२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

विश्वासघात(कथा)

hardik ivf
मध्यान्ह
२०८१ फागुन १६ गते २२:५७
विश्वासघात(कथा)

कुञ्जदेवी उपाध्याय 

सधैं जस्तै आज पनि रतनले बिहानै मोबाइलमा खबर लगाएर दाँत ब्रस गर्न पेस्ट लगायो । त्यो उनको आदत बनेको थियो । खबर पनि के आउँछ र ! जताततै गाडी एक्सिडेन्ट, मृत्यु, हत्या कति सुन्नु ! नसुनी पनि मन मान्दैन !

ब्रस २–४ सर्का दलेको मात्र थियो, कोही रोएको आवाज आउँछ । बोली चिनेजस्तै लाग्छ रतनलाई । उनी मोबाइलतिर आँखा लगाउँछन् । हातबाट ब्रस खुत्रुक्कै भुइँमा झर्छ । मुख हतार–हतार पानीले धोएर उनी जसै त्यसै सर्ट–प्यान्ट जीउमा हाल्छन् र ढोकामा ताल्चा लगाउँछन् । लाग्यो कि लागेन, हेर्ने समय हुँदैन । 

ग्यारेजबाट गाडी निकालेर उनी बाटोमा पुग्छन् । गेट बन्द नगरीकन गाडी हाँकेर बाटो लाग्छन् । हावाको गतिमा गाडी अघि बढ्छ । उनको कोठादेखि हस्पिटलसम्म पुग्न ४ घण्टा लाग्छ । उनी आफ्नो छातीको धड्कन बढेको अनुभव गर्छन् । 

गाडी हस्पिटल अघिल्तिर रोकेर उनी आत्तिँदै एउटी नर्सलाई सोध्न पुग्छन्, ‘आज बिहान एडमिट गरेकी रञ्जु नाउँकी केटी कहाँ छन् सिस्टर ?’
नर्सले हातले एउटा कोठा देखाउँदै त्यहाँबाट चुपचाप गएको देखेर रतनको मनमा डर र शंकाले भयभीत पार्न थाल्छ । उनी कुदेर कोठाभित्र पुग्छन् । एउटा जिउँदो लास भएर लडिरहेकी हुन्छिन् रञ्जु । 

हिजो रातिको घटना । बिहानै प्रातः भ्रमणमा निकालेका मान्छेले देखेर पुलिसलाई खबर दिएछन् । ‘रञ्जु ! यो के भयोे तिमीसँग ? अब के हुन्छ ? तिमी बाँचे पनि यो समाजले बाँच्न देला र ! जेसुकै भनोस् समाजले, तिमी बाँच्नै पर्छ मेरा लागि ।’
बाहिर उभिरहेका मानिसहरू भन्दै थिए, ‘यस्तो भएर बाँच्नुभन्दा मर्नु नै राम्रो ।’

‘त्यसो नभन्नु । उनी मर्दिनन् ।’ 

‘ए रतन, के सोचेर उभिएका हौ ? अगाडि कोही छैनन्, छिटो भित्र जाऊ ।’ 
आकाशको हात काँधमा पुग्दा रतन झसंग हुन्छ । ऊ एउटा सपिङ कम्प्लेक्सका छेउमा पाउँछ आफूलाई । अतीतले पिछा नछाडेको देखेर आफैं छक्क पर्छ । शरीर पसिनाले निथ्रुक्क भिज्छ ।

मुख रुमालले पुछ्दै आकाशसँग कुरा गर्न थाल्छ, ‘के भन्नु साथी, मलाई एकछिन एक्लै हुँदा अनेक किसिमका याद आउँछन् । काममा मन बस्दैन । आफूलाई एकदमै एक्लो जस्तो लाग्छ ।’

‘त्यसो भनेर हुँदैन रमेश । तिमी बिगतका कुराहरू भुलेर नयाँ चिन्ता गर । जे हुनु थियो, भयोे । अब सोचेर आउँदैन ।’
‘के किन्न यहाँ आएका थियौं, हिँड । म पनि दसैंका लागि आमा र बहिनीलाई लुगा किन्ने विचारमा छु ।’ 

रतनले मनमनै सोचे, उनी पैसा निकाल्न बैंक आएका थिए । यो सपिङ कम्प्लेक्समा कसरी आइपुगे, उनलाई थाहै भएन । ‘ए आकाश ! आज कति महिनामा हाम्रो भेट भयो ? हिँड चिया पिएर एकछिन गफ गरौं ।’
दुवै होटेलमा चिया पिउन जान्छन् । रमेश रञ्जुको कुरा गर्दै मन अमिलो पार्छन् अनि आमाले बिहे गर्न बारम्बार भनेको कुरा आकाशलाई सुनाउँछन् । 

‘अब रञ्जुको कुरा छोड रमेश । तिमी शिक्षित र जागिरे भएर पनि यति कमजोर हुनु हुँदैन । नयाँ सोच । दसैंमा हाम्रो घर आउनू, धेरै बात मारौंला ।’ सपिङ गराइ भएन । दुवै साथी आफ्नो गन्तव्यतिर लागे । 

कोठाभित्र पसेर रतन यताउति हेर्छन् । आमा र बहिनीसँग खिचेको फोटो एकोहोरो हेरिरहन्छन् उनी ।

‘बहिनी ! नारी भएर पनि तिमी कति स्वार्थी रहिछ्यौ ? किन तिमीले मेरी रञ्जुलाई हटाउने षड्यन्त्र ग¥यौ मेरो जीवनबाट ?’
रतनले आफ्नो जम्मा पुँजीबाट धेरै खर्च गरे रञ्जुलाई बचाउन । बिस्तारै स्वास्थ्यमा सुधार आयो । हस्पिटलबाट डिस्चार्ज गरेपछि उनी आफ्नो घर गइन् । 

पढेलेखेकी स्मार्ट रञ्जु अब परिवर्तित रूपमा देखापर्छिन् । उनी कसैसँग बात गर्दिनन् । आफ्नै कोठाभित्र आफूलाई बन्द गरेर राख्न मनपराउँछिन् । गरिब भए पनि स्वाभिमानी स्वभावकी उनी समाजदेखि भाग्न चाहन्छिन् । रतन उनलाई हौसला दिन्छन् । ‘त्यसो हैन रञ्जु, तिमी साहसी हुनुपर्छ । निक्लनुपर्छ समाजको अघि । म तिम्रो साथ दिन्छु । तिम्रो केही दोष छैन ।’

दिन बित्दै जान्छ । रतन घरमा आमालाई बुझाउने कोसिस गर्छन् । तर, आमा एउटै कुरामा लागिरहन्छिन् ।
‘हुनै सक्दैन । त्यो केटीलाई बुहारी पारेर घरमा ल्याउँदा समाजले थुक्छ हामीलाई ।’
बैनी रीमाको कुरो पनि एउटै हुन्छ ।

रीमा आफ्नो घर छाडेर माइतीघर आएर बसेको २ वर्ष बित्यो । उनी आमाको माया पाएर कसैको कुरा सुन्दिनन् । बाबाका पेन्सनका पैसा सबै आमाले उनैलाई दिन्छिन् । जे मन लाग्यो त्यही गर्ने, जताततै घुम्ने उनको एक प्रकारको आदत भएको छ । रतन हप्तामा मात्र घर आउँछन् । घरमा उनको कुरा आमा पनि सुन्न मान्दिनन्, बहिनी पनि । उनीहरूले स्पष्ट सुनाइदिए, ‘रञ्जुलाई बिहे गर्ने भए हामी २ को लासमाथि चढेर घरमा भित्र्याउनुपर्छ ।’

मोबाइलको घन्टी बज्छ । रतनको भावनामा बिराम लाग्छ । ‘हेलो साथी, घर पुग्यौ ? आज तिम्रो मुड ठीक थिएन । त्यही भएर खबर लिएको ।’
‘आइपुगें । हिजोआज मेरो मुड कहिल्यै ठीक हुँदैन साथी ! कतै न कतै मलाई आफैंलाई दोषी जस्तो लाग्छ रञ्जुको आत्महत्याका लागि ।’ 
‘त्यो तिम्रो मनको वेदना हो रतन । तिमी उनलाई ज्यादै माया गथ्र्यौ । उनले बुझेर पनि बुझ्न खोजिनन् । मर्नु समस्याको समाधान होइन थियो । तर, के गरून् बिचरी ! उनको आत्मसम्मानमा ठेस लाग्यो अनि त्यसको फाइदा उठायो अरू कसैले ।’

‘के भन्न खोजेका आकाश !’

‘हो रतन ! एउटा तीतो सत्य । तिमीलाई भन्ने विचार थिएन तर तिम्रो हालत देखेर भन्न मन लाग्यो । फोनमा होइन । तिमी मेरो घर आऊ । सबै भन्छु । तिम्रो शून्य हृदयमा निराशाको बिउ रोप्ने तिम्रै घरका मान्छे हुन् ।’
‘आज राति भयो । खाना खाएर सुत अब । धेरै टेन्सन लिनु हुँदैन यार !’
रतनलाई रातभर निद्रा लाग्दैन । उनी फेरि एकपल्ट अतीत खोतल्न पुग्छन् । रञ्जुको आत्महत्याको कारण के होला ? रातको १० बजिसकेको हुन्छ । 

रञ्जुकी आमाको फोन बज्छ बिस्तारै । उनी डराउँदै ओछ्यानबाट बोल्छिन्, ‘को हो ?’
‘म रतन हुँ, आन्टी !’ 

उनी रिसाउँछिन् । ‘अब किन फोन गर्छौ ? तिम्रो बैनी आएर मेरी छोरीको प्राण गयो । अब के चाहियो ?’
‘त्यही जान्नु थियो आन्टी !’

फोन काटेर रतन बेस्सरी रोए । रात्रिको सन्नाटालाई चिर्दै उनको आँसुको भेल रञ्जुसम्म पुग्यो । 
रञ्जुलाई आफ्नै अघिल्तिर उभिएको देखे । हात लम्काएर छुन खोज्दा उनी तर्किंदै पर गइन् अनि भनिन्। ‘रतन, अब मलाई नखोज । म तिम्रो मायाले तृप्त भएँ । तिमी आकाशकी बैनी नम्रतालाई बिहे गर । मलाई त्यहीँ पाउने छौ ।’ 

‘जीवनमा नसोचेको घटना घट्दो रहेछ ! दिदी–बहिनीले पनि कति विश्वासघात गर्दा रहेछन् ! मेरो खुसी छिनेर के मिल्यो बैनी ?’
जीवनको नयाँ पन्ना लेख्न तयार भएर अर्की रञ्जुलाई हेर्ने आशाले रतन आकाशको घर पुग्छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise