-रमेश भट्टराई ‘सहृदयी’
कोरोना महामारीको वर्तमान भय, विदेशिनुपर्ने विवसता अनि आगामी खाद्यसंकट हुने अनुमानबीचको त्रिकोणीय चिन्तनले देशलाई अन्योलको भूमरीमा हाल्दै छ । साथमा नेपाली भूमि अतिक्रमणका विरुद्ध स्वाभिमानी अस्तित्व रक्षाको विषय गाँसिएको छ । यसअघि भारतले भूकम्पको घाउ थिल्थिलो भएको संकटकै समयमा अघोषित नाकाबन्दीको बज्र हानेको थियो । यदि नेपाल र नेपाली आत्मनिर्भर हुने हो भने अर्थात् छिमेकी देशमा भर पर्ने बाध्यता नहुने हो भने हामीलाई नाकाबन्दीको भयले पिरोल्ने थिएन । छिमेकीले हाम्रो स्वाभिमानका अघि हात ठड्याउने आँट गर्ने थिएन । यता, काम र मामका निम्ति विदेशिने तमाम नेपालीहरूले दाम कमाउँला भन्दै गर्दा स्वाभिमानमा धक्का पुगेका इतिहास हिजैदेखि भयानक थिए । कोरोना महामारीले परदेशमा कोठाभित्र थुनिएर काम र दामको अभावमा प्राणरक्षाको जोखिमलाई अझ बढाइरहेको छ । पहिलो त स्वदेशमा काम नहुनु, दोस्रो काम अनुसारको दाम नहुनु हाम्रो आफ्नो पीडा हो ।
कोरोनाले विश्वभरी ७ हजारभन्दा बढी नेपालीमा संक्रमण बढिसकेको छ । थुप्रै नेपालीले परदेशमा असुरक्षित हुँदा ज्यान गुमाइसकेका छन् । विकसित देशले युवासँग समृद्धिलाई गाँस्ने सपना देख्छ, हाम्रो देशले रेमिट्यान्सको आधार मान्दै रहनु दुर्भाग्य हो । विगतका घटनालाई सम्झँदाः इराकमा निर्मम र कुत्सित हत्या भए, अफगानिस्तानमा नेपालीहरू सिकारीको निसानामा परे । आफ्नो देशमा फाँसीको कानुनै छैन तर, अर्काको देशमा नेपालीले फाँसीमा फसिरहेका पीडा छन् । अनाहकमा जेल यातना भोग्नेका दशा उस्तै हृदयविदारक छन् । कमाएका पैसा अर्कैले लगिदिनेदेखि अनेकन दुर्दशा र आतंकमा पिल्सिनेहरूका पीडा यहाँ स्वदेशमै बसेर कल्पना गरेजस्तो अवश्य हुँदैन । आखिर विदेशमा असुरक्षाको पहाड त छँदै छ । त्यहाँको पैसाले नेपालका अधिकांश नागरिकको जीवनस्तर सुध्रेको भए पनि स्वदेशी आत्मनिर्भताको बाटो रोज्नु देशको उत्तम विकल्प र आवश्यकता पनि हो ।
भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी लगायतकाप्राकृतिक विपत्ति तथा राजनीतिक अस्थिरता र अकर्मण्यताले देश एउटा भूमरीभित्रै रहिरहयो । सधैँ अभावसँग पिसोल्टिनेहरूका आर्तनादको आँकडालाई कोरोनाले अर्को वज्र थप्यो । व्यवस्था फेरिएर पनि शैली र सोचले नवीनता पाएन । हामीले विगतका विपत्तिबाट पाठ सिक्न सकेनौँ । हामीले सक्षम युवा विदेशिएका घाउलाई कथा मात्रै बनाइरहेका छौँ । अलिकति धन हुनेले शहरै बस्नुपर्ने गलत सोचमा हामी अन्धा भयौँ । नेपाली युवाका दृश्य–अदृश्य यावत घटनासँग जोडिएका शोकका अश्रुले नेपाल आमाको छातिमाघाउ लगाइरहेकै छन्– एक्काइसौँ शताब्दीमा पनि ।
परदेशी हुनु रहर हो ?
परदेशमा दुख्ने मन, परदेशमा पिल्सिएका व्यथा अनि परदेशसँगै जवानी साट्नेका कथा किन कारुणिक हुन्छन् ? परदेशी बन्नु रहर हो या बाध्यता ? कतिपय रहरले, ठूलो देश भनेपछि नेपालमा रहँदासम्म पनि पूmर्ति लगाउनेबाहेकका कुरा गर्ने हो भने परदेशमा भविष्य कोर्नेका क्रन्दन हृदयविदारक हुन्छन् । अर्थात्, सबै विदेशिएका नेपाली आफ्नो पाखोलाई बाँझो बनाएर रहरले विदेशिएका हुन् त ? या त पाखोमा उब्जिएकाले घर नधान्ने वास्तविकतालाई बोध गरेर विदेशिएका हुन् ? कोरोनाले पिल्सिएकाहरूको आत्मकथालाई परदेशिनुपर्ने बाध्यताले प्रहार गरेको होइन र ? त्यसो हो भने कोरोनाका कारण नेपालीहरू पीडित हुनुको एक भाष्य त परदेशी बन्नुपरेको बाध्यता रहेछ । काम र मामका निम्ति भारत भूमिमा गएका नेपालीले सीमा क्षेत्रमा अड्किरहनुपरेको पनि त हो । आखिर यो पनि त ‘नेपालमै रोजगारको नहुनुको पीडा’ रहेछ !
एकजना किसानले भन्नुभयो– “मैले धानको बिउ राखेदेखि रोप्ने, धान काट्ने अनि बेच्नेसम्मको आम्दानी र खर्चलाई बसेर हिसाब गर्दा मलाई १५ प्रतिशत घाटा रहेछ । त्यसमा मैले आफ्नो कामको हिसाब जोडेकै छैन ।” यसो भनिरहँदा सबै कथा असफलतामा मात्र केन्द्रित भएका होइनन् । तर, सोचनीय विषय– सफलता प्राप्त गर्नेहरूलाई मूलतः ‘परिवेश, सुविधा र जाँगर’ ले प्रभाव पारेको हुन्छ । कतिपयले चाहेर पनि सफलता प्राप्त गर्दैनन् । हुन सक्छ– तिनको जमिन नै छैन, हुन सक्छ– काम गरेर पनि बजार हुँदैन अर्थात् लगानीभन्दा प्राप्ति कम हुँदा घाटाको परिश्रम गरेर जीवन कसरी धान्न सकिन्छ ? सम्भावना भएर पनि सम्भावना नदेख्नेका कुरा अलग हुन सक्लान् । जीविकोपार्जनको मात्र कुरा रहेन आजको समाजको गतिसँगै गर्नुपर्ने प्रतिस्पर्धाको बाध्यताको पनिहो ।
मातृभूमिको ममतालाई शिरमा राखेर स्वर्णिम रेखा कोर्ने आशामा पाखुरी बजार्न युवा शक्तिले देश छोडेका हुन्छन् । धेरैले पारिवारिक व्यवस्थापन गर्ने बाटो नपाउँदा जीवनलाई खुकुरीको धारमा राखेर सपना बुनेका हुन्छन् । अन्तिम विकल्पका रूपमा विदेशिन्छन् । धेरै नेपालीले परदेशमा कोरोनाको सिकार हुनुपरेको मूल कारण पनि त यही हो । देशले त रेमिट्यान्स भिœयाउँदैथ्यो । कोरोनाको प्रभावले त्यसको दर ह्वात्तै घट्ने स्पष्ट अनुमान गर्न सकिन्छ । नेपालमा अनौपचारिक क्षेत्रमा कार्यरत ४४ लाख मानिसहरूमध्ये करिब २० लाखको रोजगारी गुम्ने खतरा बढ्ने अनुमान सरोकारवालाको छ । विदेशबाट रोजगारी गुमाएर ह्वात्तै फर्किनेहरूका लागि कुटनीतिक पहल हुनुपर्ने कुरालाई सुझाइरहेका छन् । फलतः सञ्चालित देशभित्रका उद्योग धन्दा, कलकारखनामा पनि असर पर्ने नै छ । यसरी एकातिर जनचाप बढ्ने अर्कातिर आर्थिक गिरावटको असर व्यहोर्नुपर्ने दोहोरो जटिलताको खाडललाई पूर्ति गर्ने चुनौती छ । अध्येताहरूद्वारा अल्पविकसित तथा नेपालजस्ता विकासोन्मुख मुलुकमा कोरोनाले खाद्यसंकट निम्त्याउने भनिए पनि नेपालले आफ्नै स्रोत–साधनलाई अपनाउने आधार तय गर्न सक्छ । हाम्रो भूगोल र यहाँको युवाशक्तिले देशमा एउटा पृथक् परिवर्तनको शङ्खनाद गर्न सक्छ । विदेशले नेपाली कामदार माग्यो भनेर खुशी मान्ने सोचलाई बदलेर आत्मनिर्भरताको बाटोलाई अपनाउने हो भने कोरोना भाइरसको असर नकारात्मक मात्र पनि बन्दैन ।
आखिर, अप्ठ्यारो परिवेशमा त प्रविधिले पनि विकसित मुलुकभित्र प्राणलाई जोगाउन नसक्ने नै रहेछ । विश्व अर्थतन्त्रले सन् १९३० यताकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गर्नुपर्ने अनुमान लगाइरहँदा हामीले प्रयोग नभएका हाम्रा प्राकृतिक सम्पदालाई उपयोग गर्ने आधारलाई खोज्नु सान्दर्भिक हुन्छ । भारतबाट आयात गरिने खाद्यान्न र दैनिक उपभोग्य वस्तुको विकल्पलाई अध्ययन गरेर नेपाली उत्पादनमा जोड दिन सकिन्छ । आधुनिक कृषि तथा बजारीकरणबाट स्थानीय शक्ति र स्रोतको उपयोग गर्न सकिन्छ । दक्षिण एसियामा करिब १ करोड ७६ लाख जनसंख्या गरिबीको रेखामुनि धकेलिने अनुमान भएको छ । यसले गरिबीको रेखा मास्तिरका व्यक्तिलाईसमेत गरिबीको रेखामुनि झर्ने देखिन्छ । ठूला र विकसित भनिएका मुलुकमा हुने आर्थिक सङ्कुचन तथा गिरावटले बेरोजगारी दर बढे पनि हामीले आत्मनिर्भताको बाटोलाई नै मूल सूत्र बनाउन सक्छौँ ।
हाम्रो देशले माटो परीक्षण गरेर खाद्यान्न तथा फलपूmल लगायतका उत्पादनार्थ बिउबिजन, मल तथा बजारीकरणको बाटोलाई पहिलो आधार बनाउनु सान्दर्भिक हुन्छ । यो हाम्रो भूगोल र प्रकृतिले दिएको अवसरको आधार हो । यदि यही अवस्थाका कारण हामीले हाम्रै भू–उपयोगी कृषिमैत्री आत्मनिर्भरताको मार्गलाई अपनाउने हो भने हामीले अब हुन सक्ने खाद्यसङ्कटको औजार तयार गर्न सकौँला ।
भाइचाराको मन्त्र
यदि आकस्मिक रूपमा नेपालीहरू भित्रिए पनि भैmझगडा, अभाव, बेमेलको अवस्था हुन पनि सक्छ । जब मानिस बेरोजगार बन्छ, अभावले पिल्सिन्छ तब कुविचारले ग्रसित तुल्याइदिन्छ । तसर्थ, हाम्रा नेपाली दाजुभाइका सीप र दक्षतालाई उपयोग गरौँ । यसो भए रोजगार मिल्छ, स्वदेशमै बस्न पाउँदा पारिवारिक विखण्डन र भद्रगोलको अवस्थासुध्रिन्छ, देशको विकास पनि हुन्छ अनि भोकै मनुपर्ने अवस्थामा पनि राहत मिल्न सक्छ । नेपाली मनमा भौतिक वैभवको कमी भए पनि भावनात्कताको भण्डार गुमेको छैन । जहाँ सत्यता रहन्छ त्यहाँ पापको डर हुन्छ । जहाँ पापको डर हुन्छ त्यहाँ मानवताले बाँच्न पाउँछ ।
आज विदेशी दुनियाँले पैसा र सूक्ष्म स्वार्थभित्र रहेर दानवीय व्यवहारमा आपूmलाई होमिरहेका दृश्यहरू छन् । यदि नक्कल र बडप्पन नेपाली भूमिमा हुन्छ भने त्यो हाम्रो संस्कारभन्दा विपरीत विषय हुनुपर्छ । परिश्रमको फलमा आश्रित हुने, कर्मप्रतिको निष्ठाले नेपालीपनलाई वकालत गर्छ । गीताले कर्म गर फलको आशा नगर भनेका वाक्यशक्ति कमजोर नबने सत्यताले बाँच्न पाउँछ । आज समाज र शैक्षिक विकासभित्र नैतिक आचरण सिकाइएकै छैनन् ।
यदि अनुशासनमा रहेर यो पृथ्वी घुमेन भने, सूर्यले प्रकाश दिएन भने, हावाले केही क्षण मात्रै विश्राम लियो भने प्रकृतिभित्र जुन गत हुन्छ, अनुशासनविना मानिस त्यस्तै बन्छ । पद, प्रतिष्ठा र पैसाको लालची मानिसले नियमलाई उल्लंघन गर्न हिच्किचाउँदैन । हाम्रो नेपाली आदर्श संस्कृतिमा त्यस्तै मानिस कलंक बन्छ । आज जन्मेका वितृष्णा, बलात्कार, हत्याजस्ता कुत्सित कर्महरू नेपाली समाजभित्र पापजन्य कर्म ठहर्छन्– यो नै नेपाली संस्कारको दह्रो कानुन हो । यद्यपि यी विकृतिलाई विदेशिनुपर्ने बाध्यताको मनोविज्ञान र प्रविधिको दुरुपयोगले उक्साइदियो । यो खेदपूर्ण सोचलाई पनि सुधार्नु आवश्यक छ ।
स्थानीय तहको भूमिका
संकटग्रस्त जीवन जिएर प्रवासमा बस्नेले पारिवारिक सुखलाई तिलाञ्जली दिएका छन् । यसको कारण केवल स्वदेशी आत्मनिर्भरताको अभाव हो, स्वदेशी अवसर र श्रमको उचित पारिश्रमिक पाउन नसक्नु हो । नेपालीले जोखिम मोलेर समुद्र पारी पौरख बेचिरहँदा बाँझो जमिनमा काँस पूmलेको छ । असारमा हली, बाउसे र लाठे नपाउँदा बयोवृद्धहरूले नै जवानी उमार्नुपर्ने बाध्यता छ । जुन देशमा बाल–वृद्धले घर धान्ने दशा हुन्छ, त्यहाँ समृद्धिका सपना केवल कल्पना हुन्छन् ।
कोरोना महामारीले धेरै नेपालीहरू विभिन्न अवस्थामा आफ्नो सुरक्षाका लागि विदेशमै अड्किरहेका छन् । देशले एकै पटक हाम्रा नेपालीलाई ल्याउन नसक्ने बाध्यतालाई अब स्थानीय जनस्तरबाट पहल थालिनु आवश्यक छ । विदेशमा अलपत्र भएका र फर्कन चाहने नेपालीहरूलाई आफ्नो स्थानीय तहले आँकलन गरेर सोही स्थानभित्र रोजगारका बाटालाई खोजोस् । स्थानीय तहका आ–आफ्ना क्षेत्रमा सुरक्षित रूपमा क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था गर्ने हो भने ठूलो समस्या नहुन सक्छ । न उता काम न यता आराम हुने अवस्थालाई मध्यनजर गरेर लगानी र उत्पादनको आवश्यकतामुखी कार्ययोजना निर्माण पनि स्थानीय तहकै बढी जिम्मेवारी रहने हुँदा अब स्थानीय तहलाई सबल बनाऔँ । स्थानीय आवश्यकता र कृषि, वाणिज्य, पशुपालन लगायतका सम्भावनामुखी रोजगारद्वारा आत्मनिर्भरताको बाटो खन्ने एउटा थालनी गरौँ । यो महामारीलाई काम र मामका बाहिरिने बाध्यता हर्ने अवसरका रूपमा रूपान्तरण गरौँ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies