसबाट बाहिर निस्किन्छ जंगे । बिहानको तीन बजेको छ । नेपाली पैसेन्जर छ की छैन भनेर चेक गर्छ श्रीरामपुर गेटमा आसाम पुलिसले । जंगे त्यो आसामिस पुलिसको पछि–पछि जान्छ । बस स्टार्टमैं थियो । पुलिस चौकीमा ओसी साहेबले फेरी प्रश्नको खोइरो उत्तार्छ ।
ओसी, “कहाँ जा रहा है ?”
जंगे, “गुवाहाटी ।”
ओसी, “नेपाली है ?”
जंगे, “जिउ हुनु त नेपाली नै हाये तर, सिक्किमबाट पो आउँता है ।”
ओसी, “पास है, आईएलपी है ?”
जंगे छक्कै पर्यो र डराउँदै भए पनि पुलिससलाई सोध्यो, “सिक्किम भी इन्डिया हे अन्त आपका आसाम चै इण्डिया नही हे ?”
ओसी “तुम्हारे पास क्या पेपर है ? कुछ है तो दिखाओ न” जंगेले झोलाबाट सिक्किम सब्जेक्ट झिकेर देखाऊँछ । बिजुली मधुरो छ थानाको । टोर्च लाइट लगाएर हेर्छ ओसीले सिक्किम सब्जेक्ट ।
“तुम्हारा नाम क्या है ?” ओसीले सोध्छ ।
“जंग बहादुर बस्नेत, पिताजीका नाम श्री खडानन्द बस्नेत ।”
“ये क्या है भाई इसमे तुम्हारा फोटो कहाँ है ?”, अर्को प्रश्न ।
जंगे के भनौ भनौ हुन्छ ।
“साले झूठ मुठका पेपर दिखाता है अन्दर करो इसको” भनेर सिपाहीलाई अर्डर दिन्छ ।
बस कन्डक्टर आएर पुलिसलाई “क्या करें सर ये हमारा पैसेंजर है” भन्छ ।
“तुम लोग जाओ इसको वापस कर देंगें सिलीगुडी” भने पछि बस हिँडछ । एकछिपछि सिपाही आएर भन्छ “पैसा निकालो तब जाने देंगे हमारा साहब अच्छा है । तुम आसाम जा सकते हो लेकिन पैसा लगेगा” भन्छ । जंगेले पैसाको पोको जिम्मा लगाउछ । “क्या साला भिखारी जैसा आदमी इतना सारा सिक्का लेके घुमता है” भनेर उल्टै खिशी गर्दै पैसा लान्छ । एउटा पुलिसको भ्यानमा ड्राइवर एक्लै रहेछ त्यसमा हालेर “इसको आगे छोड देना” भन्यो सिपाहीले । जंगे त्यसमा चढ्छ । रिम रिम उज्यालोमा एउटा चियाको दोकान अघि रोक्यो र झर्ने इशारा गर्यो ड्राइभरले । ठाउँको नाम पाटगाउँ रहेछ । चोर गोजीमा तीन सौ चेपेकै थियो अब त्यो पैसाको भरमा नौलो ठाउँमा जीवन धान्नुछ जंगेले । चिया दोकानको फलेकमा बसेको थियो ।
एउटा ग्वाला आउँदै गरेको देख्छ । साइकलमा दुधको क्यान झुण्डयाएको छ साइडमा । हेर्दै चिन्यो जंगेले नेपाली अनुहार । नौलो ठाउँमा नेपाली ग्वाला देख्दा अलिकति खुशी लागेन । भगवान भेटे जस्तै भयो जंगेलाई । राम कहानी बतायो ।
एकदिन जंगे र उसको बाउको निक्कै चर्काचर्की परेको थियो र “म घर छोडछु” भनेर आफ्नै बाउलाई धम्की लगाएको थियो । घरको याद झलझली आउनु थाल्यो तर, फेरि बाउको खर्रो बोलीको याद आयो “तैंले जिन्दगीमा केही नाप्दैनस् बुजिस्, निकम्मा अल्छे” भनेका थिए । खडानन्द मण्डलले खजाना उठाको सिक्का पैसा राखेका थिए । पोकामा चार÷पाँच सौ थियो । त्यो लिएर हिँडेको हो जंगे । त्यो पनि पुलिसले लगिदियो ।
ग्वाला थापा रहेछन्, घर झारबारी भन्ने गाउँमा थियो । धेरै वर्षअघि पुगेका रहेछन् । जंगल फाडेर बाक्लो बस्ती बसेको रहेछ नेपाली र सन्थालीहरुको । एक रात थापाको कटेरोमा सरण लियो जंगेले । सिनिक्कै सफा पार्यो कटेरो । गोजी छाम्यो बिँडी मार्चिस सकेछ । बिँडीको तल तल लाग्यो । मार्चिस र बिँडीको खोजीमा धेरै परसम्म गयो पाएन । अझै गयो भेटेन दोकान । आठ नौ किलोमिटरको खोजाईपछि भेट्यो ।
जंगेले एक डेढ सौ रूपैयाँमा पेटी नै ल्यायो । उसलाई थाहा भयो त्यो ठाउँमा दोकानको कति खाँचो रहेछ भन्ने कुरा । त्यसकै व्यापार गर्न थाल्यो । मार्चिसले उसको बुद्धिको बत्ति सल्क्यो । केही दिनपछि उसको ठूलो पसल भयो । ग्वालाको छोरीसँग बिहे भयो । विस्तारै–विस्तारै जंगेले धेरै पैसा कमायो । जंगे मालिकको बसहरू, लोरीहरु सडकमा कुदनु थाल्यो ।
एउटा छोरा एमएलए भए । अर्को छोराले आसाम सिभिल सर्भिसेसको परीक्षा पास गरेर आसामको धेरै जिल्लाहरूमा डीएम भएर सेवा दिइरहेका छन् ।
श्रीरामपुर गेटमा इन्नर लाइन परमिट देखाउनु पर्छ जस्तो लागेन आजकल । तर, भोटर कार्ड र आधार कार्ड त हर कुरामा अनिवार्य नै हो ।
जंग बहादुर बस्नेतले अहिले गुवाहाटीमा ठूलो फार्म हाउस बनाएर आरामको जिन्दगी बिताइरहेका छन् । सिक्किम सब्जेक्ट राखेका छन् अरे ! कुन्नी किन हो । सिक्किमको निशानी भनेर पो हो की ?
-राजेश भट्टराई
१.
पटक्कै दुखाउदिन तिम्रो चित्त, खुलेर नै बोल
हल्का हुन्छ मन, क्रमशः पीरको गाँठो खोल
म परेँ अरूको घाऊमा, मलहम लगाउने मान्छे
जतिसक्यो छिटो भन बरू, मन अन्त नडोल ।।
२.
ईष्र्या गर्दैछ चन्द्रमाले, तिम्रो यो रूप देखेर
भन्थ्यो ‘कम राम्री बन्न भन् न’, मलाई भेटेर
डर छ उसलाई, कतै फेल हुन्छु कि भन्ने
पोख्दैछ रिस, आफूूले आफैलाई ह्याकेर ।।
३.
आउँदैछु तिमीलाई लिन, तयार भएर बस्नु
साँचो माया गर्छेउ भने, आलिङ्गनमा कस्नु
नत्र भने दुत्कार्दै धकेल्नु, सधैँ सधैँको लागि
जिन्दगीभर दुखाइरहने, चौटै चोटले डस्नु ।।
४.
के दुःख प¥यो तिमीलाई, खुलेर भन न मलाई
जलाई दिन्छु त्यो दुःख, झ्यार्र कोरेर सलाई
तर भन्दिनौ थाहा छ, मप्रति त विश्वासै छैन
कहाँ चिन्छेउ र, जस्ले सोच्छ, आफ्नो भलाई ।।
–कुसुम तिवारी पाठक
नारीलाई दुर्गा देविको रूपमा लिने यो हाम्रो नेपाली समाज ।
ती कोपिला निमोठिँदा ए सरकार अझै पनि लाग्ने है लाज ।।
ती सानी नानी सम्झेर मैले गह रूजाई लेख्दैछु कविता ।
कहिलेसम्म हेरि बस्छौ भ्रष्टाचारी नेता अपराधी रमिता ।।
पहिलाभन्दा आज भोलि मैले यो दुनिया धेरै भिन्न देख्छु ।
घटना देख्दा मन थाम्न नसकेर मैले कलम उठाई लेख्छुु ।।
लगातार वर्षै पिच्छे दिनै पिच्छे बालिकाको हत्या हुँदैछ ।
फुल जस्ता नानीहरूको बलात्कृत हत्या हुँदा यो मन रुँदैछ ।।
कोपिलामै चुडिनुपर्ने हामीहरू कस्तो देशमा जन्म लियौं ।
हे धर्तिमाता छोरीहरूलाई नजन्माइदेउन, किन जन्म दियौं ।।
न्याय दे न्याय दे न्याय दे ए सरकार हामीहरू निःशब्द छौं ।
अबोध बालिकाहरूको न्यायको लागि सधैँ लडिरहन्छौैं ।।
न्याय नपाए गोर्खा जानुु भन्ने गर्थे हाम्रा बुढापाकाले ।
त्यै गोर्खाबाट न्याय दे भन्दै रोएको देख्यौ आज यिनै आँखाले ।।
गृहमन्त्रीलगायत अन्य नेता ज्यूूहरू त्यही जिल्लाको हुनुहुन्छ ।
मेरि फुल जस्ती नातिनी कता गै, खै भन्दै हजुरआमा रुनुहुन्छ ।।
हे भगवान बाबा र आमा हामी सबैलाई मन थाम्ने शक्ति देऊ ।
तिमी आफै सृष्टिगरी ती बालिकाको अनयासै प्राण किन लियौ ।।
एक्लै–एक्लै हिँड्न र पढ्न गारो भयो नि अबोध छोरीहरूलाई ।
मुटुमा घाउ लिएर कसरी बाँच्नी ती आमा जिन्दगी भरीलाई ।।
हे भवगान यस्ता नेताहरू भ्रष्टाचारीलाई देशबाट मासिदेऊ ।
जधन्य अपराधगरी हत्या गर्नेलाई ए सरकार छिट्टै फाँसी देऊ ।।
ए सरकार छिट्टै फाँसी देऊ ।।
काठमाडौं : मुक्तककार कमला पौडेलद्वारा लिखित आकांक्षा मुक्तक संग्रहको लोकार्पण गरिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र गंगबुको सभा हलमा भएको एक विशेष कार्यक्रमकाबीच पुस्तक लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार मोतीराज बमको प्रमुख आतिथ्यमा भएको कार्यक्रम साहित्यका विभिन्न विद्यामा कलम चलाइरहेका सष्ट्राहरूको उपस्थिति रहेको थियो ।
लेखिकाका काका रवि पौडेलको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार नारायण नेपाल, साहित्यकार बैरागी जेठा, साहित्यकार रसुवाली कवि, मुक्तक विद्यामा स्थापित मुक्तककारहरू सुनिल अधिकारी, एचके धिताल, राजेन्द्र घिमिरे तथा साहित्यकारहरू श्यामराज पाठक, छविरमण सिलवाल, चेतनपथ माधव लगायतले संयुक्त रूपमा मुक्तक संग्रहको लोकार्पण गरेका थिए । लोकार्पण कार्यक्रमको सञ्चालन चर्चित हास्य कलाकार एन्टिना घनश्यामले गरेका थिए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : साहित्यकार रमेश हरिलठ्ठकको स्मृतिमा स्थापित रमेश स्मृति कोषद्वारा हरेक वर्ष प्रदान गर्दै आइरहेको "रमेश स्मृति सम्मान" साहित्यकार सरस्वती बस्याललाई प्रदान गरिने भएको छ । बस्याल रुपन्देहीको देवदहमा बसेर साहित्य साधना तथा समाज सेवामा सक्रिय रहँदै आएकी छिन् l
दीप मिलनको संयोजकत्वमा गठित तीन सदस्यीय स्रष्टा छनोट समितिले यस वर्षको सम्मानका लागि साहित्यकार बस्याललाई छनोट गरेको हो । उक्त छनोट समितिमा राजीव सापकोटा र सोतन्त्र नेपाल सदस्य रहेका थिए । यस सम्मान कोषले साहित्यकार हरिलठ्ठकको जन्म जयन्तीको अवसर पारेर सम्मान प्रदान गर्दै आइरहेको छ । हरिलठ्ठकको ४४औं जन्म जयन्तीको अवसर पारेर यस्तो घोषणा गरिएको हो ।
नेपाली साहित्यको गीत, गजल, कविता, मुक्तक, कथा र हाइकुसहित विविध विधामा क्रियाशील हरिलठ्ठकको जन्म वि.सं. २०३७ साल फाल्गुण २१ गते भएको थियो । २३ वर्षको अल्पायुमै दिवङ्गत भएका उनले २०६१ साल श्रावण २१ गते महाप्रस्थान गरेका थिए । नेपाली साहित्यको गजल विधामा पहिलो पटक टेन गजल नामक अंग्रेजी गजल संग्रह प्रकाशन गरी नेपाली साहित्यमा अङ्ग्रेजी गजलको कृतिमार्फत द्वार खोलेका थिए । हरिलठ्ठकको सानु, कुकुरलाई घ्यू, जिन्दगीको कहानीमा र टेन गजल सहित आधा दर्जन कृतिहरू प्रकाशित छन्। उनको स्मृतिमा "रमेश हरिलठ्ठक र उनका सिर्जनाहरू" नामक स्मृति संग्रह पनि प्रकाशन भइसकेको कोषका संयोजक दीप मिलनले बताए ।
कोषका अनुसार नेपाली साहित्यको चोटिलो मुक्तक विधामा सक्रिय साधना सँगै सम्भवतः देशमै पहिलो पटक आमा छोराको संयुक्त कृति निकालेर अतुलनीय योगदान गर्नुका साथै हरिलठ्ठकसँग सम्बन्धित क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्दै आएकाले बस्याललाई यो सम्मान प्रदान गर्न लागिएको हो । यद्यपि, सम्मान कहिले र कहाँ गर्ने भन्नेबारे कोषले केही बताएको छैन । २०७२ सालदेखि कोषले प्रदान गर्दै आइरहेको "रमेश स्मृति सम्मान"बाट पहिलो पटक महिला स्रष्टालाई सम्मान गर्न लागिएको हो ।
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले 'प्रज्ञा गजल महोत्सव-२०८०' सम्पन्न गरेको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर प्रज्ञा गजल महोत्सव-२०८० को उदघाटन गरेका थिए ।
सो अवसरमा कुलपति राईले कवि र गजलकारले आफ्नैविरुद्ध उभिएर पनि सिर्जना गर्ने गरेको तथा कवि र गजलकार प्रायः भ्रष्ट हुँदैन भन्ने धारणा राख्दै महोत्सवमा सहभागी गजलकारलाई प्रमाणपत्र प्रदान गरेका थिए । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गजल महोत्सवलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी बनाउने उल्लेख गरे ।
प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले गजलले साहित्यिक विधामा बृहत् रूप धारण गरिसकेको बताए । यस विधाको खोजअनुसन्धान हुनुपर्नेमा उनले जोड दिए । समालोचक प्रभाती किरणले 'वर्तमान नेपाली गजल' शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए भने टिप्पणी गजलकार करुण थापाले गरेका थिए ।
प्रज्ञा गजल महोत्सवमा शान्ति शर्मा, रूपक वनवासी, गणेशबाबु अधिकारी, दिलकुमारी मगर, विद्यानिर्दोष पहाडी, सागर रिमाल, ललिजन रावल, रवि प्राञ्जल, प्रा डा सनतकुमार वस्ती, डा. देवी पन्थी, रामबहादुर पहाडी, माधव खतिवडा, ज्ञानु विद्रोही, राधा कँडेल, विपिन मर्म, अर्पणा आपागाई, सुशीला श्रेष्ठ, सिद्धनारायण आचार्य, मुक्त उदास, अन्जान यात्री, आँचलकुमार शर्मा र सुशीला शर्माले नेपाली भाषामा गजल वाचन गरेका थिए । यसैगरी लिम्बू भाषामा स्वप्निल स्मृति, मैथिलीमा धीरेन्द्र प्रेमर्षि, तामाङमा ईश्वर थोकर, नेपालभाषामा रामगोपाल आशुतोष, अछामीमा सागर रिमाल, उर्दुमा इम्तियाज बफालगायतले गजल वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण गजलकार बाबु त्रिपाठीले गरेका थिए ।
–रीता ताम्राकार
ऊ .... अर्थात् अस्मिता ! आज उसको विवाहमा जानुपर्ने । एउटा राम्रो र गतिलो उपहार किनेर ल्याएकी छु । हतारिएका छन् मेरा नयनहरू उसलाई बेहुलीको रूपमा देख्न । “अस्मिता, बधाई छ है तिमीलाई । साथमा तिम्रो दाम्पत्य जीवन फलोस् फुलोस् त्यसका लागि शुभकामना !” उपहार अस्मिताका हातमा राखिदिए ।
आफ्ना ठूला–ठूला मृगनयनी आँखामा श्रृङ्गार थपिएर अत्याधिक मनमोहक देखिएको छ । त्यसलाई पर्लक्क पल्टाएर हेरिन् । हेर्दाहेर्दै त्यो मृगनयनी आँखामा अश्रुरूपी अमृत रसायो र मलाई लाग्यो, त्यो आँसु भन्दैछ, “मेरो सुख दुःखको साथी, संघर्षको साक्षी । जीवनरूपी पुस्तकको गहिरो अध्ययन गर्ने एक मात्र पाठक । म आज तपाईंदेखि टाढा हुँदैछु । तैपनि तपाईं खुशी हुनुहुन्छ ?” झसङ्ग भएँ । मेरो आँखामा पनि दुई थोपा मोती बस्यो, ऊप्रति स्नेह श्रद्धा स्वरूप ।
मलाई नजिक बस्न अनुरोध गरी । म ऊसँगै गएर बसेँ । वैवाहिक कार्य सुखद हुँदाहुँदै छोरी विदाई गर्नुपर्ने पीडायुक्त कार्य । विस्तारै मेरो हात समाती उसले । कता–कता लाग्यो उसको आँखाले भन्दा बढी कुरा स्पर्शले गरिरहेछ ।
अरूको बारेमा त भन्न सक्दिन तर, म कुनै त्यस्तो दृश्य देख्छु जुन विस्मयकारी छ । अस्वभाविक छ र मार्मिक पनि छ । त्यसलाई गहिरोसँग जान्न र बुझ्न उत्सुक बन्छु । रोक्न सक्दिन आफ्नो उत्सुक उत्कण्ठालाई । मैले लगाउने बन्धन वा अंकुशभन्दा धेरै पर उछिट्टिन्छ मेरा जिज्ञासाहरू । मेरो वेगभन्दा धेरै वेगवान हुन्छ, उसको गति ।
अस्मितारूपी पुस्तकको पहिलो पाना यसरी पल्टेको हुन्छ मेरा अगाडि । पछाडि आङ्गमा सानो बच्चालाई ओढ्नेले बाँधेर आफ्नो शरीरभन्दा धेरै गुणा थुप्रो थुपारिएको माटो खुट्टाले क्याच क्याच मिचिरहेकी हुन्छे आँसु पुछ्दै नौ÷दश वर्षकी एक बालिका ।
हिँडदा हिँडदै मेरो पाइला रोकिन्छ । निर्मिमेष दृष्टिले त्यो जीवन बाँच्ने क्रमको कटु सत्यपक्षलाई निहारिरहेकी हुन्छु । अचानक कानमा ठोकिन्छ “तेरी आमा मरी भनेर रुँदै काम गरेकी हो कि बाबु म¥यो भनेर ? बाबुको काट्टो र आमाको लादी घिच्नु परेपछि काम गर्न पर्दैन ? त्यस्तै काम गर्न मन नहुनेले गरिबको घरमा जन्म किन लिनु ? लखपतिको घरमा लिए हुन्थ्यो नि ... । राँडी बिहान बिहान मेरो मूत आँखाबाट झारेर अलच्छिना जोगाउँछे ।”
अभावमा पिल्सिएर कर्कश बनेको आवाज । ममता, स्नेह ताकमा थन्क्याएर निर्मम बन्न बाध्य लाचार आवाज । वात्सल्यले लपक्क भिजेको आवाजलाई जितेर निस्केको दरिद्रताको निर्दयी आवाज । म खङ्र्गङ्ग भएँ । अझ उसलाई नियालेँ । ऊ झन् छिटोछिटो खुट्टा चलाइरहेकी छे र त्यही गतिमा आँशु पनि पुछिरहेकी छे ।
मन कस्तो कस्तो भयो । विरक्तिपनले मन निमोठियो । छिनभरि कामको व्यस्तताबीच पनि उसको आँशुले भिजेको मुहार नाचिरह्यो आँखामा । देशमा विद्यमान गरिबी र बेरोजगारी आएर हाँसी रह्यो मनमा । गरिबी हटाउँछु देश बनाउँछु, जनतालाई रोजगार दिलाउँछु । भनेर कुर्लने स्वार्थी नेताहरूको आवाज गुन्जिरह्यो कानमा । मनभरि तिक्तता भरियो ।
साँझ घर फर्कन अलि ढिला भयो । त्यहीँ आइपुगेपछि हेर्छु छैन बिहानको दृश्य । पाइला अलि अघि बढेपछि अझ अचम्मको दृश्य देख्छु । अस्मितारूपी पुस्तकको अर्को पन्ना । ऊ तान्दैछे एक मातेको मत्थुलाई, जो सम्भवतः उसको बाबु हुनुपर्छ । एक पिलन्धरे बालिकाले त्यस्तो ठूलो मान्छे जसमा रक्सीको बल थपिएको छ कहाँ तान्न सक्नु ?
“चुप लागेर घर हिँडनु... । हिँडनु भन्दैछु ।” रुँदै तान्दैछे । कहिले हात समातेर, कहिले लुगा समातेर । देख्दैछु, भएभरको बल लगाउँदा पनि आफ्नो लक्ष्य प्राप्त रत्तिभर भएको छैन उसलाई । “छोड् ... । म जान्न घर । म त्यसलाई छाड्दिन । त्यसले मलाई हेपेको ? मेरो गरिबीको खिल्ली उडाउने त्यो ? के खाएको छु त्यसको बाबुको मैले । छोड् म त्यसको टाउको फुटाउँछु । छोड् मलाई ।” बाबु चाहिँ छुटाउँदैछ छोरीको पकड । छोरीले छाड्न नमान्दा घरिघरि छोरीलाई पिट्नसम्म पछि परेको छैन त्यो । जड्याहा !
देख्दा बडो मर्मस्पर्शी छ त्यो दृश्य । मन कटक्क दुख्ने । धेरैबेरसम्म तान्ने र छोडाउने क्रमपछि पनि कसैले गन्तव्य भेट्न सकेनन् । वरपर घरमा शान्ति बिथोलिएछ क्यार । नजिकैको घरबाट एउटी महिला निस्केर मज्जाले हप्काइन जँड्याहालाई ! “ए मतुवा ! लाज छैन ? हेर बालक छोरीले घर लान त्यत्रो बल गर्दा पनि बाबु भएर गति छाडेको । कुकुरको मुत धोकेर साथीभाइसँग झगडा गर्दा भोलि बोल्नु पर्दैन फर्केर ? जा... चुपचाप छोरीसँग घर जा । किन पिर्छस् स्वास्नी छोराछोरीलाई । जा खुरुक्क ।” महिलाको खप्कीले मतुवाको मुख बन्द नभए पनि पाइला बढ्यो घरतर्फ ।
मेरा लागि ऊ अब बेला–बेला सम्झनु पर्ने बालिका बन्न पुगी । उसलाई लिएर अब मेरो मनमा दयनीय भावमात्र छैन । उसका लागि मेरो मनमा अरू बच्चाहरूको भन्दा दुई तहमाथि ठाउँ छ । त्यो दिन अझ उच्च बनेकी थिई ऊ मेरो नजरमा । दुईजना भाइ अघि लगाएर किराना दोकान आइपुगेकी थिई ऊ पनि, जहाँ आफ्नो काम लिएर म पहिला नै उपस्थित थिए ।
“दुईवटा कपी र दुईवटा डट्पेन दिनुस्न अंकल” उसले मागी । तीनै दिदीभाइलाई मज्जाले नियाले मैले । मैले पढ्ने चाखलाग्दो पुस्तक अस्मिता ।
एउटा मैलो थोत्रो सर्ट र त्यसैलाई सुहाउँदो जामा लगाएकी छ । कपालमा तेल र काईंयोले धेरै दिनदेखि नदेखेजस्तो । हातगोडामा हिलो माटोको सुकेको दागहरू । उसले मसँग आँखा जुधाई आँखा भरि हाँसो भरेर । कति सजीव, कति राम्रा आँखा म दङ्ग परें । उसको हाँसोको जवाफ मधुर मुस्कान र ममत्वभरि नजरले दिएँ र एकनजर उसका दुवै भाइहरूमाथि सोझ्याएँ । उनीहरू पनि दरिद्रताको प्रतीक नै थिए । एक एक थोत्रा सर्ट र त्यस्तै थोत्रिएका सुरुवालमा छन् । गोडामा चप्पल तीनैजनासँग छैन ।
“दिदी ! चकलेट किनिदे न ... ।” भाइहरूको आग्रह ।
“अँ ... । यो पैसा फिर्ता लगेन भने बुबाले मार्दैनन् । चुप लागेर जाओ ।” दिदी चाहिंको अर्डर । भाइहरूको पुनः विरोध ।
अन्ततः दिदीले अभिभावकत्वको खास्टो ओढेर एक एक मिठो मुड्की भाइहरूको ढाडमा कस्दै चकलेट किनिदिई । भाइहरू उफ्रदै गए स्कुल । ऊ आँखाभरि ममता र तृष्णा बोकेर भाइहरू हिडेंको गोरेटो निहार्छे ।
“अस्मिता ! तिमीचाहिँ जान्नौ स्कुल ?” म सोध्छु । जान्नको संकेतमा ऊ टाउको हल्लाउँछे ।
“किन नगएकी ? पढ्नु पर्दैन ? तिम्रा बुबाआमाले तिमीलाई पढ्न जाऊ भन्दैनन् ?” सायद अनाहकमै मैले अस्मितालाई बढी प्रश्न गरें कि ? आफ्नै प्रश्नमाथि शंका लाग्छ । फेरि देख्छु, मेरो प्रश्नले औंशिको रातजस्तै अँध्यारिएकी छे अस्मिता ।
थकथक लाग्छ व्यर्थै एउटी बच्चीलाई दुःखी बनाएकोमा ।
“अस्मिता ! रिसाएकी मसँग ?” म मसिनो स्वरमा भन्छु । पुलुक्क हेर्छे मतिर । अहो ! कति व्यथा र तृष्णा बोकेका आँखाहरू । तर पनि निराश छैन । थकित छैन । आशा छन् सल्बलाएका आँखाभरि । जीवनप्रति मोह बोकेका छन् ती आँखाले ।
“होइन दिदी ! किन रिसाउनु ? मेरो भाग्यमा पढ्ने लेखेकै छैन । म स्कुल गएँ भने कसले घरको काम गर्छ ? कसले भाइ हेर्छ । बुबा रक्सी खाएर मात्छ सधैँ । आमा र म भएर माटाका भाँडा बनाउँदै हाटबजारमा बेच्छौ । त्यसैबाट गुजारा गर्नुपर्छ । मलाई पढ्ने रहर त धेरै छ तर पढ्न नपाएकामा दुःखी छुइन । आफुले पढ्न नपाए पनि भाइहरू त गएका छन् पढ्न । खुशी छु म ।”
अहो ! कस्तो महानता, कस्तो त्याग । कस्तो सकारात्मक सोचको कुरा । यो सानो उमेरमा कत्रो परिपक्वता, कत्रो सुझबुझ । मेरो दृष्टिमा ऊ अझ उच्च बन्न पुगी । उसको कुराले मभित्र पारिलो घामको न्यानो किरण छरियो । मैले गदगद हुंदै उसको शिर मुसारे निःशब्द । मेरो स्पर्शमा के पाई कुन्नि मसक्क मस्की मुस्कुराउँदै ।
सन्तुष्टिको आभास मुहारभरि पोत्दै “जान्छु ल दिदी ! सानो भाइले मलाई खोज्यो होला । खाना खाएर माटाका घैंटाहरू हटिया लानुछ ।” रमाउँदै पुतली जस्तो उडी उडी घुम्ने उमेरमा व्यवहारमा चुर्लुम्म डुबेकी छे मेरो पुस्तक । म हेरिरहन्छु ऊ उफ्री–उफ्री घर फर्केको ।
एकदिन देख्छु, अस्मिता खुल्ला रिक्सामा अलिकति माटाका भाँडा राखेर त्यसैमा आफ्ना भाइहरू राखेर मरिमरि रिक्सा तान्दैछे । उठीउठी साह्रै कष्टसँग रिक्साको पाइडल चलाउँदैछे । कठै ! मेरो मन उसको स्थितिमाथि हाहाकार गर्न पुग्छ । लाग्यो छोरीका लागि समय आज पनि कुहिरोभित्रै रहेछ ।
अस्मिताले सामान सँगसँगै भाइहरूलाई पनि रिक्सामा राखेर मरिमरि तान्नु उसको विवशता थियो कि रहर ? किन स्कुल जान सक्ने भाइहरूले दिदीले नसकी नसकी चलाइरहेको रिक्साबाट ओर्लेर पछाडिबाट रिक्सा ठेलेनन् ? यो पुरुषले नारीमाथि गर्ने अन्याय र शोषणको प्रतीक हो कि अथवा दिदीको भाइप्रतिको माया ? वा नारी आफू पूर्णमानव हुनुको स्वअस्तित्व पहिचानको कमी ? मेरो टाउको रिङ्ग्याउँछ फनफनी । प्रश्नहरू मनमा उठ्छन्, जवाफको अभावमा माकुराको जालोजस्तै जेलिँदै जान्छ । जुन प्रश्नको उत्तर छैन । जुन प्रश्नको औचित्य छैन । त्यो प्रश्न दोहोर्याई रहनु किन ? आफैंसँग झनक्क रिस उठ्छ ।
अस्मिताको संघर्षलाई न त शीतले छेक्यो न त रापले । न त उज्यालोले रोक्यो, न त अँध्यारोले । उसको संघर्ष अनवरतरूपमा जारी छ, निरन्तर जारी छ । ऊ विस्तारै हुर्कँदै गई । पूर्ण यौवनाको रूपमा फक्रन नपाई संघर्षको जीवनबाट दाम्लो फुकाएर व्यवहारको किलामा बाधिँदैछन् उसलाई । उसले स्वतन्त्र भएर दुईपल सुखभोग कहिले गर्ने ?
“दिदी ! मलाई नबिर्सनुस् है ... ।” अवरुद्ध कण्ठमा आग्रह गर्छे ऊ । म झसङ्ग हुन्छु । म त अतितको बादलमा चरी बनेर फन्को मार्दै रहेछु । उसको अवरुद्ध कण्ठले म नमिठो गरेर दुख्छु । र उसलाई थुमथुम्याउँदै थर्थराएको स्वरमा भन्छु !
“अस्मि ! म तिमीलाई कहिले बिर्सन सक्दिन । तिमी त त्यो पुस्तक हौ, जसलाई मैले धेरै गहिरिएर अध्ययन गरेकी छु । तिमी संघर्ष र त्यागकी साक्षात् प्रतिमा । तिमीले यो घरलाई जसरी धानेकी थियौ, त्यसरी नै अब भित्रिने घरलाई पनि धान्नुपर्छ तिमीले । मेरो आशीर्वाद छ तिमीलाई । तिमीलाई म जीवनको हरेक उकाली ओरालीमा सम्झिरहने छु अस्मि ।” म उसको शिरमा हात राख्छु ।
ऊ तरक्क रुन्छे । मन मेरो धमिलो बन्छ । तर पनि बल गरेर आँसु थाम्छु । धेरैबेर त्यहाँ बस्न मेरा लागि कष्टप्रद हुन्छ । म निस्कन्छु बाहिर । देख्छु, आज पनि उसको जँड्याहा बाबुको ताल उही छ । जुन वर्षौं पहिले थियो । तर, उसकी आमाको आँखा छोरीको विछोडको कल्पनामा टोलाएको छ । हुन पनि ती महिलालाई साथ र सहारा थियो एकमात्र छोरीको । बाबु त बाबु भइहाले, छोराहरू सानै छन् ।
घरतिर लम्कदै म फेरि एकपटक सोच्न बाध्य भएकी छु । मेरो दृष्टिमा महान् बनेकी उसले त्यो घर छाडेपछि के होला त्यो घरको हालत ? कसरी चल्ला त्यहाँको व्यवहार ? ऊ नै सर्वस्व थिई त्यो घरका लागि । ऊ नै लक्ष्मी । ऊ नै सरस्वती र ऊ नै दुर्गा थिइ त्यो घरको । छोरी भएर पनि छोरा थिई ।
–प्रेम न्यौपाने ‘प्रहर’
धेरै समयदेखि सुत्ने रहर थियो । मौका मिलेको थिएन । आमाको काखमा कति सुतियो याद छैन, बालापनमा पनि कहिले खेल्नको धुन कहिले पढ्नको धुन, सुत्न पाइएन । यौवन अवस्थामा पनि कहिले प्रियसीसँग त कहिले साथीभाईसँग जीवन बित्यो । सुत्न पाए जस्तो लाग्दैन । ईश्वरलाई धेरै पटक बिन्ती चढाइयो सुत्नको निमित्त । बिहे गरियो । घरजम चल्न थाल्यो । भनेजस्तो मज्जाले सुत्न भने पाइएको थिएन । दिमागले घरिघरि छड्के हान्थ्यो “थुक्क तेरो जिन्दगी, कहिले आनन्दले सुत्न नपाउने लोदर तेरो जिन्दगी ।”
साँच्चै मनमा दुख्नेगरी लाग्थ्यो, “कस्तो जिन्दगी !” तर आउँदो रहेछ सुत्ने दिनहरू जिन्दगीमा । कसैले भन्ने गर्थे “ईश्वर के घर में देर है अन्देर नहीँ ।” साँच्चै भनेको र चाहिएको भन्दा अलि बेसी नै सुतिएछ कि क्यार... । अनायासै कताबाट एउटा अदृश्य भालाले टाउकोमा चस्स चस्स घोच्न थाल्यो । सहनै सकिन । घर्लप्पै ओछ्यानमा लडियो । अलिबेरमा आफैंलाई तातो भुग्रोमा सेकिए झैँ लाग्न थाल्यो । सारा शरीर नै पसिनामा डुब्यो । श्रीमतीले आफ्ना मुलायम हातले निधार छामेर भनिन्, “आम्मा.. मा..मा.. मा.. औले ज्वरो खनिएछ । अस्तिदेखि भनेको नी बेसी नहिँड्नु भनेर । सुने पो । बर्खामाझमा यसो छाता बोक्नुपर्छ ।”
धेरै कुरा दिमागमा घुम्न थाल्यो । मान्छेहरू विदेश गएर कति वर्ष आफ्ना गाउँ–घरबाट बञ्चित रहन्छन्, आँफू त यसो दिनैपिछे नभ्याए पनि हप्तामा एकपल्ट त भेटघाट गरिराखौं । फेरी आफूँलाई कथा अनि कविता भनेपछि त्यही त हो भात कै साटो खाइन्छ । धेरै टाढा पुगेछु । माफ गर्नुहोला । अँ म के भन्दैथेँ, भने आँफू ओछ्यान परिएछ । कतिबेला मनिपाल अस्पताल पुगियो पत्तो भएन । श्रीमती ले ‘छुट्टी मिल्यो’ भन्दामात्र अलिकति साेंचियो की घरमा त सुतेको याद छ, तर अस्पतालसम्म सुत्न पुगिएछ । व्यर्थै गरिएछ सुत्ने रहर ।
कठै कसले बोक्यो होला खाना बिहानै पिच्छे बेलुकै पिच्छे, को बस्यो होला रातीउँदो साथी । घरमा गाई वस्तु गोठ धन्धा अचम्मै छ बा ! दवाई–पानीको खर्च कसरी भो होला ? अलिबेरमा घर पुगियो । गएर यसो ऐना हेरेँ आँफैलाई चिन्न नसकिने ! कान्छी बहिनीले तातो पानी ल्याएर दिई । घुटुक्क निलियो र दारी काटियो । अघि सुत्न नपाउँदा त यस्तो गति भएको थिएन, अहिले सुत्न पाउँदा यसरी गति देखाइएछ ।
सरासर पुजा कोठा पसेर पुजा गरियो । आरती सकेर भगवानलाई ढोग गर्दै प्रार्थना गरियो “हे प्रभु यसरी अब जिन्दगीमा सुत्ने मौका नदिनु होला । आफ्नालाई बिचल्ली पारेर फेरी सुत्न नपरोस् । म उठ्न चाहान्छु प्रभु । समयमै सुतेर समय मै उठ्न परोस् । हर्ता कर्ता सबै तिमी नै प्रभु । रक्षा गर हे दयानिधान् । राधे ! राधे !”
हौ ! सुत्ने रहरमा झण्डै जिन्दगीको बाटो नै काटिएछ ।
-राजेश भट्टराई
१.
पटक्कै दुखाउदिन तिम्रो चित्त, खुलेर नै बोल
हल्का हुन्छ मन, क्रमशः पीरको गाँठो खोल
म परेँ अरूको घाऊमा, मलहम लगाउने मान्छे
जतिसक्यो छिटो भन बरू, मन अन्त नडोल ।।
२.
ईष्र्या गर्दैछ चन्द्रमाले, तिम्रो यो रूप देखेर
भन्थ्यो ‘कम राम्री बन्न भन् न’, मलाई भेटेर
डर छ उसलाई, कतै फेल हुन्छु कि भन्ने
पोख्दैछ रिस, आफूले आफैलाई ह्याकेर ।।
३.
आउँदैछु तिमीलाई लिन, तयार भएर बस्नु
साँचो माया गर्छेउ भने, आलिङ्गनमा कस्नु
नत्र भने दुत्कार्दै धकेल्नु, सधैँ सधैँको लागि
जिन्दगीभर दुखाइरहने, चौटै चोटले डस्नु ।।
४.
के दुःख पर्यो तिमीलाई, खुलेर भन न मलाई
जलाई दिन्छु त्यो दुःख, झ्यार्र कोरेर सलाई
तर भन्दिनौ थाहा छ, मप्रति त विश्वासै छैन
कहाँ चिन्छेउ र, जस्ले सोच्छ, आफ्नो भलाई ।।
–आर. आर. चौलागाईं
कुनै सपना छैन
कुनै योजना छैन
कुनै लक्ष्य छैन
कुनै गन्तव्य छैन
किनकि तिमी नेता ।
शहीदको रगत पिएर
तिमी बाँचिरहेका छौ
जनताको पसिना पिएर
तिमी बाँचिरहेका छौ
युवाहरूलाई खाडीमा बेचेर
तिमी बाँचिरहेका छौ
महिलाहरूलाई बम्बईमा बेचेर
तिमी बाँचिरहेका छौ
किनकि तिमी नेता ।
तिमी मान्छे मारेर आजीवन जेल परेका
हत्याराहरूलाई आममाफी दिन्छौ
तिमी निर्मला पन्तका अपराधीहरूको
प्रमाण नष्ट गर्छौ र उनीहरूलाई संरक्षण दिन्छौ
तिमी देशद्रोही, जनविरोधी, भ्रष्टाचारी
र बिचौलियाहरूको घेरामा बस्छौ
र उनीहरूको सल्लाहमा चल्छौ
किनकि तिमी नेता ।
तिमी कामको नाममा एउटा सिन्को पनि भाँच्दैनौ
बरु पटक पटक सरकार बनाउँछौ÷ढाल्छौ
बरु पटक–पटक पार्टी एकता गर्छौ÷फुटाउँछौ
आफ्नो निजी आलिशान महल बनाउनु
तिम्रो लागि नौलो जनवाद हो
आफ्ना गर्लफ्रेन्डहरूलाई सांसद र मन्त्री बनाउनु
तिम्रो लागि समाजवाद हो
निजी जमीन जोड्नु
बैंक ब्यालेन्स बढाउनु
र सुन थुपार्नु तिम्रो लागि साम्यवाद हो
रुखो बोल्छौ
गजक्क पर्छौ
श्रमजीवी जनतालाई हेप्छौ
हामीजस्ता कविहरूको खेदो खन्छौ
किनकि तिमी नेता ।
तिम्रो महिमा हजार जिब्रा भएका
शेषनागहरूले पनि बताउन सक्दैनन्
कुनै पनि हैसियत नभएको
म जाबो एउटा तुच्छ रैतीले के भन्न सकुँला र !
तिम्रो बारेमा जति बोलेपनि थोरै हुन्छ
तिम्रो बारेमा जति लेखेपनि थोरै हुन्छ
किनकि तिमी नेता ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies