दोहा, कतार : तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित महिला विभागले वैशाख पूर्णिमाको अवसरमा आयोजना गरेको दाजुभाइ भेटघाट, तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । तमुहरूको महत्वपूर्ण पर्व वैशाख पूर्णिमाको शुभ अवसरमा आयोजित उक्त कार्यक्रम विभागकी महिला संयोजक शिला गुरुङको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा चेलीबेटीमार्फत समाजका दाजुभाइहरुलाई गलबन्दी ओढाएर सम्मान गरिएको थियो । तमुहरूको संस्कार अनुसार कार्यक्रमका प्रमुख अतिथि भट्टलाई क्रेगी र ह्रंगाद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा मौसमी गुरुङ,सोनिया गुरुङ,र काव्य गुरुङले घाटु नाच नाचेका थिए । समाजका मानार्थ सदस्यहरू दशरथ समाल मगर, अजित लामा र खेलकुद समितिका अध्यक्ष दिनेश गुरुङलाई क्रेगी द्वारा सम्मान गरिएको थियो । कतारमा स्थापित थुप्रै संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिसहित शुभकामना मन्तव्य राखेका थिए ।
कलाकार पवित्रा आचार्य, प्रकाश गुरुङ, रुस्तम तामाङ लगायत समाजको महिला विभागमा आबद्ध रहेका कलाकारहरूले आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रममा समाजकी महिला विभागकी बसु गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् भने समाजकी अध्यक्ष तथा कार्यक्रम संयोजक टौमाया गुरुङले वैशाख पूर्णिमा, चेली माइतीको सम्बन्ध र पितृहरूको सम्झना तथा घाटु नाचको महत्वको बारेमा प्रस्ट पारेकी थिइन् ।
आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले प्रवासमा रहेर पनि आफ्नो कला, संस्कार संस्कृतिको जगेर्ना जनजातिहरूले सदैव गरेको बताए । उनले विदेशमा आफ्नो परम्परालाई जीवित राख्ने समाजप्रति आभार व्यक्त गरे । डिजन गुरुङ र पुष्पा गुरुङले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै कार्यक्रमकी सभापति गुरुङले दाजुभाइले प्रदान गरेको माया, साथ र हौसला प्रति आभार व्यक्त गरिन् । उनले कार्यक्रममा भएका कमीकमजोरीलाई सुधार्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
घाटु नाचको महत्व
विशेषतः गुरुङ र मगर जातीमा प्रचलित नाच हो । श्रीपञ्चमीमा विधिपूर्वक पूजा अर्चना गरी शुरु गरिने घाटु नाच मातातिर्थ औशीदेखि मध्य वैशाखसम्म नाचिन्छ । घाटु एक शास्त्रीय नाच हो । घाटु गुरुङ मगरहरूको लोक संस्कृतिमा आधारित एउटा गीति नाटक तथा प्रसिद्ध लोक नृत्य हो । किंवदन्ती अनुसार १६ औँ शताब्दीतिरका एक दम्पती राजा रानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जङ्गल प्रस्थान, सिकार आदि घटनामा आधारित भएर घाटु नाचिन्छ । घाटुको गीतमा परशुराम राजा र चम्पावती रानीको कथावस्तु रहेको हुन्छ । घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयवस्तु अनुसार आवश्यक सङ्ख्यामा छानिन्छ । उनीहरूलाई घाटु नाच्नुअघि अक्षेताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गंगाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द हुने गर्दछ ।
यसलाई देवी चढेको मानिन्छ । कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धर्ति र आकाशलाई साक्षी राखिन्छ । घाटु नृत्यमा वाद्य र साज श्रृगार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदय विदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुँदा गाउने कलाकार र दर्शक समेत धुरुधुरु रुने गर्दछन् । सती घाटुमा गुरुवाले गीतबाटै मंगलचरण गरी घाटु देवता जगाउने , घाटुली चयन, सिँगार गर्ने, नृत्यकला सिकाउने सती ढलाउने सती जगाउने काम गर्दछन् ।
घाटु नाच दुई प्रकारका रहेका छन् ।
१. सती घाटु
प्रचलित सती घाटु विमेसै नाचिँदैन । सती घाटु वैशाख पूर्णिमामा मात्र नाचिन्छ । वसन्त ऋतुको सुरुवात वसन्त पञ्चमी अर्थात् श्री पञ्चमी देखि विधिवत् घाटुको थालनी हुन्छ । सती घाटु नाच मातातिर्थ औँसी देखि वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती को अघिल्लो दिन देखि मध्य जेठ सम्म नाच्ने गरिन्छ । सती घाटु रितपूर्वक नाचिन्छ । मादल र गीतको तालमा नाचिने यो नाच शास्त्रीय नाच हो । सती घाटुमा नाच्ने कन्याहरूमा देवी चढ्ने भएकाले उनीहरू नाच्ने क्रममा बेहोसीको अवस्थामा हुन्छन् । यो अवस्थालाई कुसुण्डा भनिन्छ । यो क्रममा मादलको ताल बिग्रियो वा गीत बिग्रियो भने नाच्ने कन्याहरू बेहोस भइरहने विश्वास गरिन्छ ।
२. बाह्रमासे घाटु
बाह्रमासे घाटु जहिले पनि नाच्ने गरिन्छ । विशेष गरी मगर अथवा गुरुङ बस्तीमा पाहुना जाँदा, कुनै विशेष मेला उत्सव आदिमा बाह्रमासे घाटु नाचिन्छ । यसका लागि कुनै साइत हेर्न वा विशेष पूजा अर्चना गर्न पर्दैन ।