२०८२ असोज ९ गते बिहिवार / Sep 25 , 2025 , Thursday
२०८२ असोज ९ गते बिहिवार
Ads

संविधानलाई जनअनुकूल बनाउने अवसर

shivam cement
रुपा अर्याल
२०८२ असोज ९ गते ०६:००
संविधानलाई जनअनुकूल बनाउने अवसर

व्यवस्था परिवर्तनपछि देशले दिगो रेखा कोर्ने आशा आमजनतामा उत्पन्न भएको थियो । नयाँ संविधानले त्यसलाई स्थायित्व दिने बुझाई आममा थियो । तर देशमा स्थायित्व र शान्ति नभई अद्योगतिर धकेल्ने अवस्था बन्यो । व्यवस्था परिवर्तन र संविधान जारी पछि पनि सरकार हेरफेरको चर्क फेरिएन । कुनै पनि संरचना स्थायी रूपमा अघि बढ्ने अवस्था रहेन । सरकार पटके शैलीमा नै बन्ने अवस्था बन्यो ।

२०७९ को आमनिर्वाचनपछि मात्रै पनि दुईपटक सरकार नेतृत्व र तीन गठबन्धन परिवर्तन भयो । छोटो अवधिमा पटके शैलीमा सरकार परिवर्तन हुँदा कुनै पनि संरचना स्थायी प्रकृतिको हुन सकेनन् । जसको कारण आमजनतामा ठुलो वितृष्णा र आक्रोश पैदा हुने अवस्था बन्यो । जसकै आधारमा जेनजी विद्रोह हुन पुगेको हो । 

जेनजी विद्रोहसँगै पनि समस्या समाधान भइसकेको छैन । मध्यावधि चुनावमा जाने सहमतिसहित सरकार बने पनि भनिएअनुसार हुन्छ वा हुँदैन यकिनपूर्वक भन्ने अवस्था छैन । आन्दोलनको मागलाई हेर्दा ठुलो लगानी र लामो प्रयासपछि जारी संविधान खारेज त हुँदैन भन्ने प्रश्न पनि उब्जिएको छ । 

संविधानसभाबाट संविधान जारी भएको पनि १० वर्ष पुगिसकेको छ । तर संविधान पूर्ण कार्यान्वयनमा गइसकेको भने छैन । अझै पनि संविधानअनुसारका कानुन बन्न सकेका छैनन् । यद्यपि, अवस्थालाई हेर्दा मुलुक फेरि पुरानै कोर्समा फर्किन खोज्दै छ ।

यदि संविधान खारेजमा भएमा मुलुक फेरि पुरानै चक्रमा फर्किनेमा दुविधा छैन । अर्को भाषामा मुलुक फेरि शून्यमा जानेछ । शून्यमा जाँदा भएको संरचना के हुन्छन्, कसरी अगाडि बढ्छन्, आगामी विकल्प के हुन्छन् भन्ने अन्योल कायमै छ । 

जबसम्म देशभित्रका समस्यालाई आन्तरिक रूपबाट समाधान गरिँदैन, जबसम्म हाम्रा समस्या समाधानका उपाय हामीभित्रै खोजिँदैन, तबसम्म समस्या कायमै रहनेछ । अहिलेको अवस्था करिब यही हो । अहिलेको घटनाले प्रस्ट्याएको छ, अब आउने वर्षहरूमा पार्टीका नेता–कार्यकर्ताहरूले आफूले सिर्जना गरेका विकृतिप्रति पश्चाताप गर्नुपर्नेछ । 

व्यवस्था आफैंमा बेठिक होइन, त्यसलाई कार्यान्वयनमा लैजाँदा कसरी अगाडि बढ्छ भन्ने मात्र हो । फरक–फरक एजेन्डा बोकेका दलहरूका भावना समेटेर संविधान २०७२ जारी भएको हो । जसमा सबैका विषय पनि छन् र छैनन् पनि । यद्यपि यसले मुलुकलाई बाटो देखाइदिएको छ । यो संविधानले सबैलाई प्रतिस्पर्धात्मक रूपमा अघि बढ्ने अवस्था बनाइदिएको छ । चाहे साम्यवादी हुन् वा पुँजीवादी सबैलाई जनताको मत जितेर अगाडि बढ्ने बाटो खोलिदिएको छ । तर यसको यति महत्वपूर्ण पाटो अहिले फेरि छायामा पर्दै छ । जसको कारण दलहरूको शैली र संविधानलाई बुझ्ने तरिका हो । 

हेर्दा प्रस्ट हुन सकिन्छ, स्वयं दलहरूले कहिल्यै पनि स्थायित्वको खोजी गर्न चाहेनन् । सधैं एकले अर्कोलाई फुटाउने र सत्तामा हालीमुहाली गर्ने संस्कृतिलाई मात्रै अगाडि बढाइरहे । पञ्चायतको शैली बहुदल र गणतन्त्रमा पनि यही शैली चलिरह्यो । पञ्चायत खोज्ने राप्रपा र साम्यवादको कल्पना गर्ने माओवादीको शैली पनि फरक भएन । जनतालाई डेलिभरी दिने सवालमा पनि उनीहरू फरक भएनन् । 

जेनजी आन्दोलनसँगै मुलुक नयाँ परिवेशमा प्रवेश गरेको छ । अहिलेको अवस्था केही अन्योलपूर्ण रहे पनि सधैंका लागि अन्योललाई तोड्ने अवसर पनि हो । यदि दलहरू सच्चिएमा, नागरिक समाज सच्चिएमा, युवाहरूले सही बाटो देखेमा संविधानलाई र मुलुकलाई सही दिशातिर लैजान सकिन्छ । जुन निकै युगान्तकारी हुनेछ । विगतका अनुभवलाई आधार बनाउँदै मुलुकलाई नयाँ बाटोमा हिँडाउन सक्नु अर्को ठुलो क्रान्ति हुनेछ । अहिलेको अवस्थालाई अवसरका रूपमा लिँदै मुलुकको हितका निम्ति प्रयोग गर्न आवश्यक छ ।

ADV

सम्बन्धित खबर

Advertise