२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

किन भेटिँदैनन् मुख्य तस्कर ?

draupadi film
जीवन शर्मा
२०८१ चैत ८ गते ०६:५८
किन भेटिँदैनन् मुख्य तस्कर ?

काठमाडौं : घटना– १: नेपाल प्रहरीले ७ चैतमा भाटभटेनी सुपर मार्केटको सामान ल्याउँदै गरेको गाडीमा भन्सार जाँच पास नगराई ल्याइएको ७४० थान अवैध भेप (विद्युतीय चुरोट) बरामद ग¥यो । अन्दाजी मूल्य २२ लाख २० हजार पर्ने उक्त सामग्रीसहित चालक  भोटेकोशी गाउँपालिका– २ का प्रवीण खत्री र डिब्बा गाडी इलाका प्रहरी कार्यालय बाह्रबिसेले नियन्त्रणमा लिएको थियो । 
तातोपानी भन्सार नाकाबाट काठमाडौं आउँदै गरेको ना६ख ५४९६ नम्बरको ट्रक र चालक खत्रीलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहर भवनमा पठाइएको छ ।

घटना– २: यही ४ चैतमा रसुवाको केरुङ नाकाबाट चीन लैजान लागेको (डलर र युरो) २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ हुन आउने अवैध विदेशी मुद्रासहित ट्रक चालक पक्राउ परे । ना७ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर लगिँदै गरेको विदेशी मुद्रासहित काठमाडौंको टोखास्थित झोरबाट रातको समयमा पक्राउ गरिएका भरिया सिन्धुपाल्चोकका ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामालाई प्रहरीले राजस्व अनुसन्धान कार्यालयमै पठाएको छ ।

यद्यपि, बरामद भएको रकम कसले पठाएको हो भन्ने अझै खुलेको छैन । लामाले उक्त रकम एक चिनियाँ नागरिकले दिएको दाबी गरेका थिए । रकमको कनेक्सन सुन कारोबारसँग जोडिए पनि यस प्रकरणका मुख्य व्यक्ति को हुन् भन्ने पत्ता लगाई नसकेको प्रहरीले जनाएको छ ।

उनै लामालार्ई अपराध अनुसन्धान कार्यालयकै टोलीले १३ पुस २०७३ मा कलंकीबाट ७ किलो अवैध सुनसहित पक्राउ गरेका आधारमा सो रकम अवैध सुन कारोबार गर्ने प्रयोजनकै लागि लगिँदै गरेको प्रहरीको अनुमान छ ।  

नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आईजीपी) दीपक थापा नियुक्त भएकै दिनयताका यी ठूला २ घटना हुन् । यिनै  प्रकरणलाई लिएर बुुधबार र बिहीबार प्रतिनिधिसभाको बैठकमा व्यापक बहस भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विगतका सुन तस्करीदेखि केही दिनअघि भएको २५ करोडभन्दा बढी अवैध रकमका मूल तस्करहरू पत्ता लगाउन अनुसन्धानलाई प्रभावकारी बनाउनुुपर्ने माग गरे ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा, रास्वपाका सांसद मनीष झालगायतले सरकार नै तस्करहरूको संरक्षक जस्तो देखिएको आरोप लगाएका छन् । अपराध अनुसन्धानको मुख्य जिम्मेवारी पाएको नेपाल प्रहरीले अवैध तस्करीका मूूल मालिकको पहिचान गरी कानुनी दायरामा ल्याउन अझै सकिरहेको छैन । अवैध रूपमा कारोबार हुने सुन, डलर, लागुुऔषधलगायत व्यापारमा संलग्न बिचौलियालाई पक्राउ गरे पनि मूल नाइके भेट्न निकै कठिन हुँदै आएको हो । 

पछिल्लो दशकमा अत्यन्तै मौलाएको अवैध सुन, डलर तथा युरो मुद्रा, लागुुऔषध तस्करी, मानव बेचविखन÷तस्करीका मुख्य नाइके र योजनाकारको पहिचान गर्न प्रहरीलाई निकै सकस परेको छ ।

अवैध सामान ओसारपसार गर्ने चालक, भन्सार नाका वारपार गराउन सहजीकरण गर्ने व्यक्ति र केही साना बिचौलियाबाहेक मूल नाइकेको पहिचान गर्न प्रहरीले ठूलै मूल्य चुकाउनुपर्ने देखिन्छ । यद्यपि, प्रहरीले भने यस्ता घटनामा संलग्न मुख्य योजनाकार र नाइकेको पहिचानका लागि निरन्तर अनुसन्धान भइरहेको र कतिपय घटनाका मुख्य नाइकेहरू पक्राउ गर्न सफल भएका दाबी गरेको छ ।
‘नेपाल प्रहरीले त्यस्ता अवैध गतिविधि गर्नेमाथि निरन्तर अनुसन्धान गरिरहेको र कतिपय ठूला घटनाका नाइकेलाई कानुनी कठघरामा पठाइसकिएको छ’, नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले भने, ‘संगठित अपराधमा एउटै केशले टुंगिँदैन । प्रहरीले अवैध सुन काण्ड, डलर तथा युरो मुद्रा, लागुुऔषध तस्करी, मानव ओसारपसारका मुख्य घटनामा सूक्ष्म अनुुसन्धान गरिरहेको छ ।’ यस्ता प्रकरणमा अनुसन्धानमा वर्षौं लागे पनि अन्ततः सफल हुने प्रहरीको विश्वास छ । 

नेपालमा हुने अवैध मालसामान ओसारपसार र तस्करीका घटना नयाँ भने होइनन्, तर कुनैकुनै समयमा हुने तस्करी सोचेभन्दा भयानक र ठूला मात्र हुँदैनन्, विश्वास गर्नै नसक्ने खालका डरलाग्दा प्रकृतिका हुने गरेका छन् ।

त्यसका ज्वलन्त उदारहणहरू हुन्– ३३ किलो, ८० किलो, १ क्विन्टल सुन तस्करीदेखि भुटानी शरणार्थी काण्ड, करोडौं विदेशी मुद्रा ओसारपसार र भेपमार्फत गरिने सुन तथा अवैध लागुुऔषध कारोबार । 

३ दिनअघि मात्र भएको अवैध २५ करोड १९ लाख नगद बरामदलाई बलियो उदाहरणका रूपमा पेस गर्न सकिन्छ । खासगरी नेपालमा छिमेकी २ ठूला देश भारत र चीनसँगको खुल्ला सिमानाका कारण सडकमार्गबाट धेरै तस्करी हुने गरेको छ भने सुन जस्ता बहुमूल्य वस्तुहरूको सडकसँगै हवाईमार्गबाटै खुलेआम तस्करी हुने गरेको छ ।

भारतसँगका २७ वटा र चीनसँगका १४ वटा सीमानाकामार्फत बढी तस्करी हुने गरेको पाइन्छ । यसरी हुने तस्करीमा विगतमा खाद्यान्न, लत्ताकपडा, लागुऔषध, औषधि, मेसिनरी पार्ट्स जस्ता वस्तुहरू भए पनि पछिल्लो समय ठूलो मात्रामा करोडौं करोड खुद नगद नै ओसारपसार हुन थालेको अनुसन्धान अधिकारीहरूको अनुुभव छ ।

यस्ता ठूला र संगठित अपराधका घटनामा नेपाल प्रहरीको स्वतन्त्र अनुुसन्धानमा राजनीतिक हस्तक्षेप नहुने हो भने मुख्य अपराधीहरू पत्ता लगाउन सकिने सुरक्षा तथा अनुुसन्धान विज्ञहरू बताउँछन् । स्वतन्त्र रूपमा अनुुसन्धान गर्न दिइएको खण्डमा नेपाल प्रहरीले राम्रो अनुुसन्धान गर्न सक्ने अपराध अनुसन्धान विज्ञ नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले बताए ।

‘ठूला अपराधमा संलग्न व्यक्तिहरूका मुद्दा शक्ति केन्द्रसँग जोडिएका कारण कताकता हराउने गरेका छन्’, मल्लले भने, ‘संगठित अपराधमा एउटै केशले टुंगिदैन । यस्ता तस्करीमा ठूला ग्रुपहरू संलग्न हुने गरेका हुन्छन् । राजनीतिक रूपमा निकट भएका र शक्ति केन्द्रसँग जोडिएकाले प्रहरीको अनुुसन्धानमाथि हस्तक्षेप हुुने गरेको छ ।’

विदेशदेखि नाका बाहिर–भित्र गर्ने प्रयोजनमा नेपाली तस्करहरू संलग्न हुने र त्यस्तो कार्यमा संलग्न ठूला व्यापारीहरूले पनि थोरथोरै लगानी गर्ने गरेको मल्लको अनुुभव छ । ‘संगठित अपराधका विषय सामान्य अपराध जस्तो सजिलो पत्ता लाग्दैन’, उनले भने, ‘इन्भेस्टिगेसन (अनुसन्धान) निकै गाह्रो हुन्छ तर स्वतन्त्र रूपमा निरन्तर इन्भेस्टिगेसन गर्न सके त्यस्ता अपराधीहरू नेपाल प्रहरीले छिट्टै पत्ता लगाउन पनि सक्छ ।’ 

ठूला तस्करीमा धेरैजसो उही अनुहारहरू नै दोहोरिने गरेको उनको अनुभव छ । ३३ किलो, ८० किलो सुनसहितका काण्डमा त्यस्तै देखिएको उनले बताए । यस्ता घटनालाई राजस्व अनुसन्धानमा पठाउनेभन्दा सीआईबीकै अनुसन्धान आवश्यक रहेको मल्लको भनाइ छ ।
 

ADV

सम्बन्धित खबर

Advertise