चितवन : कालीगण्डकी साहित्य परिषद् चितवनको आयोजनामा हास्यव्यंग्य स्रष्टा सम्मान, रचना वाचन र चिरञ्जीवी दाहालको व्यंग्य निबन्ध संग्रह ‘बाघेझापु’माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
चितवनको कालिका नगरपालिकास्थित सिद्धिविनायक आवासीय माध्यामिक विद्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा हास्यव्यंग्यकार एवं फित्कौली डटकम अनलाइन पत्रिका, फित्कौलीको खित्कौली युट्युब च्यानल र फित्कौली द्वैमासिक पत्रिकाका सम्पादक नरनाथ लुइँटेललाई सम्मान गरिएको छ । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी एवं सभापति पौडेलले संयुक्तरूपमा दोसल्ला ओढाएर सम्मानपत्रद्वारा विभूषित गरिएको हो ।
साहित्य परिषद्का सभापति गणेश शर्मा पौडेलको सभापतित्व तथा कालिका नगरपालिकाका प्रमुख रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा महाकाव्यकार केशवराज आमोदी, गजलकार ऋषिप्रसाद लामिछाने (गोर्खे साहिँलो), आख्यानकार गोकर्ण मल्ल विशिष्ट अतिथि थिए ।
सो अवसरमा नगरप्रमुख रेग्मीले साहित्य कला र संस्कृतिको उन्नयनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा चिरञ्जीवी दाहालको हास्यव्यंग्य कृति बाघेझापुका विषयमा केशवराज आमोदीले तयार गरेको समीक्षा कवि दुर्गा पौडेलले प्रस्तुत गरेका थिए ।
समारोहमा सम्मानित व्यक्तित्व नरनाथ लुइँटेलको व्यक्तित्व र कृतित्वका बारेमा परिषद्का उपसभापति चिरञ्जीवी दाहालले प्रकाश पारेका थिए भने सम्मानित व्यक्तित्व नरनाथ लुइँटेलले आफ्ना हास्यव्यंग्य रचना प्रस्तुत गर्दै उपस्थित जनसमुदायबीच हास्यव्यंग्य के हो ? र हास्यव्यंग्य कसरी लेखिन्छ भन्ने विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा केशवराज आमोदी, ऋषिप्रसाद लामिछाने र गोकर्ण मल्लले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा चितवनका कवि तथा साहित्यकार केशवराज आमोदी, गोर्खे साइँलो, राजेन्द्र घायल, कमल अर्याल, गरिमा लुइँटेल, रामकृष्ण ढकाल, हेमा अर्याल, रुविन पौडेल, विष्णु पौडेल, टिकाराम रिजाल, सूर्य तिवारीलगायतले हास्यव्यंग्य रचना वाचन गरेका थिए ।
कार्यक्रममा परिषद्का उपाध्याय रामलाल कुमालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण परिषद्का उपसभापति चिरञ्जीवी दाहालले गरेका थिए ।