रुकुम (पूर्व) : लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा दुर्गमता, पूर्वाधारको अभाव र स्वास्थ्य सेवा पहुँचको चुनौतीका बाबजुद आर्थिक वर्ष २०८१÷८२ मा १ हजार ७० महिलाले सुत्केरी सेवा लिएका छन् । सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका अधिकांश बस्तीहरू सडक सञ्जालबाट टाढा छन्।
अत्यधिक रक्तश्राव, शारीरिक कमजोरी, लामो दूरी र असहज यातायातका कारण गर्भवती महिलाको ज्यान जोखिममा पर्ने अवस्था रहेको जिल्ला अस्पताल रुकुमपूर्वकी वरिष्ठ नर्सिङ निरीक्षक विष्णुकुमारी पन्तले जानकारी दिइन् । उनका अनुसार एक जना गर्भवती महिलालाई हेलिकप्टरमार्फत रिफर गरिएको छ भने १८ जनालाई एम्बुलेन्समार्फत दाङ, नेपालगञ्ज लगायतका अस्पतालहरूमा पठाइएको छ । ‘दुर्गम भेगबाट महिला आइपुग्दा जटिल अवस्थामा हुन्छन् । अधिकांशलाई अत्यधिक रक्तश्रावको समस्या हुन्छ । यस्तो अवस्थामा सेवा दिन निकै चुनौतीपूर्ण हुन्छ,’ पन्तले भनिन् ।
जिल्ला अस्पतालमा हालसम्म ब्लड बैंक छैन । आकस्मिक अवस्थामा अस्पतालले आफैं रक्तदाता खोज्नुपर्छ । ब्लड बैंक नहुँदा पनि ११ जना महिलालाई समयमै रगत उपलब्ध गराएर सेवा दिन सफल भएको अस्पतालले जनाएको छ ।
यस वर्ष अस्पतालमा चार नवजात शिशुको जन्म भएको छ, भने सुत्केरीपछिको जटिलताका कारण ७ महिलाको पाठेघर च्यातिएर सिलाइएको छ । बच्चा उल्टो बसेको, नाल बेरिएको, व्यथा लामो लागेको, गर्भमै दिशा खाएको, बच्चा सामान्य तौलभन्दा ठूलो भएको लगायत कारणले २५ जना आमाको आकस्मिक शल्यक्रिया गरिएको पन्तले जानकारी दिइन् ।
जिल्लाका कतिपय स्वास्थ्य संस्थाहरू अझै अस्थायी भवनमा सञ्चालन भइरहेका छन् । कतै पानी चुहिने टहरा छन् भने कतै विद्युत् नै छैन । अनमीहरूका अनुसार यस्तो कठिनाइबीच पनि सुत्केरी सेवा निरन्तर चलिरहेको छ ।
कुन स्वास्थ्य चौकीमा कति ?
सिस्ने गाउँपालिकाभित्रका ६ वटा स्वास्थ्य संस्थाबाट ३ सय ९६ महिलाले सुत्केरी सेवा लिएका छन् । सिस्ने स्वास्थ्य चौकीबाट ३९ जना, प्वाङ स्वास्थ्य चौकीबाट ३०, पोखरा स्वास्थ्य चौकीबाट ५३, रुकुम अस्पतालबाट २४२, रुकुमकोट स्वास्थ्य चौकीबाट ५ र ल्यालपाखा स्वास्थ्य चौकीबाट २७ जना महिलाले सेवा लिएका हुन् ।
यसैगरी भूमे गाउँपालिकामा ११ वटा सुत्केरी सेवा दिने केन्द्र रहेकामा जम्मा २ सय २२ महिलाले सेवा लिएका छन् । तीमध्ये आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु लुगुमबाट ६ र झुम्लाबाङबाट २, धर्मशाला १०,सेराबाङ ९, कोर्जा १७, कुचिबाङ १३, काँक्री स्वास्थ्य चौकीबाट ५४, मोरावाङ स्वास्थ्य चौकीबाट ३०, काडाँ स्वास्थ्य चौकीबाट ३२, महत स्वास्थ्य चौकीबाट १४, चुन्बाङ स्वास्थ्य चौकीबाट ३५ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकृत निमप्रसाद गिरीले जानकारी दिए ।
पुथा उत्तरगंगा गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाबाट १ सय ९४ महिलाले सुत्केरी सेवा लिएका छन् । मुकोट स्वास्थ्य चौकीबाट ३३ जना, हुकामबाट स्वास्थ्य चौकीबाट ३८, तकसेरा स्वास्थ्य चौकीबाट ३७, कोल स्वास्थ्य चौकीबाट १६,जाङ स्वास्थ्य चौकीबाट २६, राङ्सी स्वास्थ्य चौकीबाट २४ जनाले सेवा लिएका छन् ।