२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सिद्धबाबा टनेल ३ सय मिटर खनियो, भौतिक प्रगति १५ प्रतिशत

ADV
क्षितिज किरण
२०८१ साउन ७ गते २१:१९
सिद्धबाबा टनेल ३ सय मिटर खनियो, भौतिक प्रगति १५ प्रतिशत

बुटवल : सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ निर्माणको भौतिक प्रगति १५ प्रतिशत नाघेको छ । आयोजनाले सार्वजनिक गरेको पछिल्लो प्रगति प्रतिवेदन अनुसार सिद्धबाबाको मुख्य टनेल ३१६ मिटर खनिएको छ । यहाँ मुख्य टनेलको लम्बाइ ११ सय २६ मिटर रहेको छ । जसमध्ये उत्तरतर्फबाट १४२.५२ मिटर र दक्षिण तर्फबाट १७४.०८ मिटर खन्ने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

यस सुरुङमा कुल तीन वटा बाइपास (खुला स्थान) रहने छन् । जसमध्ये १५१ मिटर लामो बाइपास प्रथम ६८.३ मिटर, १६१ मिटर लामो बाइपास दोस्रो ६४.५ मिटर १३० मिटर लामो बाइपास तेस्रो ६२.४ मिटर खनिएको छ । टनेल लाइनिङको काम भने अझै सुरु गरिएको छैन । टनेलको लम्बाइ बराबर नै लाइनिङको काम समेत गर्नुपर्छ ।

स्लोप प्रोटेक्सनतर्फ दक्षिणी पोर्टलमा २३ सय वर्गमिटर काम गर्नुपर्नेमा १४९५ वर्गमिटरको काम सम्पन्न भइसकेको छ । उत्तरी पोर्टलमा ११ सय वर्गमिटर काम गर्नुपर्नेमा ४९५ वर्गमिटर काम भइसकेको छ । समग्रमा आयोजनाको भौतिक प्रगति १५.२० प्रतिशत पुगेको आयोजनाले जनाएको छ । वित्तीय प्रगति भने २३.८ प्रतिशत पुगेको आयोजनाको विवरणमा उल्लेख छ ।

सिद्धबाबामा सुरुङ खन्ने काम गत ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो । यो परियोजनाको निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी) ले गरिरहेको छ ।

यस आयोजनामा कुल १ किलोमिटर १२६ मिटर लामो सुरुङसहित बुटवल र पाल्पातर्फको ७८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहितको संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ । पोखरासँग जोड्ने सुरुङमार्ग पूरा भएपछि सो क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा लिइएको छ । सिद्धबाबा सुरुङ आयोजनाको ठेक्का प्रक्रिया २०७८ सालमै सम्पन्न भएको हो । सीएससीइसीले इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्ट्रक्सन (इपीसी) मोडलमा सुरुङ मार्गको ठेक्का पाएको हो ।

यो आयोजना ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो । अहिले नारायणगढ–बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्ग बनाउन थालेको हो । यो सडक खण्डको काममा ढिलाइ गर्दा आलोचना बेहोरेको कम्पनीले अबको ४ वर्षभित्र सुरुङ मार्गको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।

सिद्धबाबा सुरुङका लागि १ मंसिर २०७७ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो । ९ जेठ २०७८ मा सडक विभागले ग्लोबल टेन्डर मार्फत ठेक्का आह्वान गरेको थियो । सोही अनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो । यसको निर्माण पश्चात् समेत सोही कम्पनीले ५ वर्षसम्म मर्मतको काम समेत गरिदिनुपर्ने सर्त छ । यो सडकखण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पु¥याएसँगै सरकारले यहाँ सुरुङमार्ग निर्माणको निर्णय गरेको थियो ।

कस्तो बन्दैछ सुरुङ ?

आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ ।

सडकको माथिल्लो भागमा सुरक्षा संरचनाहरू बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगाहरूलाई सिधै तल झार्ने छ । यसरी कुल ३ किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ ।

सुरुङ मार्गको तीन स्थानमा खुला स्थान राखिने भएको छ । आकस्मिक घटना भइहालेमा सोही स्थानबाट उद्धारको काम हुनेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise