अर्घाखाँची : जिल्ला अस्पताल अर्घाखाँचीमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गर्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।
अस्पतालमा उपचारका क्रममा रगत अभावका कारण बिरामीले भोग्नुपरेको समस्यालाई अन्त्य गर्न अस्पताल, नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ब्लड बैंक स्थापना गर्नुपर्ने सुझाव जिल्ला समन्वय समितिका प्रमुख जीवन नारायण कोईरालाले दिएका हुन् ।
सन्धिखर्कमा शुक्रबार सम्पन्न जिल्ला अस्पताल अर्घाखाँचीको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै प्रमुख कोईरालाले भने, ‘रगत अभावका कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने सबैको अपेक्षा हो । ब्लड बैंक स्थापना गर्न जिल्ला समन्वय समितिले आवश्यक सहयोग गर्नेछ ।’
सो अवसरमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले उपचारका क्रममा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्दै मुटु र मिर्गौला रोगका बिरामीका लागि डायलाइसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे । उनले प्रदेश र संघीय सरकारबाट उपकरण अभावकै कारण अस्पतालमा स्थानीय तहहरूले सहयोग गर्नुपर्ने अवस्था आएको बताए ।
अर्घाखाँची अस्पतालका सूचना अधिकारी निम रानाका अनुसार हाल अस्पतालमा सेवा लिन आउने बिरामीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले स्वास्थ्य क्षेत्रमा सुधारका लागि चुनौती र अवसर दुवै रहेको उल्लेख गर्दै ब्लड बैंक स्थापना अर्घाखाँचीवासीका लागि ठूलो राहत हुने बताए। उनले देशका केही ब्लड बैंकले जनअपेक्षा अनुसार सेवा नदिएको गुनासो हुँदै आएको जनाउँदै जिल्ला अस्पतालमै ब्लड बैंक स्थापना अब अनिवार्य भएको बताए ।
अस्पतालका सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारीले रगत संकलन र व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध भएमा विभिन्न संघसंस्था, समूह र व्यक्तिहरूसँग सहकार्य गरी काम अघि बढाइने जानकारी दिए ।
त्यसैगरी, अर्घाखाँची उद्योग वाणिज्य संघ–चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप मिश्रले ब्लड बैंक स्थापनाका लागि आवश्यक उपकरणहरूको व्यवस्थापन गर्न संघ प्रतिबद्ध रहेको बताए । उनले चेम्बरले व्यवसायिक हितसँगै शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा समेत योगदान दिइरहेको बताउँदै रगत व्यवस्थापनजस्तो जीवनरक्षासम्बन्धी कार्यमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
वार्षिक समीक्षा गोष्ठीमा अर्घाखाँची अस्पतालले विगत एक वर्षमा सम्पन्न गरेका गतिविधिहरूको समीक्षा गरिएको थियो । कार्यक्रममा अस्पतालका विभिन्न विभागले गरेका कामको प्रतिवेदन प्रस्तुत गर्दै सेवा विस्तार, सुधार र अत्यावश्यक उपकरण—जस्तै शव राख्ने फ्रिज खरिद—बारे पनि छलफल गरिएको एक अधिकारीले मध्यान्हलाई जानकारी दिए ।