काठमाडौं : भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा र संस्थागत गर्न सरोकारले दबाब बढाएका छन् । जेनजी पुस्ताको आन्दोलन विद्रोहमा परिणत भएसँगै मुलुकको सत्ता उलटफेरपछि ‘मुख्य मुद्दालाई कसरी संस्थागत गर्ने ?’ भन्ने विषयमा सरोकारवाला थप सक्रिय बनेका हुन् ।
राजनीतिक दल र तीनका शीर्ष नेताबाट दसकौंदेखि सत्ताको चरम दोहन भएको विषयलाई लिएर युवा एकाएक विद्रोहमा निस्किएका थिए । त्यसो त प्रधानमन्त्री र मन्त्रीहरूले पनि उनीहरूका एजेन्डालाई आफ्नो प्राथमिकतामा राख्ने बताउँदै आएका छन् ।
नव नियुक्त प्रधामन्त्री सुुशीला कार्की र मन्त्रीहरूले युवा आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्ने वातावरण बनाइरहेको बताउँछन् । तर उनीहरूले पहिलो निर्णयबाट मूल मुद्दा सम्बोधन नगरेपछि युवा भने सशंकित छन् ।
नव नियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारको मुख्य जिम्मेवारी चुनाव गराउने र भ्रष्टाचारको छानबिनमा योगदान गर्ने रहेको बताए । उनले भने, ‘देशको पछिल्लो विद्रोह केवल नयाँ सरकारका लागि मात्रै होइन भन्ने विषयमा हामीले सचेततापूर्वक काम गर्नुपर्नेछ । भ्रष्टाचारको अन्त्य गर्दै मुलुकको आर्थिक सुशासनको पक्ष बलियो बनाउनु हाम्रो दायित्व हो ।’
युवा आन्दोलनबाट भएको आमूल परिवर्तन संस्थागत हुने विषयमा शंका उपशंका भइरहेको बेला युवाहरू विभिन्न समूहमा विभाजित देखिन्छन् । युवा आन्दोलनकारीले नेता मानेका काठमाडौंका मेयर बालेन साह, धरानका मेयर हर्क साम्पाङबीच नै पछिल्लो समय ‘वाक युद्ध’ चलिरहेको छ । तर उनीहरूको एजेन्डामा भने एकमत रहेको युवाहरूले दाबी गरेका छन् । जिम्मेवारीका सन्दर्भमा केही मतभेद देखिए पनि भ्रष्टाचार र व्यवस्था परिवर्तनको एजेन्डामा आपूmहरू एक ठाउँ रहेका आन्दोलनको अग्रमोर्चामा रहेका एक युवा खेमराज साउदले बताए । नेतृत्वविहीन आन्दोलन भएकाले केही तितरबितर देखिए पनि आन्दोलनको एजेन्डामा फरक नभएको उनको भनाइ छ । ‘नेतृत्वविहीन आन्दोलन भएकाले केही तितरवितर भएजस्तो देखिएको छ तर हाम्रो एजेन्डा सरकार परिवर्तन वा मध्यावधि निर्वाचन मात्रै होइन,’ उनले मध्यान्हसँग भने, ‘मूल एजेन्डा देशमा भएको भ्रष्टाचारको अन्त्य र राजनीतिक नेतृत्वमाथिको छानबिन हो । त्यसका लागि हाम्रो आन्दोलनबाट बनेको वर्तमान सरकारलाई निरन्तर खबरदारी गरिरहन्छौं । आन्दोलनमा एकै ठाउँ उभिएका साथीहरू अहिले फरकफरक नेताहरूको निकट देखिए पनि एजेन्डामा एक छौं ।’
युवाहरूको विद्रोहबाट फेरिएको सत्तामा युवाको उपस्थिति नभएको विषयमा भने युवाहरू असन्तुष्ट छन् । आन्दोलनका क्रममा १९ जनाको बलिदानीबाट प्राप्त उपलब्धि पुरानै व्यक्तिलाई मुलुकको बागडोर जिम्मा लगाउन मात्रै नभएको उनीहरूको आक्रोश छ । आन्दोलनका क्रममा स्वयंसेवकको भूमिकामा देखिएका ‘हामी नेपाल’का प्रतिनिधि सुदन गुरुङले घटनापछिको नेतृत्व लिएका छन् । सरकार निर्माणपूर्वका हरेक छलफलमा नेतृत्वदायी भूमिकामा देखिएका गुरुङले आन्दोलनका क्रममा स्वयंसेवक भने पनि अहिले आफैं नेता भएर अघि सरेको भन्दै कतिपय युवाहरूले उनको पछिल्लो भूमिकाप्रति आक्रोश पोखेका हुन् । नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँगको छलफलमा सहभागी धेरैजसो युवा अहिले सम्पर्कमा छैनन् । त्यसबेलै सेना प्रमुखले सरोकारवालाका रूपमा दुर्गा प्रसाईं र रास्वपालाई लिने भएपछि सो छलफल बहिष्कार गरेका थिए । त्यसपछि उनीहरू पछिल्लो छलफलमा सहभागी भएको देखिँदैन । पछिल्लोपटक यसको फाइदा विभिन्न पार्टीमा संलग्न युवाहरूले लिने संकेत देखापरेको कतिपय युवाहरूले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । यद्यपि आन्दोलनको एजेन्डा स्थापित गर्ने कुरामा युवाको आवाज एउटै रहेको दाबी गर्दै आएका छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृहमन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री र विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जामन्त्री बनाइएको छ । ओमप्रकाशलाई गृहमन्त्री बनाइएकोमा प्रधानमन्त्री कार्कीलाई प्रस्ताव गर्ने सुदन गुरुङले नै सन्तुष्ट छैनन् । ‘यो आन्दोलन अरू कसैबाट हाइज्याक भएको छ । आन्दोलनको सहजकर्ता बनेको मान्छेले गृहमन्त्री किन खायो ?’ उनले भनेका थिए । आफ्नो समूहसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै आक्रोश पोखेका सुदन र उनको समूह विस्तारै साम्य हुँदै आएका छन् । मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य र सुुशासनका लागि नवगठित सरकारबाट परिवर्तनको एजेन्डालाई संस्थागत गराउन निरन्तर खबरदारी गर्ने बताएका छन् ।
सामाजिक सञ्जालको आह्वानकै भरमा स्वतःस्फूर्त रूपमा हजारौं युवा सडकमा उत्रिएर ल्याएको नयाँ सरकारले युवाहरूका मूल एजेन्डालाई कसरी स्थापित गर्छ भन्ने विषयमा युवाहरू अहिले पनि छलफलमा केन्द्रित छन् । आन्दोलको अग्रभागमा रहेका, खेमराज साउद, मिराज ढुंगाना, पुरुषोत्तम यादव, सवल गौतम, विजय शाह, अंकित मल्ललगायत युवाबीच छलफल जारी रहेको जेनजी आन्दोलनका अगुवा खेमराज साउदले बताए । हामी नेपाल समूहका सुदन गुरुङले सुरुमा सहजकर्ता मात्रै भएको बताए पनि अहिले उपलब्धिको जस लिन खोजिरहेका छन् ।