२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

किन दुखिरहन्छ मान्छेको मन ?

hardik ivf
मध्यान्ह
२०८१ फागुन १६ गते २२:५३
किन दुखिरहन्छ मान्छेको मन ?


रसुवाली कवि 

भृकुटीमण्डपस्थित ‘नारायण दाइको पसल’मा बेलाबखत महत्त्वपूर्ण पुस्तकहरू आइरहेका हुन्छन् । पुस्तकप्रेमीहरूका लागि पुस्तकालय, पुस्तक पसल वा क्याफेका साना लाइब्रेरी तीर्थस्थल हुने गर्छन् । नारायण दाइको मःमः पसलको मात्र चर्चा हुने यस शहरमा नारायण दाइको पुस्तक पसल पनि मेरा लागि महत्त्वपूर्ण छ । पुगिरहेको हुन्छु ।

नारायण दाइको पुस्तक पसलमा एउटा सानो पुस्तक भेट्छु, ‘मानसिक स्वास्थ्यका विविध आयाम ।’ लेखक हुन्छन् बरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्मा । एउटा कवितासंग्रह र त्यो पुस्तक लिएर म बागबजार आइपुग्छु । एउटा क्याफेमा बसेर त्यो पुस्तक पढ्न थाल्छु ।
पुस्तकको भाषा र पुस्तकले बनाइरहेको भाष्य गज्जब लाग्छ । नेपाली भाषामा मानसिक स्वास्थ्यलाई वैज्ञानिक ढंगले पर्गेल्ने डाक्टर को होलान् ? पुस्तक लेख्ने एकदम कम छन् मनोचिकित्सकहरू । त्यसपछि म आइपुग्छु उनै शर्मा प्रशंसित पुस्तक ‘मान्छेको मनसम्म ।’ बृहत् आकारको यो पुस्तक ध्यानस्त भएर पढ्न थाल्छु ।

म पुस्तक समीक्षक होइन । एक जना समालोचकले समीक्षा भनेर लेखेको लेखलाई पुस्तक चर्चा भनेर छापेछन् । मलाई समीक्षक हुन झ्याउ लाग्छ । म फरम्याटका समालोचकहरूबाट दिक्क छु, आजित छु । म मान्छेको मन पुस्तक पढेपछि लेख्न लागिरहेको छु ।

भनिन्छ, १३ देखि १५ प्रतिशत मानिसहरू उपचार गरिनुपर्ने मानसिक समस्याबाट आजित छन् । मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोणको बदनामीले थुप्रै मानिस मानसिक रोगको उपचार गराउन सक्दैनन् । रोग लुकाउँछन् । एउटा हदसम्म पुगेपछि त्यो आत्महत्याको कारकसमेत बन्ने गरेको पाइन्छ । डाक्टर शर्माको अनुभवप्रधान पुस्तक मान्छेको मन पढिरहँदा नेपालमा मानसिक स्वास्थ्यको दर्दनाक स्थिति छर्लंग हुन्छ ।
नेपालको जनसंख्याको ठूलो हिस्सा मानसिक रूपमा पीडित छ । तर, मानसिक रोगको उपचार गराउने ठूलो अस्पताल पाटनको मानसिक अस्पताल मात्र छ । त्यहाँ दक्ष मानसिक रोग विज्ञ कति छन् ? उनीहरूले कति जनासम्म धान्लान् ? स्वाभाविक रूपमा भन्न सकिन्छ, एकदम थोरै मानिसलाई मात्र धान्न सक्छ त्यस अस्पतालले ।

भर्खरै म महाराजगन्जस्थित शिक्षण अस्पतालको मानसिक वार्डमा पुगेको थिएँ । एउटा सटर जस्तो ठाउँमा खाँदिएर डाक्टरहरू उपचार गराइरहेका थिए । उदासीन बिरामीहरूको भावभंगिमा हेर्दा मनमा बेग्लै भाव उठेको थियो । स्पष्ट थियो– मानसिक स्वास्थ्यलाई अहिले पनि लुकाउनुपर्ने रोगका रूपमा हेरिन्छ ।

मानसिक समस्या विशेषगरी युवा अवस्थामा धेरै देखिने शर्माले पुस्तकमा उल्लेख गरेका छन् । देशका लागि श्रममार्फत योगदान दिनुपर्ने युवाहरू नै मानसिक रोगी बनेको दृष्टान्तले डाक्टर शर्मालाई छोएको छ । उनले आफ्नो जीवनको निकै ऊर्जाशील समय नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी चेतना जगाउन र उपचार गर्न खर्च गरेका छन् ।

उनले काठमाडौं मात्र नभई पूर्वी नेपालको झापादेखि पश्चिम नेपालको पोखरासम्म पुगेर बिरामीहरूलाई सेवा दिएका छन् । यस अवधिमा उनले मानसिक रोगको डाक्टर हुँदा खेपेको खिसी, दूरदूर पनि उत्तिकै उल्लेखनीय छ । नेपाली समाजमा एउटा हदसम्म मानसिक स्वास्थ्यलाई जटिल स्वास्थ्य समस्या हो र यो उपचारमार्फत निको हुन्छ भन्ने चेतना जगाउन शर्माले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । दशौं हजार बिरामीको उपचार गरेका शर्माको अनुभव गहिरो छ, मानसिक स्वास्थ्यका क्षेत्रमा । उनले केही प्रतिनिधि घटनालाई पुस्तकमा उल्लेख गरेका छन् ।

एउटा घटना यस्तो छ :

शर्मा लेख्छन्– मैले भर्खर काम सुरु गरेको थिएँ । एक जना गिरी थरका पश्चिमतिरका न्यायाधीश साइकोसिस रोग लागेर उपचारका लागि आए । वरिपरिको वातावरणलाई सही किसिमले मूल्यांकन गर्न नसक्ने, त्यसलाई गलत अर्थ लगाउने, डराउने, भ्रमहरू हुने आदि अवस्था थियो । 
उनलाई आफूले पहिला गरेका फैसलाका झगडियाहरू मिलेर पिछा गरिरहेको भ्रम हुन थालेको थियो । यही भ्रमका कारण उनी डराउँदै हिँड्न थालेका थिए । मैले औषधि उपचारका साथै उनी तथा परिवारलाई केही सल्लाह पनि दिएँ ।

यस्तो समस्या सुरु भएपछि नैतिकताले पनि अदालतमा फैसलासम्बन्धी काम गर्न मिल्दैन । यस अवस्थामा उनको निर्णय त्रुटिपूर्ण हुन सक्ने सम्भावना त छँदै छ, रोगका लक्षणहरू बढ्ने खतरा पनि हुन्छ । त्यस कारण फैसलासम्बन्धी कार्य उहाँको र समाजको पनि हितमा थिएन । मन्त्रालय वा अदालतमै पनि फैसलाबाहेकका न्यायसम्बन्धी अरू कार्य गर्नु उचित हुन्छ भनेको थिएँ । आजसम्म मैले गरेका फैसलामा हार्ने पक्षहरू एकजुट भएर मेराविरुद्ध षड्यन्त्र गरिरहेका छन् । मलाई फसाउने, मार्ने, दुःख दिने तयारी भइरहेको छ भन्ने भ्रम परेकाले उनी भाग्ने, लुक्ने गर्न थालेका थिए । 

मकहाँ उनी ३–४ महिनाजति उपचारका लागि आए । उपचार गर्दै जाँदा निकै राम्रो सुधार भएको थियो । नोकरी अवधि लामो भइसकेकाले केही समयपछि उनले सेवाबाट अवकाश लिए । त्यसपछि मेरो सम्पर्कमा आएनन् ।

मानसिक रोग र त्यसमा पनि साइकोसिस भइसकेपछि हेराइ, दृष्टिकोण नै उल्टापाल्टा हुन्छन् । त्यस कारण न्यायाधीश वा यस्तै महत्त्वपूर्ण पेसा नगर्नु राम्रो हो । 

(मान्छेको मन, पृष्ठ: १०६–१०७)

नेपाली समाजमा मानसिक रोगलाई पूर्वजन्ममा गरेका पापको कारण उत्पन्न हुने समस्याका रूपमा चित्रण गरिन्छ । ज्योतिषीहरू भन्छन्– आठौं घरमा बसेको चन्द्रले गर्दा तपाईंं डिप्रेसनमा जानुभयो, अब पीपलको बोटमा पानी चढाउनुस्, सोमबार व्रत बस्नुस्, स्वतः समस्या हराएर जान्छ । यी यस्ता गलत धारणालाई डाक्टर शर्माले खारेज गर्ने प्रयास गरेका छन् । 

पुस्तक पढ्दा थाहा लाग्छ, थुप्रै पटक धामीझाँक्रीकहाँ पुगेका र अन्तिममा शर्मासम्म आइपुगेका बिरामीहरू निको भएका छन् । उनी धामीझाँक्रीको विश्वास नगर्न आग्रह गर्छन् । मानसिक समस्यालाई झारफुकबाट थोरै पनि घटाउन नसकिने शर्माको अनुभव रहेकोे छ ।
मानसिक रोगका अनेकौं प्रकार हुन्छन् । नेपाली समाजमा डिप्रेसन र एन्जाइटीको मात्र चर्चा पाइन्छ । ‘मान्छेको मन’भित्र मानसिक रोगका दर्जनौं प्रकारको चर्चा गरिएको छ ।

रुस पुगेर उच्च शिक्षा अध्ययन गरेका शर्माले रुसमा देखेको समाजलाई केलाएका छन् पुस्तकमा । कतिपय ठाउँमा उनले डाक्टर बन्न गरेको संघर्षका आयामहरू पढ्दा रोचक लाग्छ । तत्कालीन समयको नेपाली समाजको समेत चित्रण गरेका छन् यस पुस्तकमा डाक्टर शर्माले ।
पुस्तकमा स्वास्थ्य क्षेत्रमा हुने राजनीति, खिचातानी र प्रतिस्पर्धालाई उल्लेख गरिएको छ । राजनीतिक पहुँचका आधारमा हुने छोइछिटोको रोचक वर्णन गरिएको छ । लोकतान्त्रिक आन्दोलनमा लाग्दाका तीतामीठा पलहरू र त्यसपछिका राजनीतिक परिदृश्यले पक्कै पनि डाक्टर शर्मालाई खिन्न बनाएको छ् । स्वयं मनोचिकित्सकको मन पनि दुखेको छ । गुनासाहरू हुनु सायद ज्युँदो मान्छेको स्वभाव हो ।

एक पटक डाक्टर शर्मा चर्चित प्रकारको ध्यान पनि बस्न पुगेका थिए । त्यो ध्यानबाट उनले एकाग्रता पनि पाए । यो प्रसंग उनको अघिल्लो पुस्तकमा छ । तर, डाक्टर शर्माको अनुभव के छ भने, कुनै पनि प्रकारको ध्यान बसेर मानसिक रोग निको हुँदैन बरु मानसिक रोगको उपचार नै गराउनुपर्छ । उनको विश्वास मेडिकल साइन्सप्रति दृढ रहेको देखिन्छ । 

मानसिक स्वास्थ्य र अन्य विषयमा पत्रपत्रिकामा लेखिरहने डाक्टर विश्वबन्धु मानसिक स्वास्थ्य क्षेत्रका स्तम्भ हुन् । राज्य वा उनले निको बनाएका बिरामीहरूले उनलाई कति सम्झे, फरक कुरा हो । योगदानका हिसाबले मानसिक स्वास्थ्यका क्षेत्रमा उनले जति स्पष्ट ढंगले अरूले लेख्न सकेका छैनन् । लेखिएका सामग्रीहरू पनि यति व्यवस्थित ढंगले प्रकाशमा आएका देखिँदैन ।

अहिले पनि शर्मा कर्मक्षेत्रमा नै सक्रिय छन् । मान्छेको मनभित्र डाक्टर शर्मालाई पढ्दा उनी मान–सम्मान खोजी हिँड्ने मानिस पक्कै पनि होइनन् । उनी कर्ममा रमाउने असल चिकित्सक लाग्छन् । यो पुस्तक जोकोहीका लागि महत्त्व राख्ने खालको छ । अर्को शब्दमा भन्दा संग्रहणीय छ । 

पुस्तकको अन्तिम गातामा लेखिएको छ– ‘पढ्दै गर्दा तपाईंले समाजको चित्र पाउनुहुने छ । कतै तपाईं हाँसेर हुरुक्क हुनुहुने छ, कतै भावुक बन्नुहुने छ । भाषा यति रसिलो र खँदिलो छ कि ठाउँठाउँमा तपाईंले वाह ! भन्नुहुने छ ।’ ‘मान्छेको मन’ पक्कै पनि पठनीय छ, अझ भनौं, मननीय छ ।
 

ADV

सम्बन्धित खबर

Advertise