-गणेश पौडेल
मोबाइलले म्यासेन्जरमा एउटा म्यासेज आएको संकेत गर्यो । अहो कसले के भनेर पठायो होला ! मलाई कौतुहलता जागिहाल्यो । हतारहतार म्यासेन्जर खोलेँ र हेरेँ ।
‘ओइ गणेश, खाना खान जाने होइन ?’’ सँगै सिरान जोडिएको रूम पार्टनरले पठाएको रहेछ ।
‘ओके । जाऊँ हिँड ।’ मैले दायाँबायाँ केही नसोची टेक्स्टको रिप्लाई टेक्स्टमै गरेँ ।
हामी आआफ्नो बेडबाट उठ्यौं र किचनतिर लाग्यौं । हामीले साथमा मोबाइल लान भुलेनौं ।
हामीले सँगै बसेर खाना खायौँ । तर आपसमा एक शब्द पनि बोलेनौं । हातमा स्मार्टफोन र फोनमा वाईफाई कनेक्ट भएपछि सबै कुरा भुलिहालिन्छ । अलिनो, चर्को, पिरो, गिलो, चाम्रो, बासी, साजी खै कस्तो थियो कुन्नि खानाको स्वाद ! पत्तै भएन । न स्वादकै चर्चा भयो न त खाना कसले पकाएको थियो भन्ने नै कुरा भयो !
खानापश्चात् पूर्ववत् चुपचाप बेडमा आयौं र आफ्नै सुसे धन्दामा अलमलियौं ।
यो सातौं वर्ष हो मेरो परदेश बसाइको । म निरन्तर एउटै कारखानामा छु । त्यसैले कारखानामा धेरै विदेशी साथीहरू हेरफेर भएको मलाई याद छ । यतिखेर हामी १४ जना नेपाली कार्यरत छौं । हामी सबैजना सँगै बस्छौं । हप्ताको पाँच दिन काम र बाँकी दुई दिन छुट्टी ।
कारखानामा काम भएको दिन बिहान ७ बजे उठ्यो, सामाजिक सञ्जालको नोटिफिकेसन टुल्स चेक गर्दै सौच ग¥यो, हातमुख धोयो, केही फलफूल खान मन लागे खायो, एकैछिन फेसबुक ट्विटरको टाइमलाइन चहा¥यो र ८ः३० हुनुभन्दा पहिल्यै काममा हाजिर भयो !
दिउँसो १२ बजे कारखानाकै क्यान्टिनमा खाना खाएपछि करिब एक बजेसम्म फेसबुक, भाइबर, म्यासेन्जर, ट्विटर, ह्वाट्सएप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको टाइमलाइन चहा¥यो । एक बजेपछि ५ः३० सम्म फेरि काम ग¥यो । साढे पाँच खाना खाने समय हो । त्यसका लागि छुट्याइएको ३० मिनेटमध्ये हतारहतार १० मिनेटमा खानामा र बाँकी २० मिनेट सामाजिक सञ्जालमै भुल्यो ।
बेलुका छ बजेपछि नौ बजेसम्म फेरि काम गर्नुपर्छ । नौ बजे काम सकेर हतारहतार होस्टलमा आयो, नुहाइधुवाइ गर्यो, खान मन लागे यसो चाउचाउमा तातोपानी हाल्यो र खायो । नत्र, सीधै बेडमा बसेर सुरू गर्यो फेसबुक, ट्विटर यात्रा !
बेड माथि बेड, एउटै रूममा ६–७ बेड छन् । यसरी भनौं, हामी ६–७ जना एउटै कोठामा बस्छौं । तर हाम्रो बोलचाल, अहँ हुँदैन ! कसरी होस् र हामीलाई मोबाइल खेलाउने भन्दा अरू फुर्सद नै छैन । कुन सिरियलमा के भयो ? कसले कुन गेममा कति लेबल कटायो ? पबजीमा चिकेन डिनर खाने पालो कसको ? कसले कुन स्टाटसमा के भनेर कमेन्ट गर्यो ? कमेन्टमा के रियाक्ट गर्ने ? कसको के भनेर मेन्सन र्गयो ? रिप्लाइ गर्ने कि नगर्ने ? कसले कुन पिकमा के रियाक्ट गर्यो ?
कुन केटीको डिपी राम्रो छ ? कुन गु्रपमा के स्टाटस पोस्ट गर्ने ? के ट्विट गर्ने ? कति आरटी आए ? टिकटक, म्युजिक्लीमा कसले कस्तो भिडियो हाल्यो ? अथवा आफूले कस्तो भिडियो हाल्ने ? स्न्याप च्याटमा कसले हाई भन्यो ? फलानीले डीएम गरिछे के रिप्लाइ गर्ने ? इन्स्टाग्राममा कुन फोटो पोस्ट गर्ने ? स्मुलमा कुन गीत गाउने ? कुन समूहले कस्तो ट्रोल बनायो ? युट्युबमा के नयाँ आयो ?
कमेडी भिडियोहरू पनि हेर्नैपर्यो, साथीहरू के खाएँ भन्ने धरी लाइभ गर्छन् ! हिजो हेर्दाहेर्दै छुटेको मुभी पूरा गर्न पनि बाँकी नै हुन्छ— त्यता पनि समय दिनुपर्यो । चाडबाड आउँदा नयाँनयाँ फोटाहरूको बाढी चल्छ । विदेशमा चाडबाड आउने भनेकै सामाजिक सञ्जालमा हो । हेर्नैपर्यो । लाइक गर्नैपर्यो । वा भन्नैपर्यो । नढाँटी भनौं— पानी पिउने, सुसु गर्ने फुर्सद पनि नपाउँदै कत्तिखेर रातको १२ बज्छ थाहा नै हुँदैन । १२ बजे त सुत्नैपर्यो ।
हप्तामा काम गर्नुपर्ने पाँच दिन त होस्टलका साथीहरूसँग लगभग मेरो बोलचालै हुँदैन । कसैले बोलाइ हाले पनि जवाफ दिन हम्मे पर्छ । ‘ह्याँ आफूलाई हग्ने फुर्सद छैन नानाथरी सोधेर ल्याङ गर्छन् मुलाहरू’ भनौं झैं लाग्छ । बाँकी रह्यो शनिबार र आइतबार । यी दुई दिन पनि सामाजिक सञ्जाललाई नै सुम्पने गरेको छु ।
कहिलेकाहीँ त महिना दिनसम्म घरमा फोन गर्न पनि बिर्सिंइदो रहेछ । घरबाटै फोन गरेर सम्झाउनुपर्छ । फेरि हाम्रोमा सजिलो के छ भने, हरेक कुरामा कामको बाँडफाँट छ । ड्युटीको दिन खाना पकाउनु नपरे पनि छुट्टीको दिन कारखानाले खाना दिँदैन । पकाउनैपर्यो । खाना पकाउनलाई क्रम संख्या छ एकदेखि १४ सम्म । आफ्नो नम्बर याद गरेर मोबाइलमा रिमाइन्डर राखेपछि पुगिहाल्यो ।
ट्वाइलेट–बाथरूम सफा गर्ने नम्बर छ । आफ्नो याद ग¥यो पुगिहाल्यो । बाँकी कसैलाई पिउन मन लागे नजिकै पसल छ । आफ्नो सुरले त्यहीँ गयो मन लागेको खायो, पियो । अथवा पसलेको नम्बरमा एक कल ग¥यो सामान कोठामै आइपुगिहाल्छ । रूममै पनि खान मन लागे आफ्नो सुरले पकायो खायो । सपिङ गर्नेहरूले महिनाभर अनलाइनबाटै गर्छन् र महिना मरेपछि हिसाब भाइबरमा पठाइदिन्छन् । पैसा तिर्नका लागि खाता भएको बैंकको स्मार्ट बैंकिङ छँदैछ । खातामा पैसा पठाइदियो कुरै खत्तम ।
छुट्टीका दुई दिन पनि लगभग मौनतामै बित्छ । बोल्नै परे पनि म्यासेन्जर भाइबर छँदैछन् मुखलाई बित्थामा किन दुःख दिने !
च्याटबक्समा पनि केटा साथीहरूसँग कुरै हुँदैन । ‘बोको भएर बोकैसँग के च्याट गर्नु’ साथीहरूले डाइलग मारिहाल्छन् ।
आज भने साथीको म्यासेजले कताकता अप्ठ्यारो महसुस गरिराखेको छु । हुन त अरू दिनजस्तै आज पनि ‘खाना खान हिँड’ भनेको हो उसले, नयाँ केही होइन । तर कताकता मनमा शरम लागेर आइरहेछ । साथीको म्यासेजले मलाई म कसरी एकलकाँटे हुँदै गइराखेको छु भन्ने कुराको थोरै हेक्का गरायो । सोच्न बाध्य भएँ ।
इन्टरनेटको विकासले मान्छेहरूको दैनिक काम सहज भयो । सामाजिक सञ्जालको विकाससँगै मान्छेहरूमा कम्युनिकेसन सहज भयो । छरितो भयो । युट्युबले मनोरञ्जन दिन्छ । विकिपिडियामा पढ्नका लागि धेरै कुरा पाइन्छ । गुगलमा खोजेको सबैथोक पाइन्छ । सपिङको लागि इन्टरनेटले विश्व बजारलाई केही एप्लिकेसन्समा खुम्च्याइदिएको छ । एकै क्लिकमा सामान हातहातमा !
स्मार्ट टेक्नोलोजिको विकासले मान्छेका दैनिक कामहरू अत्यन्तै सहज र सरल बनाएको छ । साधारण प्रेसर नाप्नको लागि अब डाक्टरकैमा जान जरूरी छैन । घडी अथवा मोबाइलका एप्लिकेसनले बताइदिन्छन् । दिनमा कति व्यायाम गर्ने ? कति पानी पिउने ? निक्र्योल एप्लिकेसनहरूले गरिदिन्छन् । बाहिर निस्कँदा छाता बोक्ने कि नबोक्ने ? मौसम कस्तो हुन्छ ? बाक्ला–पातला कस्ता लुगा लगाउने ? ट्राफिक जाम छ कि छैन ? एप्लिकेसनले बताइहाल्छ । समाचार पढ्न, टीभी हेर्न, पात्रो हेर्न यावत् कुराहरूका लागि पुस्तक पसल, स्टेसनरी, लाइब्रेरी धाउनै पर्दैन । अचेल मान्छेहरू तीर्थ ब्रत पनि अनलाइनबाट गर्न थालेका छन् । टीभीले देखाउँछ, अक्षता छर्कियो रामराम भन्यो बस् ! कतै टाढै घुम्न जानुपरे एयर बीएनबीले टिकेटिङ, खान बस्नमात्र हैन अनलाइनमै ट्रेकिङ गाइड पनि खोजिदिन्छ । हुँदाहुँदा कतिसम्म भैसक्यो भने रिस उठेका बेला सःशुल्क गाली गर्न मिल्ने एप्सहरू पनि बनेका छन् । पैसा लिएर तपाईंको गाली सुनिदिने मान्छेहरू अनलाइनमा जति पनि भेटिन्छन् !
संसारमा के भइराखेको छ, निमेषभरमै थाहा हुन्छ । साधारण स्मार्टफोन र त्यसमा इन्टरनेट भए दुनियाँ आफ्नै हातमा आइपुग्छ । यो एकदमै खुसीको कुरा हो । प्रविधिले हाम्रो हातैमा विश्व थमाइदिएको छ ।
‘भोकले भोक जन्माउँछ ।’ सुन्दा अनौठो लाग्ला । ‘भोकले त भोजन गराउँछ । कसरी भोक जन्माउछ ?’ भन्नुहोला । कुनै पनि प्राणी एकपटकको भोजनले सन्तुष्ट हँुदैन । जब मान्छेलाई तिर्खा लाग्छ पहिलोपटक पानीले प्यास मेटाउँछ । जब त्यही मान्छेलाई अर्कोपटक प्यास लाग्छ उसलाई कोल्डड्रिंक्सहरू चाहिन्छ । तेस्रोपट प्यास लाग्दा ध्यान सोमरसतिर पुग्छ । जब मानिसले पहिलोपटक पिउँदा एक पेगमा मात्छ । दोस्रोपटकमा उसलाई मत्ताउन दुई पेग चाहिन्छ । तेस्रोपटक चार हुँदै उसलाई अन्त्यमा रक्सी पानीजस्तो लाग्छ । ऊ नचाहँदानचाहँदै खुंखार ड्रंकर्ड बनेर निस्कन्छ । यसै थ्योरीमा आधारित छ भोकले भोक जन्माउछ भन्ने ।
इन्टरनेटको विकास भोक हो, सूचनाको भोक । सहजताको, सरलताको नाउँमा इन्टरनेटले अन्य एप्सहरू जन्मायो, नयाँनयाँ प्रविधिहरू जन्मायो, जन्माउन बाध्य बनायो । त्यो भन्दा राम्रो, त्यो भन्दा बहुउपयोगी बनाउन के गर्नुपर्छ ? मान्छेहरू एकपछि अर्को प्रयोगहरू गर्न थाले । कसले के नयाँ ‘क्रियटिभ’ गर्ने होडबाजी चल्न थाल्यो । भोकले भोक जन्मायो तिर्खाले प्यास । भोकले भोक जन्माउनु नौलो कुरा होइन । भोक हुनु जरूरी छ ।
साँच्चै मैले सामाजिक सञ्जालको अधिक प्रयोग गरेर के उपलब्धि गरेँ त ? मसँग जवाफ छैन । बरू आँखा बिग्रिए । स्मार्टफोन चलाउनुअघि माइनस जिरो प्वाइन्ट सात पाँचको चस्मा लगाउँथेँ । अहिले पावर बढेर प्लस माइनस तीन प्वाइन्ट जिरोको चस्मा लगाउँछु । दिनैजसो टाउको दुखिरहन्छ । आज पहिलोपटक मलाई मैले सामाजिक सञ्जालको दुरूपयोग गरिरहेको छु भन्ने कुराको हेक्का भएको छ ।
मैैैले सामाजिक सञ्जाल चलाउने मात्र हैन मलाई त सामाजिक सञ्जालको एडिक्सन नै भएको छ । बिनाफेसबुक, बिनाट्विटर म एकैछिन पनि बस्न सक्दिनँ । कतै साथी भेट्नै परेर जाँदा पनि ध्यान मोबाइलमै हुन्छ । कहिलेकहीँ किताब पढ्छु भनेर थाल्छु, एक पेज पढी नसक्दै तीन पटक मोबाइलको नोटिफिकेसन इन्डिकेटरमा आँखा पुर्याइसकेको हुन्छु । कुनै दिन नेट गए मलाई फड्को हुन्छ । खाना रूच्दैन । कहाँ केही प्रलय नै भएजस्तो लग्छ ।
सामाजिक सञ्जालहरू नभए म कसरी बाँच्न सक्छु होला ? फेसबुकको नोटिफिकेसन एकदिन नहेरे कसरी दिन कट्छ होला ? ट्विटर नचलाए मैले सूचना कहाँबाट पाउने ? मलाई थाहा छैन हाम्रा बाउबाजेहरू कसरी समय कटाउँथे ? म अनुमान लगाउनसम्म सक्दिनँ, तिनले बिनासामाजिक सञ्जाल कसरी जिन्दगी गुजारे होलान् ? सोच कतिसम्म संकुुचित भइसक्यो भने सामाजिक सञ्जाल नचलाउने मान्छे असामाजिक हो जस्तो लाग्छ ! तर दुर्भाग्य, म आफैं असामाजिक भइराखेको छु । एकलकाँटे भइराखेको छु । प्रविधिबिना दुनियाँ चल्छजस्तो मलाई लाग्दैन ।
म यतिबेला सम्झँदै छु, कुनै समय थियो हामी शनिबार सबै साथीहरू मिलेर घुम्न निस्किन्थ्यौं । यहाँ परदेशमै आउँदा पनि सुरूमा स्मार्ट प्रविधिको विकास भइसकेको थिएन । त्यतिखेर हामी हप्ताहप्तामा साथीहरू भेटघाट गर्ने गथ्र्यौं । मीठामीठा पकाएर खाने, घुम्न जाने, समूहमा बसेर तास खेल्ने गथ्र्यौं । अहिलेपनि हामी ती खेलहरू त खेल्छौैं, तर एक्लाएक्लै । मोबाइलमा । विश्वको आफूजस्तै अर्को कुनै एक्लो खेलाडीसँग ।
कतिसम्म एकलकाँटे भइएछ भने, मान्छे दुर्घटनामा परेको छ उसलाई सकेसम्म चाँडो प्राथमिक उपचारको जरूरी छ । चिन्ता लिनुपर्नेे ‘कसरी उसको प्राण जोगाउने’ भन्नेमा हो, तर त्यसमा चिन्ता नलिएर फेसबुकमा लाइभ कसरी देखाउने भन्नेमा ध्यान जान थालेको छ । अरूभन्दा अघि फोटो अपलोड गर्न आतुरी हुन्छ ।
कसैको देहावशान भयो भने सबैभन्दा पहिले मृतकको फोटो सोसियल मिडियामा अपलोड गरेर कति जनाले ‘रिप’ लेखे भनेर कमेन्ट गन्न हतार हुन्छ ! मान्छेहरू झगडा गरिराखेका ठाउँमा लुकेर भिडियो खिचेर अपलोड गर्न मन लाग्छ । यसले मेरो नैतिक धरातल खस्काएको छ । म दिनानुदिन पतनको बाटोमा लाग्दै छु भन्ने देखाउँछ ।
कुनैबेला परिचय गर्दा म हजुरको नाम के हो ? भन्थेँ । अचेल हजुरको फेसबुक युजर्सनेम के छ ? भन्छु ।
म यति स्वार्थी भइसकेँ कि हरेक कुरामा ‘म’ जोड्न थालेको छु । मान्छेको भीडमै हराउन थालेको छु । मान्छेसँग ठोक्किँदा पनि मलाई पहाडमा ठोक्किएजस्तो लाग्न थालेको छ । दिनदिनै चेतनाहीन, संवेदनाहीन हुँदैछु । ‘म’ नभए विश्व नै रहँदैन सोच्न थालेको छु !
सामाजिक सञ्जालले म एक्लिएको छु । हुन त सामाजिक सञ्जालमा फ्रेन्ड र फलोअरको संख्या बढिरहेकै छ, तर यथार्थमा जति फलोअर्स बढिरहेका छन् उति नै म एक्लिरहेको छु । पहिलो पल्ट आज मलाई मेरो यो ऊर्जाशील समय सामाजिक सञ्जालको दुरूपयोगमा खर्चिएर नष्ट गर्नु हुँदैन भन्ने लागिरहेको छ । यो ऊर्जा दिएको हो– साथीको म्यासेजले । अब म राम्री केटीको फोटोमा के कमेन्ट गर्ने भनेर सोच्ने समयमा जिन्दगीलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा सोच्न प्रयत्न गर्नेछु । पोर्न मुभी हेरेर बस्ने समयमा कसरी जिन्दगीलाई सिर्जनात्मक बनाउन सकिन्छ भनेर सोच्ने प्रयत्न गर्नेछु । म्यासेन्जरमा हाई लेख्नुको साटो सँगैको साथीलाई धाप मारेर ‘के छ यार’ भन्नेछु । यसो गर्दा साथीलाई बोल्न कर लाग्छ । ऊ जरूर बोल्नेछ ।
म फेसबुक डिएक्टिभेट गर्दिनँ । ट्विटर डिएक्टिभेट गर्दिनँ । युट्युब अनस्टल गर्दिनँ । मैले आजसम्म यिनीहरूको दुरूपयोग गरेँ । म आजदेखि यिनीहरूको सदुपयोग गर्नेछु । यो मेरो निजी प्रतिज्ञा हो ।
मान्छे सामाजिक प्राणी हो, मलाई पनि समाज चाहिन्छ । सामाजिक सञ्जालले मान्छेलाई जोड्दैन, केवल एक्ल्याउँछ । म जोडिन चाहन्छु, एक्लिन हैन । तपाईं सबै मेरा आफन्तहरू हुनुहुन्छ । म तपाईंलाई प्रेम गर्छु ।
प्रिय साथी तपाईंहरुसँग मेरो एउटै अनुरोध छ— म अनलाइन देखिइनछु भने बिर्सिएछ नभन्दिनुहोला । म सुध्रन चाहन्छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies