२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बाँफिकोट गाउँपालिकाले ल्यायो ५१ करोड ६९ लाख ८४ हजारको बजेट, कृषि क्षेत्र प्राथमिकतामा

ADV
प्रचण्ड खत्री
२०८१ असार ११ गते १३:१४
बाँफिकोट गाउँपालिकाले ल्यायो ५१ करोड ६९ लाख ८४ हजारको बजेट, कृषि क्षेत्र प्राथमिकतामा

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५१ करोड ६९ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार गाउँपालिकाकी उपाध्यक्ष तारा बुढा केसीले १६औं गाउँ सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५१ करोड ६९ लाख ८४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

यस्तै सोमबार नै गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले गाउँ सभामा गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । 

गाउँपालिकाले आर्थिक विकासअन्तर्गत कृषि, सिँचाइ तथा पशुपक्षी विकास, उद्योग वाणिज्य तथा व्यापार, पर्यटन प्रवर्द्धन तथा साहित्य, संस्कृति संरक्षण र सहकारीलाई प्राथमिकतामा राखेको छ । 'आर्थिक समृद्धिको पहिलो आधार कृषि' भन्ने मूल नारालाई आत्मसात गरी कृषिलाई व्यावसायिक, आधुनिक बनाइ रोजगारी सिर्जना गर्न, खाद्यान्नमा आत्मनिर्भर बन्न, गरिबी र भोकमरी अन्त्यका लागि आवश्यक भू-उपयोग तथा कृषि पूर्वाधार निर्माणलाई प्राथमिकता दिने नीति गाउँपालिकाले लिएको छ ।

कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउन कृषि हाटबजार तथा साझा सुविधा केन्द्रको विस्तार, कृषि सडक सञ्जाल स्थापना, वडा नम्बर ४ मा दुग्ध संकलन केन्द्र सञ्चालनमा ल्याउने र कृषकमा आत्मसम्मान अभिवृद्धि गर्न एक घर एक ज्येष्ठ किसान प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाले नीति लिएको छ । गाउँपालिकाले जलविद्युत विकासका लागि स्यार्पु हाइड्रोपावर कम्पनीमा गाउँपालिकाबाट शेयर लगानी गरी शेयर स्वामित्व हिस्सा अभिवृद्धि गर्ने नीति पनि लिएको छ । 

पर्यटनतर्फ बुरालमष्टलगायतका मठमन्दिरको संरक्षण गर्नुका साथै धार्मिक तथा पुरातात्विक स्थानहरूको खोज, पहिचान र संरक्षणका साथै स्यार्पु दह, तार्सुकाँडा, मेलगैरी, झारमारे, थुमालेक, थामालेक, गुप्ती दह, भेरिखोला जारकाटे, पाथिभरेलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाले आधारभूत तह १–५, ५–८ र ९–१० मा पालिकास्तरीय एक-एक वटा नमुना विद्यालय स्थापना गर्ने, बालबालिकालाई विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं कार्यक्रमलाई निरन्तरता दिएको छ भने अन्तर विद्यालय तथा विद्यालयस्तरीय खेलकुद कार्यक्रम तथा बौद्धिक कार्यक्रमलाई जोड दिनुका साथै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक र विजेता खेलाडी तथा प्रदेशस्तरीय खेलमा छनोट हुने खेलाडीहरूलाई पुरस्कार र सम्मानको व्यवस्था गर्ने नीति लिएको छ ।

सामाजिक क्षेत्रअन्तर्गत स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, खेलकुद तथा मनोरञ्जन, महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा समावेशी विकासलाई जोड दिइएको छ । पूर्वाधार विकास, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सुशासन र सेवा प्रवाह, सूचना तथा सञ्चार प्रविधि, आर्थिक प्रशासन, राजस्व तथा कर प्रणाली, संगठन तथा जनशक्ति व्यवस्थापनका क्षेत्रलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise