२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जलवायु परिवर्तनको असर : हिमताल फुटेरै थामेमा बाढी आएको निष्कर्ष

ADV
भावना पाठक
२०८१ भदौ २ गते ०६:४५
जलवायु परिवर्तनको असर : हिमताल फुटेरै थामेमा बाढी आएको निष्कर्ष

काठमाडौं : जलवायु परिवर्तनको असर नेपालको हिमाली क्षेत्रमा देखा पर्न थालेको मौसमविद्हरू बताउँछन् । शुक्रबार सोलुखुम्बुको थामे क्षेत्रमा गएको बाढीको कारण दुई वटा हिमताल फुट्नुले जलवायु परिवर्तनको असरलाई पुष्टि गरेको मौसमविद्हरू बताउँछन् ।

सोलुखुम्बुको दुधकोशीको सहायक खोला थामेमा शुक्रबार दिउँसो बाढी गएको थियो । बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा नं. ५ मा पर्ने पर्यटकीय गाउँ थामे नराम्ररी प्रभावित भएको छ । प्रहरीका अनुसार बाढीले थामेका २० वटा घरहरु, दुई वटा होस्टेल, एक विद्यालय भवन र एक क्लिनिक बगाएको छ । थामेमा बाढी आउनुको कारण हिमताल फुट्नु रहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे बताउँछिन् ।

शनिबार क्षतिग्रस्त थामे क्षेत्रमा रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले हवाई निरीक्षण गरेको थियो । निरीक्षणपछि दुई वटा हिमताल फुटेकाले बाढी आएको पुष्टि भएको हो ।

जोखिममा रहेका भनिएका हिमताल जोगाउन सक्ने सम्भावना कम रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । थामेभन्दा माथिपट्टि पाँच वटा हिमताल रहेका छन् । शुक्रबार दुई वटा विस्फोटपछि बाढी आएको तथा बाँकी तीन वटामध्ये एउटा सुरक्षित रहेको र दुई वटा जोखिममा रहेको बताइएको छ । 

जल तथा मौमस विज्ञान विभागले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमताल विस्फोट भएको बताएको छ । जलवायु जानकार राजन थापाले हिमाली क्षेत्रमा तापक्रम अस्वाभाविकरूपमा बढ्दै जाँदा हिमतालहरू जोखिममा रहेको बताए । थामेमा मात्र नभइ तापक्रम बढ्दै जाँदा सगरमाथा क्षेत्रका अन्य हिमताल पनि जोखिममा पर्ने र हिमालमा हिउँ पग्लिने क्रम बढेको उनी बताउँछन् । यसले हिमाली बस्तीलाई जोखिममा पारेको उनले बताए ।

शुक्रबार बाढी गएपछि खिचिएको सोलुखुम्बुको थामे क्षेत्रको भिडियो सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनको नकारात्मक असर देखा पर्न थालेको बताएका छन् । 

पर्वतीय देशहरूको मानवीय जीवन बहुआयामिक जोखिममा पर्दै गएको उल्लेख गर्द उनले हिमाल पग्लिने क्रम जारी रहेकामा चिन्ता प्रकट गरेका छन् । उनले नेपालजस्ता देशहरूले आफूले नगरेको गल्तीको सजाय भोगिरहेको पनि बताए ।

‘हिमाल पग्लिने क्रम जारी छ, हिमताल फुटिरहेका छन् । बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले तटीय क्षेत्रमा जनधनको ठूलो क्षति भइरहेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘मैले संयुक्त राष्ट्रसंघको महासभादेखि कोप–२८ सम्म जलवायु न्यायको कुरा गरेको थिएँ । नेपालजस्ता देशहरूले हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौँ ।’

थामे माथि हिमताल फुटेर बाढीले ठूलो धनजनको क्षति भएको र तटीय क्षेत्रमा मानवीय जोखिम उत्पन्न गराएको पनि उनले बताएका छन् । 

बाढीका कारण पुलमा क्षति हुँदा तल्लो सोलु र खुम्बुको सिधा सडक सञ्जाल टुटेको छ । साथै बाढी भोटेकोशी हुँदै दुधकोशीमा मिसिँदा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदुधकोशी गाउँपालिकाको सिमानामा पर्ने मितेरी पुलमा पनि क्षति पुगेको जनाइएको छ । बाढीले पक्की मोटरेबल पुलको एकतर्फको भाग कटान भएको छ । जसका कारण सल्लेरीबाट खुम्बु जोड्ने एकमात्र सडक सञ्जाल टुटेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise