२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नवौं तामाङ ज्ञान महोत्सव सम्पन्न, भाषा र संस्कृतिको पुनर्जागरणमा जोड

ADV
भावना पाठक
२०८१ भदौ ६ गते १८:४५
नवौं तामाङ ज्ञान महोत्सव सम्पन्न, भाषा र संस्कृतिको पुनर्जागरणमा जोड

काठमाडौं : नवौं तामाङ ज्ञान महोत्सव बिहीबार सम्पन्न भएको छ । तामाङ पहिचान दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा तामाङ समुदायका बौद्धिक एवम् प्राज्ञ व्यक्तिहरूको सहभागितामा ज्ञान महोत्सव सम्पन्न भएको हो ।

तामाङ पहिचान दिवसको अवसरमा हरेक वर्ष भदौ ६ गते तामाङ ज्ञान महोत्सव आयोजना गरिँदै आएको छ । भोटे, मुर्मु जस्ता शब्दले सम्बोधन गर्दै आएको तामाङ जातिलाई १९८९ साल भदौ ६ गते तत्कालीन प्रधानमन्त्री भीमशमशेर राणाले ‘तामाङ’ लेख्न–लेखाउन इस्तिहार जारी गरेको दिनलाई पहिचान दिवसको रूपमा मनाउने गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईको प्रमुख आतिथ्यता तथा तामाङ ज्ञान महोत्सव आयोजक समितिका संयोजक निष्णु थिङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा तामाङ इतिहास, संस्कृति र वर्तमान अवस्थाका बारेमा छलफल गरिएको थियो । 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राईले नेपाल सबै जातिको साझा थलो भएको बताउँदै आदिवासीले प्रादुर्भाव गरेका ज्ञान, सिद्धान्तले नेपाललाई चिनाउन सफल भएको बताए । तामाङले आफ्नो पहिचान पाएको दिनलाई सम्झना गर्दै प्रज्ञामा यो कार्यक्रम गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए ।

तामाङ ज्ञान महोत्सव आयोजक समितिका संयोजक थिङले इतिहासमा तामाङ जातिलाई हेपेर बोल्ने गरेको कुरा मन नपरेपछि आफ्ना पुर्खाले पहिचानका लागि विद्रोह गरेर आजकै दिन ‘तामाङ’ लेख्न पाएको बताउँदै यो दिन आफ्नो समुदायका लागि विशेष भएको बताए । आदिवासीको ज्ञान, सीप, क्षमतालाई राज्यले मास्न खोजेको भन्दै उनले आफ्नो अस्तित्व रक्षाका लागि ज्ञान महोत्सव आयोजना गर्दै आइरहेको बताए । 

त्यसैगरी तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जनले स्वागत मन्तव्य राख्दै तामाङ भाषा संस्कृतिलाई अक्षरमा मात्र खोज्न थालिएकाले सांस्कृतिक अस्तित्व खतरामा पर्न लागेको बताए । तामाङ भाषालाई मूलधारको भाषाभन्दा जहिले तल राखेर हेरिएको, कुनै स्कुल तथा कलेजमा तामाङका बारेमा कुरा नगरिएकाले अहिले अक्षरमा संस्कृति नभेटिने भन्दै उनले अब भाषा संकृतिको पुनर्जागरण गर्नुपर्ने बताए । 

मगर प्राज्ञिक परिषद्का सदस्य सचिव डा विष्णु कुमार सिंजाली मगरले आदिवासीको संस्कृति कमजोर नभएपनि राज्यले यसलाई कमजोर बनाउन खोजेको विषय उठाउँदै अस्तित्व खोजीको नयाँ युग शुरु गर्नुपर्ने बताए । कार्यक्रममा बोल्ने क्रममा ताम्सालिङ संयुक्त संघर्ष समितिका प्रवक्ता जय गोलेले राज्यले नै आदिवासीको भाषा संस्कृति बचाउन पहल गर्नुपर्ने भनाइ राखे । 

त्यसैगरी नेपाल तामाङ धेदुङका महासचिव जगत दोङले लामो समयको संघर्षपछि बागमती प्रदेशमा तामाङ भाषालाई समावेश गरिएको भन्दै यसरी नै भाषा विस्तार र संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । तामाङ अन्तर्राष्ट्रिय परिषद्का महासचिव टासी लामाले अहिले पनि विश्वभर छरिएर रहेका तामाङहरुले आफ्नो थर यही हो भनेर लेख्नलाई ज्ञात नभएको बताउँदै उनले यो विषयमा सबै तामाङ समुदायले गम्भीररुपमा लिनुपर्ने बताए । तामाङ समुदायको ज्ञानले तामाङलाई मात्र नभइ सिंगो देश र मानव जातिलाई संस्कृति सिकाएको भन्दै उनले यसको जगेर्नामा लाग्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा अजितमान तामाङले विद्धत प्रवचन दिएका थिए । तामाङ संकृति, भाषा, कला र इतिहासका बारेमा उनले प्रवचनबाट सबैलाई आफ्नो अस्तित्व र यसको रक्षा कसरी गर्न सकिन्छ भन्नेबारे विस्तृतमा जानकारी गराएका थिए । 

कार्यक्रममा तामाङ भाषाका भेद र सरकारी कामकाजमा प्रयोग भन्ने प्रस्तुति सत्रमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा तारामणि राईले ‘तामाङ भाषाका भौगोलिक भाषिक भेद’, भाषा आयोगका सचिव डा. लोक बहादुर लोप्चनले ‘बागमती प्रदेशमा तामाङ भाषा सकारी कामकाजको भाषा कार्यान्वयन के हुँदैछ ?’, तामाङ अध्ययन प्रतिष्ठानकी अनुसन्धानकर्ता संजिला मोक्तानले ‘डाब्जोङमा भाषा पाठशालाको स्थापना र तामाङ पहुँच (वि स १९६८–२०१८)’, अधिवक्ता रवीन्द्र थिङले ‘राजनीति, न्याय प्रणाली र तामाङ समुदाय’ तथा नेपाल तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जनले ‘तामाङ डाजाङको संक्षिप्त इतिहास’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

त्यसैगरी ‘वोन परम्परा र द्वन्द्व व्यपस्थापन’ विषयमा भएको अन्तरक्रियामा भाग लिँदै निमा तामाङले ‘तामाङ समाजमा वोन परम्परा’, निष्णु थिङले ‘तामाङ समाजमा द्वन्द्व व्यवस्थापन’, त्रिविका उपप्राध्यापक चतुर्भुज केवरतले ‘आत्मकथा सिद्धान्तको आलोकमा अमृत योञ्जन तामाङको तिलपुंगे ठिटोको अध्ययन’, अनुसन्धानकर्मी उदय थिङले ‘सञ्चार क्षेत्रमा तामाङ समुदायको गलत प्रयोग र त्यसले तामाङको  पहिचान निर्माणमा परेका असरहरू : पहिचानको पुनार्दावी’ शीर्षकमा आ–आफ्ना भनाइ राखेका थिए । 

कार्यकमको बृहत् प्यानल छलफलमा ‘किन तामाङ आन्दोलन उठ्न सकेन ?’ शीर्षकमा पनि छलफल भएको थियो । छलफलमा राजु स्याङतानले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । डा. गणेश योञ्जन, सुनी लामा, निष्णु थिङ र राजेन्द्र महर्जनले उक्त छलफलमा भाग लिएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise