२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

ओत संरक्षण अभियानमा जुटेका युवाहरूको क्षमता अभिवृद्धिका लागि कार्यशाला

ADV
सन्तोष पौडेल
२०८१ असोज १० गते १२:५१
ओत संरक्षण अभियानमा जुटेका युवाहरूको क्षमता अभिवृद्धिका लागि कार्यशाला

बर्दिया : ओत संरक्षण अभियानमा जुटेका युवाहरूको क्षमता अभिवृद्धिका लागि २ दिने कार्यशाला बर्दियाको राजापुरमा सम्पन्न भएको छ ।

'ओत संरक्षणका लागि नदीमा आश्रित समुदायको जीविकोपार्जन तथा सबलीकरण' परियोजनाअन्तर्गत डल्फिन संरक्षण केन्द्र भजनी कैलालीको आयोजनामा कार्यशाला सम्पन्न भएको हो ।

परियोजनाको समग्र दृष्टिकोण तथा ओत संरक्षणमा लागेका युवाहरूको भूमिकाबारे छलफल गर्दै स्थानीय परिवेशअनुरूप ओत संरक्षण अभियानका लागि योजना निर्माण गर्ने र युवाहरूको नेतृत्वमा सञ्चालन गरिने अभियानको निम्ति उनीहरूको क्षमता अभिवृद्धि गर्न कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालामा ओतको वासस्थान, आहारा, व्यवहार र कर्णाली नदीमा माछा संरक्षण गर्ने विधि एवम् ओतको महत्व, अवस्था, चुनौती र चुनौती समाधान तथा व्यवस्थापनका सम्बन्धमा छलफल गरिएको थियो । त्यस्तै कार्यशालामा जलचर संरक्षण ऐन २०१७ र एक्वाटिक्स (अनुबंध) नियम, २०१९ लगायत नदीमा हुने अवैध गतिविधिहरूका बारेमा सहजीकरण गरिएको थियो । 

कार्यशालाको सहजीकरण विश्व वन्यजन्तु कोष नेपालका वरिष्ठ संरक्षण शिक्षा अधिकृत साम्भवी पौडेल, साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका कार्यकारी निर्देशक सन्जन थापा र पशुसेवा तालिम केन्द्र धनगढीका मत्स्य विकास अधिकृत डा. सुर्यबहादुर शाहीले गरेका थिए ।

कार्यशालामा परियोजनाअन्तर्गत साझेदार संस्थाहरूले गतवर्ष सम्पन्न गरेका क्रियाकलाप र त्यसका उपलब्धिहरूका बारेमा समेत जानकारी गराइएको थियो ।

बिहीबार सम्पन्न कार्यशालामा बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिका तथा कैलालीको टीकापुर, लम्कीचुहा, भजनी नगरपालिका र जानकी गाउँपालिकाका कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा पर्ने समुदायका १५ वटा समूहका ४४ जना महिला तथा पुरुष युवाहरूको सहभागिता थियो ।

बेलायत सरकारअन्तर्गत डार्बिन इनिसिएटिभको सहयोगमा विश्व वन्यजन्तु कोष नेपाल डल्फिन संरक्षण केन्द्र भजनी कैलाली, मुक्त कमैया विकास मञ्च कैलाली, सोनाह विकास समाज बर्दिया र साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेसन काठमाडौंको साझेदारीमा २०२३ देखि कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा 'ओत संरक्षणका लागि नदीमा आश्रित समुदायको जीविकोपार्जन तथा सबलीकरण' परियोजना सञ्चालित छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise