२०८१ पुष १४ गते आइतवार / Dec 29 , 2024 , Sunday
२०८१ पुष १४ गते आइतवार
Ads

पर्वत समाज कतारको अध्यक्षमा सन्तोष क्षेत्री

ADV
तिलु शर्मा पौडेल
२०८१ पुष १३ गते १९:१७
पर्वत समाज कतारको अध्यक्षमा सन्तोष क्षेत्री

दोहा, कतार : सातौं अधिवेशनको खुला सत्र सकिएको एक हप्तापछि पर्वत समाज कतारको बन्द सत्र सकिएको छ । अध्यक्ष पदका आकांक्षी आनन्द जिसीसहितको एक समूहले निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै उनीसहितले विभिन्न १७ पदमा दर्ता गरेको उम्मेदवारीहरु फिर्ता लिएसँगै अर्का आकांक्षी सन्तोष क्षेत्री अध्यक्ष पदमा चयन भएका हुन् ।

क्षेत्रीको नेतृत्वमा निर्वाचित कार्यसमितिको उपाध्यक्षद्वय टीका राम भुसाल र भीम कान्त पौडेल, सचिव सेवक घताने, कोषाध्यक्ष महेन्द्रकुमार चालिसे रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा सागर विश्वकर्मा, सुमन थापा, नरबहादुर विश्वकर्मा (कुमार), प्रकाश परियार र चिरञ्जीवी पौडेल रहेका छन् । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक छविलाल भट्टराईले पद तथा गोपिनीयताको शपथ ग्रहण गराएका थिए ।

अधिवेशनको खुला सत्र २० डिसेम्बरमा समाजका अध्यक्ष रघुनाथ शर्माको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि भट्टले कतारको नीति नियमलाई मनन गर्न आग्रह गर्दै सांस्कृतिक कार्यक्रम गर्दा कतार सरकारबाट अनुमति लिन आग्रह गरे ।

भट्टले कतारमा श्रमिकले पासपोर्टको फाराम भर्न नसकिरहेको प्रति लक्षित गर्दै फरक फरक ४ जना परराष्ट्रमन्त्रीसमक्ष श्रमिक र स्लटका समस्या राख्दा पनि सुनुवाइ नभएको बताउँदै जसले चर्का भाषण गरे पनि समस्या यथावतै रहेको बताए । उनले अहिले कतारमा नयाँ राजदूत आएको बताउँदै राजदूतले चाहँदैमा पनि स्लटको समस्या समाधान हुन नसकेको उदाहरण समाजमा प्रष्ट रहेको बताए । उनले राजदूतसँग कतारका संघसंस्था प्रमुखहरूसहितले आउँदो शुक्रबार परिचयात्मक अन्तरक्रिया कार्यक्रम गर्ने तयारी गरिरहेको जानकारी दिए ।

नृत्यांगना रेजिना गुरुङ, म्याग्देली मौलिक थाली नृत्यांगना यमुना पटेल, गायिका रेश्मी सेन्चुरी, जुनु प्रसाईंलगायतका कलाकारले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा स्वास्थ्य जीवनका लागि रामजी खत्रीले स्व-जागरण ध्यानको अभ्यास गराएका थिए । अधिवेशनमार्फत समाजका विभिन्न गतिविधिमा सहयोग गर्ने संघसंस्था, पत्रकार, कलाकारसहित संस्थापक कार्यसमिति, निवर्तमान कार्यसमितिका पदाधिकारीहरूसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । अधिवेशनमा कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । थुप्रै वक्ताहरूले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै समाजका गतिविधिको प्रशंसा गरेका थिए ।

सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशन पञ्चेबाजासहित समुद्घाटन गरिएको थियो । समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक आनन्द जिसीले स्वागत मन्तव्य राखेको कार्यक्रममा अञ्जली परियारले स्वागत नृत्य पेस गरेकी थिइन् । समाजका सचिव भरत मल्लले कार्यकाल अवधिको प्रतिवेदन पेससहित कार्यक्रमको सहजीकरण गरेका थिए भने कोषाध्यक्ष सुवास जिसीले करिब ६० हजार कतारी रियाल कारोबार गरेको आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise