काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् ।
पोखरा महानगरपालिका–१२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने अभियानको थालनी गर्दै स्वास्थ्यमन्त्री पौडेलले क्यान्सर न्युनीकरणमा स्वास्थ्य मन्त्रालय गम्भीर रहेको बताए ।
‘नेपालमा ६ जना महिलाको मृत्यु हुने, त्यसमा ४ जना पाठेघरको क्यान्सरबाट मृत्यु हुने कुरा सामान्य विषय होइन,’ उनले भने, ‘मेरा आमा, दिदीहरू, मेरा समकालीन साथीहरू थुप्रैको क्यान्सरका कारण मृत्यु भयो । थुप्रैले यो समस्या बोकेर बाँचिरहनुभएको छ ।’
अहिलेका किशोरी, बहिनीहरू, छोरीहरूलाई भ्याक्सिन उपलब्ध गराउन सक्यौं भने भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट कसैले ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्री पौडेलले बताए । अहिले खोप अभियानमा सहभागीभन्दा माथिल्लो उमेर समूहलाई पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्क्रिनिङ गर्ने र उपचार गर्ने पौडेलले बताए ।
क्यान्सर लागेको पत्ता लागिसकेकाहरूका लागि उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेहरूका लागि निःशुल्क गराउने तयारी भइरहेको उनले बताए ।
अबको केही हप्तामा क्यान्सरका बिरामीलाई दिने किमोलाई निःशुल्क गर्ने गरी व्यवस्था गरिने उनले बताए । ‘किमो गर्न असाध्यै महंगो छ, औषधि अत्यन्तै अनियन्त्रित छ, जति पैसा लिए पनि हुनेजस्तो स्थिति बनेको छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘त्यसैले यसलाई व्यवस्थित गर्दै सर्वसुलभ र निःशुल्क गर्ने प्रक्रियामा हामीहरू लागिरहेको स्थिति छ ।’
क्यान्सर नियन्त्रण रणनीति पास गरिसकेको र अब कार्यान्वयन गर्दै लैजाने उनले जानकारी दिए । अहिले देशभरका ८ हजार २०० विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाउन ५४ हजार जनशक्ति परिचालन गरिएको उनले बताए ।