झापाः जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले आजदेखि आयातनिर्यात सुरु भएको छ । आन्दोलनकारीले भन्सार कार्यालयमा गत भदौ २४ गते तोडफोड र आगजनी गरेपछि आयात निर्यातको काम ठप्प भएको थियो ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले नयाँ कम्प्युटर, ल्यापटप र आवश्यक अन्य सरसामान खरिद गरेर आजदेखि सेवा सुरु गरिएको बताए । ‘भौतिक संरचना र सामानहरू जलेर बाँकी केही छैनन्,’ उनले भने, ‘कम्प्युटर, ल्यापटप, फर्निचर नयाँ खरिद गरेका छौँ र केही दाताहरूको सहयोग प्राप्त भएको छ । आयात–निर्यातको काम आजदेखि सुरु गरेका छौँ ।’
मेची उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले भन्सार कार्यालयका प्रमुख हरिहर पौडेललाई आइतबार भेटेर भन्सार सञ्चालनका लागि आग्रह गरेको थियो । वाणिज्य सङ्घले एक विज्ञप्ति जारी गर्दै सबै उद्योगी र व्यवसायीलाई चाडपर्व नजिकिएसँगै पुरानै लयमा फर्किएर व्यवसाय सुरु गर्न समेत अपिल गरेको छ ।
यसैगरी भद्रपुर भन्सार कार्यालयले आइतबारदेखि नै सेवा सञ्चालन गरेको जनाएको छ । जेनजी आन्दोलन हिंसात्मक बन्दा दुवै भन्सारमा लुटपाट, तोडफोड र आगजनी भएका थिए ।