२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

भारी वर्षा र बाढी–पहिरोले १७ अर्ब बढीको क्षति

ADV
छबि सापकोटा
२०८१ असोज १५ गते २१:४१
भारी वर्षा र बाढी–पहिरोले १७ अर्ब बढीको क्षति

काठमाडौं : देशका अधिकांश स्थानमा परेको अविरल वर्र्षासँगै आएको बाढी र पहिरोबाट देशैभरी १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गएिको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै असोज १० गतेदेखि भारी वर्षासँगै आएको बाढी–पहिरोले ठूलो जनधनको क्षति भएको जनाएका हुन् । दुई दिनको वर्षाबाट २ सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता र १५८ जना घाइते भएका छन् । सरकारले वर्षा तथा बाढीको कारण उच्च जोखिममा रहेका ४ हजार ३ सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको समेत सरकारले जनाएको छ । 

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको भौतिक क्षतिको प्रारम्भिक तथ्यांकअनुसार बाढी, पहिरो र डुबानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड बराबरको क्षति भएको छ । त्यस्तै, उर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ २ अर्ब र कृषि तथा पशुपंक्षीतर्फ ६ अर्बको क्षति भएको सरकारले जनाएको छ । 

भारी वर्षाको कारण देशभरका ३७ वटा राजमार्ग अवरुद्ध भएको थियो भने मंगलबारसम्म ९ वटा राजमार्गमा अवरोध हटाइ सञ्चालन भएको प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको विवरणमा उल्लेख छ । यस्तै, जलविद्युत तर्फ सञ्चालनमा रहेका मध्ये कूल ६६८ मेगावाट जडित विद्युत क्षमताको १६ वटा जलविद्युत आयोजना, ११३९ मेगावाट विद्युत क्षमताको १८ वटा निर्माणाधीन जलविद्युत आयोजना र ५ वटा प्रमुख प्रसारण टावरहरुमा क्षति भएको छ । विवरणअनुसार नेपाल दुरसञ्चार कम्पनीको ३१२ साइटमा समेत क्षति भएको छ । अविरल वर्षाले बाढी, पहिरो र डुबानका कारण बाली, पशुपन्छी क्षेत्रमा ठूलो क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर, काभ्रे लगायतको क्षेत्रमा ५८ हजार ४ सय ७६ हेक्टर धानबाली नष्ट हुँदा ३ अर्ब ५० करोड बरावरको क्षति भएको छ । यस्तै, खोटाङमा १३ सय हेक्टर अलैँची नष्ट हुँदा ७० करोड रुपैयाँ बराबरको क्षति भएको छ । पर्साको ८५ हेक्टर क्षेत्रफलको ३४ करोड रुपैयाँ बराबरको उखु क्षति भएको छ । यस्तै, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साका ४ सय ५८ हेक्टर माछापोखरीमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढी पहिरोमा परी २६ हजार २सय ५ पशुपन्छी मृत्यु भएको छ । कास्की, नवलपरासी पूर्व, कञ्चनपुर रौतहट जिल्लाको २२ हेक्टर फलफुल बगैँचामा क्षति भएको छ । 

यस्तै, खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिराहा, धनुषा, बारा, पर्साको ४ हजार ७४३ हेक्टर तरकारी बालीमा नष्ट भएको मन्त्रालयको तथ्यांक छ । सरकारले वर्षाका कारण बाली, पशुपन्छी तया मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषि सम्बन्धी पूर्वाधार, आपूर्ति श्रृंखला लगायतका क्षेत्रमा परेको क्षतिको तत्काल मूल्यांकन गरी छिटो राहत दिनका लागि मातहतका निकायलाई निर्देशन दिएको छ । प्रदेश अन्तर्गत कृषि तथा पशुपन्छी मन्त्रालयअनुसार कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा बढी क्षति भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise