सुर्खेत : गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुसँग सोमबार छलफल गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा उनले आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनाले नागरिक त्रसित भएकाले चारै वटै सुरक्षा निकायलाई जनतालाई आश्वस्त पार्ने गरी काम गर्न निर्देशन दिए ।
मुख्यमन्त्री कँडेलले उद्देश्य राम्रो भए पनि आन्दोलनका नाममा हिंसा र तोडफोडले मुलुकले ठुलो क्षति व्यहोर्नु परेको बताए । उनले भने, 'अनुसन्धान र कारबाही त हुन्छ नै, तर त्यसपछि पनि नागरिक अझै भयवित छन् । यो अवस्थाबाट माथि उठाएर शान्त वातावरण कायम गर्ने जिम्मेवारी तपाईंहरूको हो ।'
उनले सुरक्षाकर्मीलाई संयम, धैर्यता र निष्पक्षताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । “आन्दोलनका नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखी अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुस्,” मुख्यमन्त्री कँडेलले भने ।
प्रदेश सरकार सुरक्षाकर्मीलाई आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको स्पष्ट पार्दै उनले संघीय सरकारको आदेशमा ढिलाइ हुँदा जिल्लास्तरमा सुरक्षाकर्मीले भोग्नुपरेको कठिनाइबारे आफू जानकार रहेको पनि बताए ।
छलफलमा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर आचार्यसहित चारै वटै सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।