२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम

shivam cement
२०८२ भदौ ३१ गते ११:२६
Shares
धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम

काठमाडौंः धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ साउन मसान्तमा धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । 

२०८१ साउन मसान्तमा बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रहेको थियो । २०८१ को साउन मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ८३.४८ प्रतिशत रहेकोमा २०८२ साउनमा ७६.२४ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्टले देखाएको छ । 

राष्ट्र बैंककाअनुसार २०८२ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७४ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९२ जलविद्युत कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । २०८१ साउनमा सूचीकृत कम्पनीहरूको संख्या २६८ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.१ प्रतिशत रहेको छ ।

यस्तै, २०८१ साउन मसान्तमा ३०००.८१ रहेको नेप्से सूचकाङ्क २०८२ साउन मसान्तमा २७८८.३७ कायम भएको छ । राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ साउन मसान्तमा सूचीकृत ८ अर्व ८८ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ७५ अर्व ३३ करोड रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ५० करोड बराबरको साधारण सेयर, ७१ करोड ८५ लाख बराबरको बोनस सेयर र  २ करोड २५ लाख बरावरको हकप्रद सेयर गरी कुल ८ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ६ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर र ४७ करोड १५ लाख बराबरको साधारण सेयर गरी कुल १० अर्ब ३३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको राष्ट्र बैंकले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर