काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रक्रिया अघि बढाएका छन् । त्यसका लागि दुवै दलले आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षर संकलन सुरु गरेका छन् ।
कांग्रेसले मंगलबार बिहान बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बसाएर उपसभामुख हटाउने विषयमा निर्णय गरेको हो । सो बैठकपछि आफ्ना सांसदलाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दलको कार्यालयमा उपस्थित भई हस्ताक्षर गर्न निर्देशन दिइएको छ ।
एमालेले पनि आकस्मिक बैठक बोलाउँदै सांसदलाई दिउँसो २ बजेसम्म हस्ताक्षर गर्न उपस्थित हुन खबर गरेको छ ।
यसअघि सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित दुवै दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । सो बैठकमा महान्यायाधिवक्ता रमेश बडालसहितका नेताहरू सहभागी थिए । बैठकमा सामाजिक सञ्जाल नियमनसम्बन्धी सर्वोच्च अदालतको फैसलासँगै उपसभामुखलाई हटाउने विषयमा समेत छलफल भएको थियो ।
उपसभामुख रानामाथि अमेरिकी राजदूतावासमा आफ्नो आधिकारिक लेटरप्याड प्रयोग गरी अमेरिका लैजाने व्यक्तिको लागि भिसा सिफारिस पत्र पठाएको आरोप छ । यसअघि पनि उनलाई पदबाट हटाउने चर्चा चले पनि दलभित्र विरोधका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।