डा. ईश्वरमणि अधिकारी
जान्छु भन्नेहरू
भन्छन् तर जाँदैनन्
जसरी जूनले जान्छु भन्छ
जान्छ, फर्किरहन्छ
नदी, गइरहन्छ एकतमास
बादल भएर फर्कन्छ ।
यादहरू मात्रै हुन्
जो जान्छु भन्दैनन्
र, जाँदैनन् पनि
मात्र आइरहन्छन् ।
भन्दिनँ म
‘करिमले ठग्यो’ त भन्दै भन्दिनँ
बदलामा यस्तो भन्न रुचाउँछु
– ‘जे प्राप्त छ, त्यो पर्याप्त छ
जे प्राप्त छैन, त्यसको मोह पनि छैन’
र पनि सक्दिनँ म
जाऊ भन्न
जान्छु भन्नेहरूलाई पनि ।
जो जहाँ भए पनि
समयभन्दा छिटो
कोही ब्युँझन्न धरामा
र, ब्युँझिएको अभिनय
निदाएको भन्दा घातक हुन्छ ।
जानेहरू सम्झेर किन दुखी हुनु ?
जो गएकै हुँदैनन्
किन दुख्नु बेफ्वाँकमा ?
त्यसो त
दुःख छ र सुखको अर्थ छ
दुःखबाट निःशरण भ्रमबाहेक केही हुनै सक्दैन ।
उडिजाने चराहरू
गए जस्ता देखिन्छन् तर गएका हुँदैनन्
पुतलीहरू फूलदेखि उडे पनि
उड्ने आखिर फूलैसम्म हो ।
जानेहरू हो
जानै नै भए जानू
तर, याद लिएर नजानू ल !
पोखरा