२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कमजोर बन्दै नेपाली मुद्रा, डलर बढ्दा मूल्य वृद्धिमा असर

ADV
छबि सापकोटा
२०८१ साउन ६ गते २१:२५
कमजोर बन्दै नेपाली मुद्रा, डलर बढ्दा मूल्य वृद्धिमा असर

काठमाडौं : नेपाली रुपैयाँ इतिहास कै कमजोर बनेको छ । नेपाली बजारमा डलरको मूल्य आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक डलरको खरीद मूल्य १३३.५७ रुपैयाँ र बिक्री मूल्य १३४.१७ रुपियाँ तोकेको छ ।

अमेरिका, लन्डन, क्यानडा, युरोपियन मुलुकहरुका केन्द्रीय बैंकले डलरमा दिने ब्याजदर बढाएको कारण नेपालमा त्यसको असर देखिएको हो । यस्तै नेपाली मुद्रा भारतीय मुद्रासँग पेग रहेको कारण समेत डलरको मूल्य बढ्दा नेपाली रुपैयाँ कमजोर बनेको हो । 

भारतमा डलरको मूल्य घट्दा नेपालमा त्यसको सिधै असर देखिएको हो । अमेरिकी डलरको मूल्य उच्च हुँदा नेपालको अर्थतन्त्रमा सिधै असर गर्ने गर्दछ । नेपाल आयातमा निर्भर भएको कारणले नेपाली रुपैयाँको तुलनामा डलर बलियो बन्दा आयात गर्ने वस्तुको बढी मूल्य लाग्ने हुनाले त्यसको असर अर्थतन्त्रमा देखिन्छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिदका लागि भारतीय आयल कर्पोरेसनसँग डलरमै कारोबार गर्ने भएको पेट्रोलियम पदार्थको मूल्य बढ्ने अवस्था आउने देखिन्छ । यस्तै नेपालमा आयात हुने सामानसँगै उद्योगको कच्चा पदार्थको मूल्य बढ्ने सम्भावना हुन्छ । 

नेपालले अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय व्यापार, व्यवसाय लगायतका वस्तु तथा सेवा खरिद बिक्रीको भुक्तानी र अन्तराष्ट्रिय ऋण समेत डलरबाटै भुक्त्तानी गर्नु पर्ने हुदाँ डलर बढ्दा नेपाल घाटामा जाने गरेको छ । डलरको मूल्य बढ्दा रेमिट्यान्स, विदेशी पर्यटक, निर्यात लगायतका माध्यमबाट हुने आम्दानी हुने भएपनि यसबाट नेपालले धेरै लाभ लिन सक्ने अवस्था अहिले देखिँदैन ।

नेपालको निर्यातको अवस्था राम्रो छैन भने अहिले पर्यटक आगमनको अफ सिजन भएकोले डलर बढ्दा नेपालले लाभ लिन सक्ने अवस्था छैन । अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको कम मुल्य हुँदा  अर्थतन्त्र र चालु आर्थिक वर्षको वृद्धिदरमा असर पर्ने विज्ञ बताउछन् । आयातमा आधारित अर्थतन्त्र भएकाले आयात महँगो हुने र त्यसको असर मुल्यवृद्धिमा असर पर्ने देखिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise