काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा वर्तमान सरकार संचालनमा सुझाव दिनेमध्येका एक प्रमुख नेता हुन् । संसद् नरहेका बेला सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशको योजनाकार पनि हुन् उनी । विपक्षी दलहरूले अध्यादेशको विरोध गरिरहँदा थापाले नेपालमा लगानीको वातावरण बनाउने प्रयासअन्तर्गत अध्यादेश आएको र यो प्रक्रियामा आफ्नो संलग्नता रहेको भनेर नागरिकलाई ‘कन्भिन्स’ गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सम्भव नभएपछि चीन भ्रमणमा गए । त्यसक्रममा २ देशबीच हस्ताक्षर भएको चिनियाँ रणनीतिक कार्यक्रम बीआरआई फेमवर्कको अवधारणाकार पनि थापा हुन् ।
अर्थात, वर्तमान सरकारका कामहरूको पहलकर्ता र सुझावकर्ता हुन् थापा । तर, कांग्रेसमा थापाकै बराबर हैसियतमा रहेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने सरकार संचालनबारे सुझाव दिने भूमिकामा कतै देखिँदैनन् ।
उसो त थापासँग मन्त्रिपरिषद् सदस्य भएर काम गरेको अनुभव पनि छ । २०७३ सालमा छोटो कार्यकालका लागि स्वास्थ्यमन्त्री भएका थापाले स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास गरेको छाप छाडेका छन् । यस्तो राजनीतिक छाप शर्मासँग छैन ।
थापासँग २०६४ साल र २०७० सालका दुवै संविधानसभामा सभासद्का रूपमा संविधान निर्माणमा भूमिका खेलेको अनुभव पनि छ । यो अवसर शर्माले पाएनन् ।
संसदीय समितिको सभापति भएर पनि थापाले काम गरे । २०७१ सालमा थापाले संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरेका थिए । थापाले ४ पटक सांसद भएर संसदीय अनुभव बटुलेका कारणले पनि शर्माले भन्दा बढी संसदीय अवसर पाएका हुन् । तर, पहिलो पटक संघीय सांसद भएका महामन्त्री विश्वप्रकाश शर्मा संसदीय अभ्यासमा समेत कुनै भूमिकामा देखिन सकिरहेका छैनन् ।
महामन्त्रीद्वय थापा र शर्मा राजनीतिमा सँगै छन् तर राजनीतिक भूमिकामा थापा अगाडि देखिन्छन् । दुवैको राजनीतिक इतिहास भने फरक छ । शर्मा राजनीतिमा स्थापित भइसक्दा थापा संघर्षरत थिए । तर, कांग्रेस नेताहरू दुवैसँग जनताको अपेक्षा रहेको बताउँछन् ।
कांग्रेसको नेतृत्वमा रहेको पछिल्लो पुस्ता अर्थात् तेस्रो पुस्तामा गनिन्छन्– महामन्त्रीद्वय शर्मा र थापा । यी कांग्रेसले मात्र होइन, देशले नै अपेक्षा गरेका युवा नेता हुन् । पार्टीभित्रबाट मात्र नभएर बाहिरबाट समेत एउटा ठूलै तप्काले उनीहरूलाई नैतिक समर्थन जनाइरहेको छ ।
गत १४औं महाधिवेशनबाट महामन्त्रीमा विजयी यी २ नेताहरू आपसमा बाझाबाझ र विवादको अवस्थामा बाहिर प्रस्ट नदेखिए पनि आन्तरिक रूपमा प्रतिस्पर्धी भएकाले पक्कै एकअर्काप्रति हावी हुन चाहनु वा प्रयास गर्नु स्वाभाविक हो, अनौठो होइन ।
विक्रमको २०५० को दशकमै चर्चित विद्यार्थी नेताको परिचय बनाएका शर्मा २०५७ सालमा कांग्रेसको भ्रातृ संगठन नेविसंघका अध्यक्ष भएका थिए । शर्मा केन्द्रीय अध्यक्ष हुँदा थापा भने त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका नेता थिए ।
राजनीतिमा उमेरले अग्रज÷अनुज हुन्छ तर अवसरले हुँदैन भन्ने बलिया उदाहरण पनि हुन् विश्वप्रकाश र गगन । अहिले उनीहरू दुवै पार्टीकै महामन्त्रीका रूपमा छन् । आगामी महाधिवेशनमा पार्टीको हालभन्दा माथिल्लो जिम्मेवारीमा दाबी रहनु स्वाभाविक पनि हुने छ दुवै जनाका निम्ति ।
अघिल्लो महाधिवेशनपछि सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा रहेर पार्टी प्रवक्तासमेत भइसकेका शर्मा पछिल्लो समय अघोषित रूपमा सभापतिबाट केही दुरीमा रहेका आँकलन पार्टीभित्रै भइरहेको छ । उता, संस्थापनइतर डा. शेखर कोइराला समूहमा देखिएका थापा पनि पछिल्लो समय ‘तटस्थ’ देखिँदै अवसरको पर्खाइमा रहेका देखिन्छन् ।
यी दुवै युवा नेताले आगामी रणनीति कुन रूपमा अगाडि बढाउलान् भनेर अहिल्यै अनुमान लगाउनु हतारो हुन सक्छ । यद्यपि, दुवै जनाले एकअर्काप्रति हावी हुने भरमग्दुर प्रयत्न भने गर्ने छन् ।
चतुर गगन
गगन थापा विद्यार्थी राजनीतिदेखि नै कडा र जंगी स्वभावका थिए । आवश्यकताअनुसार बल र बुद्धिको प्रयोग गर्न माहिर थापा क्याम्पस राजनीतिपछि नेविसंघको केन्द्रीय राजनीतिमा हावी भए । केन्द्रीय महामन्त्रीसम्म बनेका थापा युवामाझ त लोकप्रिय थिए नै, राजा ज्ञानेन्द्रको ‘कू’पछि कांग्रेसभित्रबाट गणतन्त्रको माग राख्ने नरहरि आचार्यपछि थापा नै भए । यसले तत्कालीन माहोलमा उनलाई अझ प्रिय बनायो ।
यसका कारण तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको निशानामा परेका थापा राजनीतिबाट वितृष्णा जागेर झण्डै बाहिरिएका थिए । तर, शुभेच्छुक र समर्थकको दबाब र साथले उनी झन् दह्रो भएर अडिए राजनीतिमा ।
१३औं महाधिवेशनमै महामन्त्रीमा डा. शशांक कोइराला र आफ्नै ससुरा अर्जुननरसिंह के.सी.सँग भिडेका थापा १४औं महाधिवेशनमा महामन्त्री बन्न सफल भए ।
राजनीतिको प्रारम्भिककालमा युवा जोशका कारण ‘बोल्ड’ देखिने थापा परिपक्वता बढ्दै गएपछि अध्ययनशील र तार्किक हुँदै आए । अध्ययनशील र तार्किक युवाहरूलाई अघोषित सल्लाहकारका रूपमा लिएर उनले संसद्मा होस् वा सडकमा तार्किक र दमदार मन्तव्यहरू राख्न थाले, जसले उनलाई बौद्धिक एवं प्राज्ञिक वर्गमा समेत प्रिय बनायो ।
दोस्रो पटक सांसद हुँदा नै स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका थापाले आफू मन्त्री बनेपछि स्वास्थ्य बीमालगायतका केही लोकप्रिय कार्यक्रम ल्याएपछि उनीप्रतिको आशा र भरोसा बढ्यो आमजनमा । तर, बाख्रा पालनमा भएको भनिएको अनियमितत(ाको आरोपबाट भने उनी आजसम्म मुक्त हुन सकेका छैनन् ।
भावुक विश्वप्रकाश
२०४० को दशकदेखि नै राजनीतिमा सक्रिय तथा २०५० को दशकमा एउटा भिन्न चर्चा कमाइसकेका विश्वप्रकाश शर्मा राजनीतिमा स्थापित भइरहँदा गगन थापा भने विद्यार्थी राजनीतिमा वामे सर्दै थिए । समयले उमेर हेरेन राजनीतिमा अनि अवसरले बरिष्ठता र कनिष्ठता ठानेन । अन्ततः दुवै नेता एउटै कार्यकारी भूमिका पार्टी महामन्त्रीमा छन् अहिले ।
गगन बढी आक्रामक थिए विद्यार्थीकालमै । पछि आफूलाई अध्ययनशील र शालीन बनाउँदै लगे । तर, शर्मा भने पहिल्यैदेखि भावुक र हृदयकेन्द्री रहेका उनका निकटस्थहरू बताउँछन् ।
शर्मा साहित्य र संगीतका पारखी पनि हुन् । कोमल, भावुक र हृदयस्पर्शी भाषणकलाद्वारा जनताको मन जित्न माहिर छन् शर्मा । यद्यपि, कोमलता र भावुकता राजनीतिमा खासै राम्रो मानिँदैन । आवश्यकताअनुसार कठोर, आक्रामक र कोमल, भावुक हुन सक्नुपर्छ राजनीतिमा भन्ने बुझेका छन् थापाले तर शर्माले यो तथ्य बुझेका पाइँदैन ।
यही कारण शर्माको ‘एक्सन ओरियन्टेड’ स्वभाव नदेखिने उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । उनलाई जान्नेहरूका अनुसार शर्मा बोल्न जान्ने तर काम गर्न आँट नगर्ने नेता हुन् । यस्ता नेताहरू पार्टीका कार्यकारी पदमा रहनु ‘मानार्थ’ बराबर मात्र हुने उनीहरूको बुझाइ छ ।
उनका एक निकटस्थ भन्छन्, ‘विश्वजी तार्किक र अध्ययनशील हुनुहुन्छ, भद्र र शालीन पनि हुनुहुन्छ तर काम गर्ने सवालमा उहाँ अगाडि बढ्न सक्नुहुन्न ।’ कार्यकारी नेतृत्व काम गर्ने सवालमै कमजोर हुनु भनेको ‘सेरेमोनियल’ महामन्त्री बन्नु सरह भएको उनको भनाइ छ ।
उसो त, थापा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबाट ‘लखेटिए’झैं शर्मा पनि झापाकै आफ्नै राजनीतिक अग्रज कृष्णप्रसाद सिटौलाको चेपमा परिरहे लामो समयसम्म । आफ्नो ‘खतरनाक’ प्रतिस्पर्धीका रूपमा सिटौलाले शर्मालाई सधैं हेरिरहे । पटकपटक पार्टीमा र सांसदमा शर्मालाई अवरोध गरिरहे सिटौलाले तर पछिल्लो समय शर्माको भाग्य बलियो भएर हो वा सिटौलाको ‘दम’ कमजोर भएर हो, शर्मा पार्टी महामन्त्री र प्रतिनिधिसभा दुवैमा विजयी बने ।
शर्मामाथि थापा हावी
महामन्त्रीद्वय शर्मा र थापाको सम्बन्ध विगतदेखि नै ‘सुमधुर’ मानिन्छ । उनीहरूबीच सम्मान र प्रेम नै देखिन्छ । यसर्थ पनि शर्मा र थापाको ‘सहकार्य’ सशक्त र मैत्री हुने आमआँकलन रहिआएको छ ।
यद्यपि, राजनीतिले यस्तो अपेक्षा गर्दैन । अहिले पार्टीभित्र यी २ खास प्रतिस्पर्धी हुन् र यो प्रकट वा अप्रकट रूपमा देखिने नै छ । अबको १५औं महाधिवेशनमा थापा सोझै पार्टी सभापतिका दाबेदार बन्ने मुडमा रहँदा शर्माले के गर्लान् ? यो प्रश्न आमजिज्ञासा बनेको छ ।
थापाले आफूलाई पार्टी नेतृत्वको दाबेदारका रूपमा उभ्याउने प्रयत्न गरिरहँदा वा अगाडि बढाइरहँदा शर्मा भने गीत, कविता र हिमाल आरोहणमा अलमलिएका छन् । थापा संसद् र सडकबाट आफूलाई अब्बल साबित गर्न ‘कन्भिन्सिङ’ मन्तव्य र भाषणहरू दिइरहेका छन् जबकि शर्माले न संसद्, न त सडकबाटै आफ्नो प्रभाव देखाउन सकेका छन् ।
राजनीतिक विश्लेषक हरिविनोद अधिकारी विश्वप्रकाशलाई साह्रै कमजोर ठान्छन् गगनका अगाडि । ‘विश्वलाई स्पष्ट वक्ता र बुद्धिजीवी भन्ने हाम्रो धारणा गलत रहेछ । अडान पनि देखिएन । उनले आफूलाई चिनेनन् । पदको गरिमा बुझेनन्’, अधिकारी भन्छन्, ‘उनले कृष्णप्रसाद सिटौलालाई टार्गेट देखे तर उनका खास प्रतिद्वन्द्वी चिनेनन् । गगनका अगाडि भने गरुडको अगाडि सर्प जस्ता भए ।’
गगनले विश्वलाई साथ दिएजस्तो गरेर विश्वलाई छायामा पारिदिएका उनको बुझाइ छ । चलाखीमा पनि गगन अगाडि रहेका तर गगनले पनि सोचेजति भूमिका भने नगरेको अधिकारी बबताउँछन् । कामले महामन्त्री दुवै बन्न नसकेका अधिकारीको टिप्पणी छ ।
अर्का राजनीतिक विश्लेषक शंकर तिवारी पनि राजनीतिमा कामले अगाडि र पछाडि वा बरिष्ठ र कनिष्ठ हुने बताउँछन् । भन्छन्, ‘कामका आधारमा मूल्यांकन हुनुपर्छ । यसरी हेर्दा गगनले विश्वभन्दा काम बढी अवश्य गरेका छन् ।’
तिवारीको बुझाइमा पटकपटक सांसदमा जनताले अनुमोदन गरेका र जनताका काममा पनि सक्रियता देखाएका र काम गरेका कारण गगनले लोकप्रियता कमाएका छन् । यही कारण विश्व स्वयंले गगनलाई संसदीय दलका नेतामा समेत प्रस्ताव गरेका उनको भनाइ छ ।
तिवारीले बेलायतको राजनीतिको उदाहरण दिँदै भने, ‘बेलायतमा लेबर पार्टीको इतिहासमा कुनै बेला गोर्डन ब्राउन टोनी ब्लेयरभन्दा सिनियर थिए तर ब्लेयरको लोकप्रियतालाई स्वीकार गरेर ब्राउन पछि हटेका थिए । कांग्रेसभित्र विश्व र गगनको अवस्था अहिले त्यस्तै छ ।’
यसरी हेर्दा थापा शर्मामाथि केही हदसम्म हावी भएका देखिन्छ । शर्माले सरकारमा सहभागी भएर थापाले जसरी ‘काम देखाउने’ अवसर पनि नपाएका कारण उनको कार्यक्षमताबारे आमजन र कांग्रेस कार्यकर्ता नै विश्वस्त हुन सकेका छैनन् तर थापाले त्यसलाई पनि पुष्टि गरिसकेका छन् ।
आमजनले अब बोल्नेलाई नभएर गर्नेलाई रोज्ने परम्परा बसिरहेको सन्दर्भमा यी २ युवा नेताबीच तुलना हुनु र को कसमाथि हावी हुन सक्ला भन्ने आँकलन हुनु अन्यथा होइन । ‘गर्ने’लाई छान्ने परम्परा र सोचले निरन्तरता पाएमा भने आगामी महाधिवेशनमा शर्मामाथि थापा हावी हुने आमआँकलन छ ।