बुटवल : रुपन्देहीको शुद्धोधन गाउँपालिकामा पछिल्लो समय विकासले गति लिनुको साथै कार्यालय व्यवस्थापनमा सुधार देखिन थालेको छ ।
प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्ती भनभनेली आएसँगै विकासले गति लिन थालेको हो । उनी आफ्नो कार्यसम्पादनलाई उत्कृष्ट बनाउन दिनरात नभनी कार्यालयको काममा व्यस्त देखिन्छन् । हरेक काम सुशासनमैत्री तवरबाट अगाडि बढाउने कर्मचारीको रुपमा चिनिएका घर्ती रुपन्देहीको उत्कृष्ट कार्यकारी अधिकृत बन्ने गरी काम सम्पादन गरिरहेका छन् ।
२० वर्ष अगाडि निजामती सेवामा प्रवेश गरेका उनी अहिले शुद्धोधन गाउँपालिकाको प्रशासनिक कार्यको कमाण्ड सम्हाली रहेका छन् । जनताको समस्या र आवश्यकताको मर्म बुझेर हरेक कार्य गर्न राज्यले निर्धारण गरेको समयभन्दा पनि बढी समय उनी गाउँपालिकाको काममा बिताउँछन् । घर्ती बिहानदेखि बेलुकासम्म कार्यालय फिल्ड अनुगमनमा व्यस्त हुने गरेको स्थानीय पङ्कच चौधरीले बताउँछन् ।
उनी शुद्धोधन गाउँपालिकामा आएपछि प्रशासन, लेखा, इन्जिनियरिङ, राजश्व, सामाजिक विकाश, महिला बालबालिका, कृषि, भेटनेरी, स्वास्थ्य शाखाहरुका गतिविधिहरू थप पारदर्शी ढंगबाट अगाडि बढिरहेको कर्मचारीहरु बताउँछन् ।
घर्तीले लामो समय विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । अनुभवी अधिकृत पालिकाले प्राप्त गरेपछि पछिल्लो समय उनीसँग काम गर्न पनि सजिलो भएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बताउँछन् । सहयोगी भावनाका साहित्यका सर्जक मानिने घर्ती गुल्मीमा जन्मिएर रुपन्देहीलाई अध्ययन थलो बनाइ विद्यार्थी जीवन बिताएका कारण उनी शुद्धोधन गाउँपालिका बारेमा धेरै विज्ञ पनि देखिन्छन् । धेरै गाउँपालिकामा राम्रो छवि बनाएका घर्ती शुद्धोधनका अनुशासित कुसल अधिकृत हुन् ।
गाउँसभाले आर्थिक वर्ष २०८१/०८२ मा कृषि तथा पर्यटन प्रवद्र्धन रोजगारी र पूर्वाधारको विकासको साथै उत्पादनमुखी आर्थिक सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान गरिबी असमानता तथा बेरोजगारीको अन्त्य गर्ने उद्देश्य राखेको छ । सोही उद्देश्य अनुसार घर्तीको कमाण्डमा कर्मचारीहरुले काम अगाडि बढाएका छन् ।
पालिकामा सुशासन कायम गर्न संघ, प्रदेश र स्थानीय तहले मार्गदर्शन गरेका कुराहरूको अनुशरण गरी उनले खरिद प्रक्रिया पारदर्शिता र प्रभावकारी ढंगबाट अगाडि बढाएका छन् । जनताका चाहनाहरू, गुनासाहरू सुन्नका लागि गुनासा पेटिकाहरू, सूचना अधिकारीहरूको पनि व्यवस्था गरी प्रत्यक्ष जनतामाझ पुगेर कार्य गरिरहेको छन् ।
अहिले राज्य पुनर्संरचना र राज्यमा संघीयता कार्यान्वयनमा आएसँगै धेरै अधिकारहरू स्थानीय तहलाई आइसकेको अवस्थामा विभिन्न विचारधारा लक्ष्य लिएर आएका नयाँ जनप्रतिनिधिहरूसँग छलफल भइ सही प्रस्तावहरू सर्वसम्मत रुपमा अगाडि बढाइ आर्थिक, सामाजिक र पूर्वाधार विकासतर्फ पालिकाको काम तीव्र गतिमा अगाडि बढाइरहेको घर्तीले दाबी गरे ।
उनी गाउँपालिकामा आएदेखि कार्यसम्पादनमा देखिने चुनौतीका बाबजुद पनि विवादरहीत काम गरी उदाहरणीय बन्न सफल भएको स्थानीयको भनाइ छ । अहिले गाउँपालिका वार्षिक क्यालेन्डर अनुसार अगाडि बढिरहेको छ । गाउँपालिकामा भएका गतिविधिहरु प्रत्येक चार महिनामा पालिका बुलेटिनमार्फत जनतालाई जानकारी गराउने घर्तीले कर्मचारीसँग समेत करार सम्झौता अनुसार काम गर्दै धेरै कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् । यस्तै गाउँसभाबाट अशुद्ध नाम रहेको गाउँपाालिकाको नाम समेत उनले परिवर्तन गराएका छन् ।