२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

गण्डकीमा लामखुट्टेको बासस्थान नष्ट अभियान

ADV
मध्यान्ह
२०८१ भदौ ५ गते १२:५८
गण्डकीमा लामखुट्टेको बासस्थान नष्ट अभियान

गण्डकीः समुदायमा डेंगु फैलाउने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट बच्न उक्त लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान शुरुवात गरिएको छ । सफा र जमेको पानीमा फुल पार्ने र लार्भा हुर्काउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो ।

कास्कीको पोखरा महानगरपालिकासहित यहाँका स्थानीय तह समुदायमा सरसफाइ सचेतनासहित डेंगु रोकथाममा जुटेका हुन् । पछिल्लो केही सातायता पोखरामा डेंगु सङ्क्रमण तीव्र बनेपछि हरेक शुक्रबार महानगरभित्रका सरकारी कार्यालय र सार्वजनिकस्थलमा उक्त अभियान सञ्चालन गरिएको महानगरको स्वास्थ्य महशाखाका सिअहेब अधिकृत अर्जुन क्षेत्रीले जानकारी दिए । 

महानगरबासीलाई पनि घर वरपर पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिन र त्यस्ता स्थल नष्ट गर्न सूचित गरिएको उनको भनाइ छ । ‘लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै शुरु गरिएको छ’, उनले भने, ‘वर्षा रोकिएको केही दिनपछि डेंगुको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ ।’ डेंगु लागेर गत शनिबार पोखराको एक अस्पतालमा ५२ वर्षीया महिलाको निधन भएको घटनाले सरोकार भएका पक्षलाई डेंगु नियन्त्रणमा थप संवेदनशील बनाएको उनले बताए । 

गत साउन तेस्रो साता एकैदिन पोखरा महानगरभिका ४० जनामा डेंगु सङ्क्रमण पुष्टि भएपछि महानगरले डेंगु रोकथाम र नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । महानगरभित्रका सबै सरकारी कार्यालयले हरेक शुक्रबार बिहान १० देखि १०ः३० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको स्वास्थ्य महाशाखाले जनाएको छ । 

जमेको सफा पानीमा बस्ने र दिउँसोमा मात्र मानिसलाई टोक्ने उक्त लामखुट्टेको टोकाइबाट बच्नु डेंगु नियन्त्रणको उत्तम उपाय भएको सिअहेब अधिकृत क्षेत्रीको भनाइ छ । गत पुसयता पोखरा महानगरभित्र ६ सय ८५ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । 

डेंगुको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार शुरु गर्नुपर्ने उनको भनाइ छ । लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउनुपर्ने उनको सुझाव छ । डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । 

यो रोगको खास औषधी नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको उनको भनाइ छ । ‘समयमा रोकथाम र नियन्त्रण गर्न नसके डेंगु ले जोखिम रुप लिन सक्छ’, उनले भने, ‘पोखरा महानगरभित्रका सघन बस्ती भएका केही वडामा तीव्र रुपमा डेंगुको सङ्क्रमण फैलिएको छ ।’ उनले डेंगुले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने बताए । डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको जनस्वास्थय निरीक्षक रेग्मीले बताए । 

असारदेखि कात्तिकसम्म डेंगु सङ्क्रमण बढी फैलने गरेको उनले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हिमालपारिको जिल्ला मुस्ताङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा डेंगु को सङ्क्रमण पुष्टि भएको छ । तनहुँ देशमै डेंगुबाट सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ । स्वास्थ्य विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनहुँमा डेंगु सङ्क्रमितको संख्या सात सय १५ पुगेको छ । प्रदेशगत रुपमा पनि गण्डकी प्रदेश डेंगु बाट सबैभन्दा बढी प्रभावित देखिएको छ । 

गण्डकीमा हालसम्म एक हजार चार सय ४८ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बागलुङस्थित धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगुसङ्क्रमण हुँदैमा आत्तिहाल्नु चाहिँ नपर्ने बताए । डेंगु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनको भनाइ छ । 

डेंगु भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रसस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताए । गर्भवती र बालबालिकामा डेंगुको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने उनको भनाइ छ । ‘अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेंगु ले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ’, उनले भने ।

ADVADV

सम्बन्धित खबर

Advertise