२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

मुगु साक्षर जिल्ला घोषणा

ADV
प्रेमराज कार्की
२०८१ असोज ७ गते १८:३१
मुगु साक्षर जिल्ला घोषणा

मुगु : हिमाली जिल्ला मुगु ६५औं जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मुगु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । मुगु जिल्लामा १ नगरपालिका र ३ गाउँपालिका गरी ४ स्थानीय तह छन् । सबै स्थानीय तह यसअघि साक्षर घोषणा भएसँगै सोमबार मुगु जिल्लालाई देशकै ६५औ जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा गरिएको हो ।

छायाँनाथ रारा नगरपालिकामा ९६.२५ प्रतिशत, सोरुमा गाउँपालिकामा ९६.५ प्रतिशत, मुगुमकारमारोङ गाउँपालिकामा ९५ प्रतिशत र खत्याड गाउँपालिकामा ९६ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ । साक्षर हुन तोकिएका सूचकहरु पूरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो ।

No description available.

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्की, छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामलगायत पालिका प्रमुखहरुले सामूहिक प्रतिबद्धतासहितको हस्ताक्षर व्यानरमा हस्ताक्षर गदै मुगु जिल्लालाई  साक्षर घोषणा गरेका हुन् ।

तोकिएका १२ सूचकहरुमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार छायाँनाथ रारा नगरपालिकालाई गत असोज २ गते खत्याड गाउँपालिका र मुगुमकामारोङ गाउँपालिकालाई असोज ४ गते र सोरु गाउँपालिकालाई असोज ५ गते साक्षर पालिका घोषणा गरिएको थियो ।

नेपालको जनगणना २०७८ अनुसार मुगुमा कूल जनसंख्या ६४ हजार ५ सय ४९ रहेको छ जनसंख्या रहेको छ । जसमा मुगुमा ९५ प्रतिशत नागरिक साक्षर रहेको जनाइएको छ  ।

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावनाहरु व्यक्त गर्न सक्ने जस्ता १२ सूचकहरु पूरा भएपछि पालिका तथा जिल्लालाई साक्षर घोषणा गर्ने नीतिअनुरुप मुगु जिल्लाको साक्षरता सूचक ५० प्रतिशत भन्दा माथि पूरा भएकाले साक्षर जिल्ला घोषण गरिएको जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन बहादुर कार्कीले बताए ।

No description available.

नेपाल शिक्षक महासंघ मुगुकी अध्यक्ष विष्णुमाया भामले मुगु जिल्ला साक्षर घोषणा भएकोप्रति खुसी व्यक्त गर्दै भनिन्, 'हिजो गाउँ घरमा प्रदेशबाट आफन्तहरुले पठाएको चिठी पढ्नका लागि गाउँमा पढेको मान्छे खोज्दै हिँडनुपर्ने अवस्था थियो । तर अहिले त्यो अवस्था छैन, महिला दिदीबहीनिहरु कोही साक्षर थिएनन, कतै बजारतिर जाँदा सामानहरुको मूल्यअनुसार नगद दिन सक्ने पनि थिएनन्, आज सबै जान्न सक्ने भएका छन् ।'

कार्यक्रममा नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले साक्षर जिल्ला घोषणा गरिएपनि स्थानिय सरकारहरुले १२ सूचकमध्ये ६ सूचक पूरा गरेको र बाँकी रहेका ६ वटा सूचक पनि पूरा गर्न आफ्ना आगामी कार्यक्रम, योजना बनाउँदा ध्यान दिन सुझाव दिए ।

नागरिक अगुवा रुप बहादुर मल्लले साक्षर घोषणामा मात्र सीमित नराखेर अबदेखि आफ्ना व्यवहार,आचरण र क्रियाकलापमा पनि साक्षरताको रुप देखाउनुपर्ने बताए ।

सोरु गाउपालिकाका अध्यक्ष धर्म बहादुर शाहिले कार्यक्रममा उपस्थित सामाजिक विकास मन्त्री घनश्याम भण्डारीमार्फत सामुदायिक स्वास्थ्य इकाइहरु प्रदेश सरकारले गाउँ गाउँमा खोलेपनि बजेट नदिँदा चलाउन समस्या भएकाले बजेटको व्यवस्था गर्न नभए खारेज गरिदिन कर्णाली प्रदेश सरकारलाई आग्रह गरे ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामले छायाँनाथ रारा नगरपालिका जिल्लाकै पहिलो साक्षर पालिका बनाउन सफल भएको बताए । उनले छायाँनाथ रारा नगरपालिकामा ५ वटा सामाुदायिक सिकाइ केन्द्र स्थापाना भएको र त्यसैअनुरुप अध्ययनका क्रियाकलाप अगाडि बढाइ छायाँनाथ रारा नगरपालिकाकालाई शतप्रतिशत साक्षर बनाउने योजना रहेको बताए । उनले संघीयताबारे तथ्य बाहिर गएर अफवाह फैलाइएको बताए । वास्तवमा देश संघीयतामा गएदेखि गाउँ गाउँमा विकासको लहर छाएको उनको भनाइ थियो ।

No description available.

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दुर्गम जिल्लाको स्वास्थ्य, शिक्षाका विभिन्न क्षेत्रको गुणात्मक सुधारका लागि आफूले कर्णाली प्रदेश सरकारमा उपलब्धिमूलक कार्यमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन् भने अझै १२ जिल्ला साक्षर जिल्ला घोषणा हुन बाँकी छन् । 

कार्यक्रममा स्थानीय देउडा, हुड्के नाचसहित विभिन्न विद्यालयहरुले सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise