सिभिल सहकारीका संस्थापक अध्यक्ष इच्छाराज तामाङ सहितका पदाधिकारी ठगीको आरोपमा पक्राउ परेपछि वित्तीय क्षेत्र तरंगित बनेको छ । किनकी नेपालमा सहकारीले सर्वसाधारण ठगी गर्नुलाई चोरी, लुटपाटका जस्तै घटनाको रुपमा लिइन्छ । त्यसैले हरेक दिन जसो नै सहकारीका ठगी सम्बन्धी घटनाहरु सार्वजनिक हुने गरेपनि त्यसलाई सार्वजनिक रुपमा खासै ठूलो महत्व दिइदैन ।
तर, इच्छाराज केवल सहकारीका संचालक मात्रै थिएनन् । इन्जिनियरिङ क्याम्पस पुल्चोकका पूर्वप्रध्यापक र संविधानसभा सदस्य समेत हुन् । उनको आफ्नो पार्टी एमालेका नेताहरुसँग मात्र होइन, नेपाली कांग्रेस, माओवादीलगायत पार्टीका नेताहरु र राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग पनि राम्रो उठबस थियो । त्यहीकारण उनीविरुद्ध वर्षाै अगाडि परेका उजुरीहरुलाई समेत प्रहरी प्रशासनले त्यत्तिकै थन्काएको थियो । अहिले संयोग भनौं वा इच्छाराजको दुर्भाग्य, एमाले सरकारबाट बाहिरिएको केही समयमै उनी पक्राउ परेका छन् । र, उनलाई कसैले पनि जोगाउन सक्ने अवस्था छैन ।
सिभिल सहकारीको ठगी प्रकरणमा इच्छाराजको नेतृत्व देखिए पनि वास्तवमा त्यसको पछाडिका दोषी नेपाल राष्ट्र बैंक र सहकारी विभाग पनि हुन् । किनकी केन्द्रिय बैंकको हैसियतमा राष्ट्र वैंकले हिसाबले घ वर्गका वित्तीय संस्थाको रुपमा रहेका सहकारीहरुको अनुगमन, निरीक्षण काम गर्दै आएको छ । जनशक्ति अभावमा सबै सहकारीहरुको अनुगमन गर्न नसके पनि राष्ट्र बैंकले अर्वभन्दा माथिको निक्षेप संकलन गरेका ठूला सहकारीहरुको अनुगमन र निरिक्षण र नियन्त्रणलाई प्रभावकारी बनाइएको दावी गर्दै आएको छ । सहकारी विभागले पनि त्यस्तै दावी गर्ने गरेको छ ।
यदि त्यस्तो थियो भने सिभिल सहकारीमा वर्षाैदेखि शृंखलावद्ध रुपमा भैरहेका आर्थिक अनियमितताहरु, अपचलन रोक्न राष्ट्र बैंक र सहकारी विभागले के कदम चाले ? समस्या देखिने वित्तिकै ती निकायहरुले खबरदारी गरेको भए यति ठूलो संख्यामा सर्वसाधारण ठगिनु पर्दथ्यो ? अथवा राष्ट्र वैंक र सहकारी विभागकै उच्च अधिकारीहरुको संरक्षणमै पो यो सबै भइरहेको थियो कि ? अबको छानबिन यसतर्फ पनि केन्द्रित गरिनु पर्छ । किनकी, नेपालको कुनै पनि क्षेत्रमा हुने गरेका बदमासीहरुमा संरक्षकत्व प्रदान गर्ने नियामक निकायका पदाधिकारी दोषी ठहर्याउने प्रचलन नै देखिएको छैन । अहिले भरखरै एउटा कम्पनीको शेयरमा चलखेल गरेको अभियोगमा धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त भएको घटनाले नियामक निकायका अधिकारीहरु पनि कारबाहीमा पर्छन् भन्ने सकारात्मक सन्देश प्रवाहित भैरहेको छ । यस्तो अवस्थामा इच्छाराज प्रकरणका दोषीलाई संरक्षण गर्दै अहिलेसम्म कारवाही हुनबाट बचाउंदै आएका नेपाल राष्ट्र वैंक र सहकारी विभागका उच्च अधिकारीहरुलाई समेत कारवाहीको दायरामा ल्याउन सक्नुपर्छ । अनि बल्ल सहकारीमा हुने गरेका ठगी नियन्त्रणमा एउटा प्रभावकारी फड्को हुनेछ । देशभरिका सहकारीहरुको अनुगमन, निरीक्षणको काम प्रभावकारी हुनेछ । अन्यथा पोल खुलिहाले सहकारीका सञ्चालक समातिने र पोल नखुलेसम्म सबै मिलेर मस्ती गर्ने प्रवृत्तिको अन्त्य हुनेछैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies