२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गृहमन्त्री जोडिएको सहकारी प्रदेश मातहत, कानूनी परामर्शमा छानबिन समिति

ADV
मुकुन्द लामिछाने
२०८१ असार ६ गते ०६:५०
गृहमन्त्री जोडिएको सहकारी प्रदेश मातहत, कानूनी परामर्शमा छानबिन समिति

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भनिएका सहकारीहरू प्रदेश सरकार र स्थानीय सरकार मातहत रहेको पाइएको छ ।

यो सँगै ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ संघीय संसदले ति सहकारीमाथि छानबिन गर्न सक्ने कि नसक्ने भन्ने कानूनी जटिलताबारे छलफलमा जुटेको छ ।

संसदीय छानबिन विशेष समितिले बुधबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोग लगायतका पदाधिकारीहरूसँग कानूनी जटिलताबारे परामर्श लिएको छ । 

समितिको बैठक संसद् भवनस्थित नयाँ वानेश्वरमा बसेको थियो । समितिका सभापति सूर्य थापाले कानूनी स्पष्टता, अधिकार क्षेत्रको बाँडफाँडलगायत विषयमा छलफल भएको बताए । 

‘छानबिनको क्रममा आइपर्ने विविध पक्षका सन्दर्भमा कानूनी प्रबन्ध लगायतका विषयमा छलफल गरेका छौँ’ उनले भने । 

मंगलबार पनि संसद भवन स्थित नयाँ वानेश्वरमै समितिको बैठक बसेको थियो । जहाँ सार्वजनिक रुपमा प्रश्न उठेका भनिएका सहकारीहरु कुन सरकार मातहत रहेको भन्ने विषय उठेको थियो । 

त्यसक्रममा प्रदेश र स्थानीय तह मातहत रहेका सहकारीका सम्बन्धमा संघीय संसदले गठन गरेको संसदीय छानबिन समितिले अध्ययन गर्न मिल्ने कि नमिल्ने भन्ने तर्क प्रस्तुत भएको हो ।

समितिका सदस्य लेखनाथ दाहालका अनुसार मंगलबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र संकटग्रस्त सहकारी अध्ययन समितिका प्रतिनिधिहरूसँग छलफल भएको थियो । 

छलफलका क्रममा सांसदहरुले २९ वटा सहकारीको सम्बन्धमा बृफिङ मागेका थिए ।

बिभिन्न २९ वटा सहकारीको नाम उल्लेख गरेर तिनमाथि छानबिन गर्ने गरी प्रतिनिधि सभाले गत जेठ १५ गते ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरेको थियो । 

समितिको कार्यादेशमा २० वटा समस्याग्रस्त सहकारीको नाम अनुसूची १ मा र सार्वजनिक रुपमा प्रश्न उठेका ९ वटा सहकारीको नाम अनुसूची २ मा राखिएको छ ।

२९ वटै सहकारीको अवस्थाबारे जानकारी माग गरेपछि जवाफ दिने क्रममा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले अनुसूची १ मा रहेका २० वटा सहकारीको अवस्थाबारे ब्रिफिङ गरे । 

२० वटा मध्ये तीन वटा सहकारीका बचतकर्ताको रकम फिर्ता भइसकेका र समस्या समाधान भएको जानकारी गराए ।

अनुसूची २ मा रहेका ९ वटा मध्ये ‘आईयिल यमुना बहुउदेश्यीय संस्था’ मात्रै संघ मातहत रहेको र यो संस्थाको बारेमा मात्रै आफूहरुले विस्तृत जानकारी गराउन सक्ने बताए ।

‘बाँकी ८ वटा सहकारी कुन प्रदेश मातहत पर्छ र कुन स्थानीय तह मातहत पर्छ त्यो हेर्नुपर्ने हुन्छ । ति सहकारका विवरणका सम्बन्धमा प्रदेश र स्थानीय तहसँग मागेर प्राप्त भएपछि बोल्न सक्छौं’ घिमिरेले समितिको बैठकमा भने ।

बाँकी ८ वटा सहकारीमा ईमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुर्यदर्शन बचत तथा ऋणल सहकारी, सुमेरु बचत तथा सहकारी ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी रहेका छन् ।

संघीय सरकार मातहत नपर्ने ८ मध्ये काठमाडौंको इमेज, स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको सहारा, वीरगञ्जको सानो पाइला र नेपालगञ्जको समानता बचत तथा ऋण सहकारीमा जीबी राई जोडिएका छन् ।

यी सहकारीहरुबाट गोर्खा मिडिया नेटवर्कमा करोडौं रकम आएको र त्यो बेला हालका गृहमन्त्री लामिछाने पनि सञ्चालक तथा प्रबन्ध निर्देशक रहेकाले रकम अपचलनमा उनको पनि संलग्नता रहेको कांग्रेसको दाबी छ ।

सहकारी विभागका पदाधिकारीले यी सहकारी संघ मातहत नपर्ने बताएपछि नेपाली कांग्रेसका सांसद बद्री प्रसाद पाण्डेले काउण्टर प्रश्न गरे, ‘तपाईंहरु पन्छिन खोज्नुभए जस्तो छ नि किन ?’

जवाफमा सहकारी विभागमा रजिष्ट्रार घिमिरेले ‘विगतमा अदालतले समेत केही नजिर स्थापित गरेको बताए ।

‘विगतमा केही सहकारीहरुका सम्बन्धमा गूनासो आयो र समस्याग्रस्त सहकारीको सूचीमा राख्न खोज्दा प्रदेश र स्थानीय तह मातहतका सहकारीको सम्बन्धमा संघीय सरकार र संघीय सरकार मातहतका निकायले निर्णय गर्न नमिल्ने भनेर रोकिदिएको छ’ सहकारी मन्त्रालयका एक अधिकारीले भने । तर, कुन समयमा कुन सहकारीको समस्या कुन अदालतले यस्तो आदेश गरेको उनले खुलाएनन् ।

माओवादी केन्द्रका सांसद दाहाल सहकारी कुन सरकार मातहत रहेको भन्ने विषय समितिमा उठेको र यसले संवैधानिक र कानूनी रुपमा काम गर्न समस्या हुने कि नहुने भन्ने उठेको बताए । 

‘क्षेत्राधिकारको विषय आएपछि संवैधानिक र कानूनी पक्षका विषयमा चासो व्यक्त भएको छ’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले प्रदेश र स्थानीय तह मातहत रहेका सहकारीको सम्बन्धमा संघीय संसदको संसदीय समितिले छानबिन गर्न मिल्ने कि नमिल्ने विषय उठेको बताए । ‘क्षेत्राधिकारको विषय उठेको छ’ सांसद खनालले भने ।

बैठकमा सहकारी मन्त्री बलराम अधिकारी पनि सहभागी थिए । तर, उनी यस विषयमा मौन रहे । सहकारी विभागका रजिष्ट्रार घिमिरेका अनुसार तीन तहका सरकार मातहत सहकारी हेर्ने निकाय रहेका छन् । 

आफ्नो क्षेत्राधिकारभित्र पर्ने सहकारीको तत निकायले नियमन गर्छ । संघीय संसदले गठन गरेको समितिले अध्ययन गर्न मिल्छ कि मिल्दैन भन्ने विषय प्रतिनिधि सभा नियमावली र सम्बन्धित एनले तय गरे अनुसार हुने रजिष्ट्रार घिमिरेको जवाफ छ ।

नेपालको संविधान जारी हुनुभन्दा पहिले देशभरीका सहकारीको नियमन गर्ने गरी डिभिजन सहकारी कार्यालय थियो । २०७४ सालमा जारी भएको सहकारी ऐनले सहकारीलाई तीन तहको सरकार मातहत रहने गरी वर्गीकरण गरेको छ ।

पालिका भित्र मात्रै कार्यक्षेत्रभित्र रहेको सहकारी सम्बन्धित पालिका मातहत पर्दछ । दुई वा दुई भन्दा बढी पालिका कार्यक्षेत्र भएको वा एउटा प्रदेशभित्र कार्यक्षेत्र रहेको सहकारी सम्बन्धित प्रदेश मातहत पर्दछ ।

एक प्रदेश भन्दा बढी प्रदेशमा कार्यक्षेत्र भएको सहकारी संघीय सरकार मातहत रहेको छ ।

प्रमुख प्रतिपक्षी दलहरु भने सत्तारुढ दलहरू उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई छानबिन गर्नबाट पन्छिने उपाय खोजिरहेको आरोप लगाउँछन् । यही नियतका साथ कुन सरकार मातहत रहेको भनेर प्रश्न उठेको उनीहरुको तर्क छ । 

कानूनी रुपमा जटिलता रहेको भनी उठेको विषयमा प्रष्ट भएरै अगाडि बढिने बताउँछिन् कांग्रेसकी सांसद न्यौपाने । 

यसबारे बुधबार छलफल भएको उल्लेख गर्दै उनी  कानूनी रुपमा आफूहरुका लागि काम गर्न कुनै समस्या नहुने बताउँछिन् । 

‘सहकारी तीन वटै सरकार मातहत रहेका छन् । तिनमा  रहेको समस्यामाथि छानबिन गर्नका लागि समिति बनेको हो । नयाँ ऐन बनाउने नभएकाले कुनै पनि सहकारीमाथि छानबिन गन समस्या पर्ला जस्तो लाग्दैन्’ सांसद न्यौपाने भनिन् ।

सहकारीको रकम अपचलन भएको विषयमा संघीय संसदमा निरन्तर प्रश्न उठेपछि प्रतिनिधि सभाले गत जेठ १५ गते छानबिन समिति गठन गरेको हो । समितिको सभापतिमा एमालेका सांसद सूर्य थापा छन् ।

समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise