-अभिषेक घिमिरे
एउटा रमाइलो प्रसंग छ । एक पटक एक जना व्यक्तिलाई एक हप्ताभित्र जसरी पनि पौडी खेल्न सिक्नु पर्ने भएछ । उसले पुस्तक पसलमा गएर पौडी कसरी खेल्ने भन्ने विषयमा भेटे जति सबै पुस्तक किनेर ल्यायो । आफू बस्ने कोठाको ढोकामा ‘म पढ्दै छु, कृपया शान्त रहनु होला’ भनेर लेख्यो । त्यसपछि चुकुल लगाएर पुस्तक रटान लगाउन थाल्यो । एक हप्ता सम्म दिन रात पुस्तक घोके पछि उसलाई कुनै पनि पाठको कुनै पनि पानाको प्रश्नको जवाफ पनि फ्याट्ट आउन सक्ने भयो । बडो उत्साहित भएर नदीमा गएको त्यो युवकले पौडी खेल्न सक्यो होला त ?
हाम्रो शिक्षाको समस्या पनि यहीं नेर छ । हामीले विद्यार्थीलाई पुस्तक रटान मार्न मात्र प्रेरित गरेका छौं । त्यसको व्यवहारिक तथा प्रयोगात्मक पाटोलाई नजरअन्दाज गरेका छौं । रटान मारेको विद्यार्थीलाई प्रश्नको उत्तर लेख्न लगाउँदा राम्रो अंक ल्याएर परीक्षा उत्तीर्ण हुन सक्छ, तर जीवनमा फेल हुन्छ । उच्च शिक्षा हाँसिल गरेर पनि बेरोजगार बनेका लाखौँ युवा अहिले पनि भविष्य खोज्दै विदेशिनुले पनि यो यथार्थलाई चित्रित गर्दछ ।
सिन्धुपाल्चोक जिल्लाको तातोपानी जानु पर्ने भयो । जुरे पहिरो र भूकम्पको कारण हाम्रो गाडी खाडीचौर भन्दा पर लैजान नमिले पछि खाडीचौरकै सदाबहार स्कुलको प्रिन्सिपलले त्यहींको स्थानीय स्कार्पियो व्यवस्था गर्नु भएको रहेछ । उहाँहरूसँगै जाँदै गर्दा, हेर्दा र कुरा सुन्दा फुर्तिला देखिने आफैं गाडी चलाइरहेका गाडी धनी संग कुरा हुन थाल्यो ।
छोटो समयमै उनी सिन्धुपाल्चोककै सफल ब्यापारी भएका रहेछन । केही जीप, टिपर, रिसोर्ट लगायत संचालन गरेर बसेका रहेछन । तर कक्षा चार भन्दा पढ्न सकेनछन । हामीले पढाइ छोड्नुको कारण सोध्यौं । तर, उनको जवाफले चकित बनायो । गणितमा शून्य अंक आए पछि शिक्षकलाई नै पिटेर त्यसपछि कहिल्यै स्कुल गएका रहेनछन् । शिक्षकलाई पिट्ने कुराको मेरो कहिले पनि समर्थन रहँदैन तर शिक्षकलाई हेर्ने विद्यार्थी र आम मानिसको नजर किन सम्मानजनक हुन सकेन भने प्रश्नको उत्तर खोज्न त्यो घटनाले मलाई प्रेरित गर्यो ।
त्यो दिन मलाई लाग्यो, गणित जस्तो व्यवहारिक र जीवनसँगका प्रत्येक पल जोडिने विषयमा विद्यार्थी किन फेल हुन्छन ? मुटुको धड्कनदेखि हामीले फेर्ने सास पनि गणितीय मापनमा चल्छ । जन्मिएदेखि बाचुन्जेलसम्म मानिसको हरेक गतिविधि गणितबिना सम्भव छैन । कहाँनेर चुक्यौं हामी ? गणित, विज्ञान जस्ता विषयलाई जीवनसंग किन जोड्न सकेनौ ? दोस्रो कुरा, गणित विषयमा शून्य अंक ल्याउने विद्यार्थी फेरि कसरी सफल ब्यापारी बन्न सफल बन्यो ? गहिराइमा पुगेर यसको उत्तर खोज्न जरुरी छ ।
स्कुल र शिक्षकको नाम लिन आवश्यक देखिन, तर पश्चीम नेपालमा एकजना गणित शिक्षकले कक्षा पाँचमा पढ्ने विद्यार्थीलाई कापीमा कोण खिच्न नजानेको भनेर धारिलो कम्पासले टाउकोमा रगताम्मे हुने गरी घोचिदिए । ज्यामितीय कोण बनाउनु वा बुझाउनु त्यति जटील विषय त होइन । त्यही कक्षाको ढोका उघार्दा र लगाउँदा पनि कोण बन्छ भनेर देखाएको भए त्यो दुर्घटना हुने थिएन । पुस्तकको पाना नै पल्टाउन लगाएर देखाएको भए पनि विद्यार्थीले कोणको अर्थ बुझ्न सक्थ्यो ।
म आफैं स्कुलमा पढ्दा गणित मन पर्दैन थियो । हरेक शीर्षकको प्रयोग कहाँ हुन्छ होला भनेर शिक्षकलाई सोध्दा गाली गर्नु हुन्थ्यो । फलस्वरुप, गणितसंग खासै दोस्ती जम्न सकेन ।
एउटा प्रसङ्ग छः धेरैओटा सिकारी कुकुर पालेका एक जना कुकुर धनीलाई आफ्ना कुकुरलाई चितुवासंग दौडाउन मन लागेछ । आफ्ना कुकुर तेज गतिमा दौडने र सबै भन्दा तेज जनावर चितुवालाई पनि सजिलै हराइदिने जीकिर गर्दै छिमेकीलाई पनि अवलोकन गर्न बोलाएछ । साथै, आफ्ना कुकुरसंग भिडाउन चिडियाखानाबाट चितुवा मगाएछ ।
तर, जब दौडिने समय आयो, तब चितुवा चुपचाप बसेर तँछाड मछाड गर्दै दैडिएका कुकुरलाई हेर्न थाल्यो । सबै छक्क परे । तर, चितुवालाई आफ्नो क्षमता थाह थियो । कुकुरसँग दौडिएर ऊ आफैंलाई अपमान गर्न चाहँदैन थियो ।
आज धेरै चितुवालाई कुकुरसंग भिडाएर उसको वास्तविक क्षमताको उपहास गरिंदैछ । आइन्स्टाइनले भनेका छन् ’सबैको आफ्नै क्षमता हुन्छ । तर यदि माछालाई रुख चढ्ने क्षमतासँग तुलना गरियो भने माछाले आफूले पौडन सक्ने विशिष्ट क्षमतालाई नजरअन्दाज गर्दै जिन्दगीभर आफूलाई मूर्ख ठान्ने छ ।’
सबैको आफ्नै क्षमता र विशेषता हुन्छ । तर, तुलना नै गर्न नसकिने क्षमतालाई एक आपसमा भिडाउने परीक्षा प्रणालीले विद्यार्थीको वास्तविक क्षमताको मापन गर्न सक्दैन ।
विल गेट्सले उच्च शिक्षा लिन सकेनन् । मार्क जुकरबर्गले पनि उच्च शिक्षालाई ध्यान दिएनन् । परम्परागत पाठ्यक्रमको पढाइमा औसत उनीहरू परीक्षाले मापन गर्न सक्ने सीमाभन्दा बढी क्षमतावान थिए । यही कारण आफूलाई काबील भएको साबित गर्न परीक्षाको कसीमा आफूलाई हाल्न चाहेनन् । महात्मा गान्धीलाई परीक्षाको कडीमा राखेर पटक पटक तेस्रो दर्जाको विद्यार्थी साबित गरियो । तर, वास्तविक जीवनमा गान्धीको क्षमतालाई अरुसंग मूल्यांकन गर्ने दुस्साहस कसैले गर्न सक्दैन आज ।
केही महिना अगाडि एक जना डाक्टरले भने जति दाइजो नल्याएका कारण आफ्नी श्रीमतीको पिटेर हत्या गरे । हस्पिटलबाट उपचार गरेर ट्याक्सीमा फर्किंदै गरेको एक जना बिरामीलाई एक्कास्सी हृदयघात भए पछि ट्याक्सी ड्राइभरले बाटोमै छोडेर भाग्दा बिरामीको मृत्यु भयो ।
प्रहरी, वकिल, शिक्षक जस्ता पढेलेखेकाहरूबाट नै यौन हिंसा, घरेलु हिँसा लगायत हुने गरेका घटना बारम्बार बाहिरिन्छन् । उपल्लो दर्जामा पुगेका राष्ट्रसेवक कर्मचारी भ्रष्टाचारमा लिप्त छन् । नीतिगत भ्रष्टाचारमा पढेलेखेकाहरू नै मुछिने गरेका छन् । नियम कानून तोड्ने, छलकपट गर्ने, झुक्क्याउने लगायत गतिविधि बढी मात्रामा पढेलेखेकाहरू बाटै हुने गरेको प्रष्ट देखिन्छ ।
आचरण मात्र नभएर आफ्नो मौलिकताको रक्षा, धर्मसंस्कृतिको सम्मान, सामाजिक मूल्य मान्यताको संरक्षण, चाडपर्व तथा संस्कृतिको सम्बर्धन जस्ता विषयमा शिक्षित व्यक्ति नै बाधक बनेका छन् ।
यसको तुलनामा अशिक्षितहरू केही अपबादबाहेक अलि बढि इमान्दार देखिएका छन् । किन यस्तो भयो ? शिक्षित व्यक्ति अझ बढी इमान्दार, अझ बढी जवाफदेही र जिम्मेवार हुनुपर्ने हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies