२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

रेशम-रञ्जिताको छायामा जनमत–उन्मुक्ति एकता

hardik ivf
निमिष झा
२०८१ चैत १ गते ०६:४०
रेशम-रञ्जिताको छायामा जनमत–उन्मुक्ति एकता

काठमाडौं : जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको प्रयास अड्किएको छ ।

मधेश र पश्चिम तराईबाट प्रतिनिधित्व गर्ने जनमत र उन्मुक्तिले एकता प्रक्रिया अगाडि बढाए पनि अवरुद्ध भएको छ । यद्यपि, आगामी निर्वाचनमा मधेशमा पहिचानवादीको निर्णायक शक्ति बन्ने उद्देश्यले पार्टी एकता गर्न लागेको दुवै पार्टीका नेताहरू बताउँछन् ।

प्रतिनिधिसभामा जनमतको ६ र उन्मुक्तिको ४ सिट छ । प्रत्यक्ष १ र समानुपातिकमा ५ सिट जितेर जनमत राष्ट्रिय पार्टी बनेको छ । २ दलबीच एकता भए प्रतिनिधिसभामा उनीहरूको १० सिट हुने छ । 

सुदूरपश्चिम प्रदेशसभामा उन्मुक्तिका ७ सांसद छन् । त्यस्तै, लुम्बिनीमा ४ र मधेशमा १ सांसद छन् । मधेशमा जनमतका १३ र लुम्बिनीमा ३ सांसद छन् । मधेश प्रदेशसभामा जनमतका १४ सांसदसहित एकीकरणपछि पनि चौथो दलका रूपमा रहने छ । लुम्बिनी प्रदेशसभामा पाँचौं र छैटौं स्थानमा रहेका उन्मुक्ति र जनमत एक भए चौथो पार्टी बन्ने छ ।

यी दुवै दलले अहिले सरकारलाई समर्थन गरिरहेका छन् । उन्मुक्ति पार्टी केन्द्रदेखि प्रदेशसम्म सरकारमा सहभागी छ भने जनमत पार्टीले मधेश प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ ।

तर, दुवै पार्टीबीच एकता गरेर बलियो पार्टी बन्ने तयारी भइरहँदा उन्मुक्ति पार्टीभित्रको विवादले तत्काल एकताको सम्भावना टरेको छ ।

एकीकरणका विषयमा उन्मुक्तिका संस्थापक रेशम चौधरी र उनकी श्रीमती तथा सभापति रञ्जिता श्रेष्ठबीच नै कुरा मिलेको छैन ।

तर, डा. सीके राउत नेतृत्वको जनमत पार्टीले २६ फागुनमा केन्द्रीय कमिटीमार्फत एकीकरण गर्ने औपचारिक निर्णय गर्दै एकीकरणका लागि कार्यदल बनाइसकेको छ । बैठकले उन्मुक्ति पार्टीसहित विचार र सिद्धान्त मिल्नेसँग एकीकरण गर्न ३ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा अब्दुल खान, शरद्सिंह यादव र बालगोविन्द चौधरी छन् । 

तर, उन्मुक्ति पार्टीभित्र एकीकरण गर्ने कि नगर्ने भन्ने विषयमा बहस जारी छ । उन्मुक्तिले औपचारिक निर्णय नगरेसम्म एकीकरणको विषयले औपचारिक प्रवेश पाउन सकेको छैन । उन्मुक्तिले केन्द्रीय कमिटीबाट एकीकरण गर्ने या नगर्ने निर्णय गर्न बाँकी छ ।

उन्मुक्तिका नेता तथा प्रतिनिधिसभा सांसद गंगाराम चौधरीले पार्टी एकीकरणको विषय केन्द्रीय कमिटीबाट टुंगो लाग्न बाँकी रहेको बताए । ‘केन्द्रीय कमिटी बैठकमा एकीकरण हुने या नहुने छलफल हुने छ’, उनले भने, ‘चैत महिनाभित्रै पार्टी केन्द्रीय कमिटी बैठक बस्ने छ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेपछि मात्र बहुमतले निर्णय गर्छ । अहिले केही भन्ने अवस्था छैन ।’

यता, जनमत पार्टीका प्रवक्ता शरद्सिंह यादव आफूहरू उन्मुक्ति पार्टीको निर्णयको पर्खाइमा रहेको बताए । ‘एकीकरणबारे हामीले औपचारिक निर्णय गरिसकेका छौं, उहाँहरूले गर्ने निर्णयका आधारमा एकीकरण प्रयास अगाडि बढ्छ ।’

प्रवक्ता यादवले एकताको प्रयास अन्तिम चरणमा पुगेको, राजनीतिक दस्तावेज, पार्टीको नाम र चुनाव चिह्नबारे छलफल टुंग्याएर छिट्टै एकता हुने बताए ।

कहाँ अड्कियो हलो ?

पार्टी एकीकरण गर्ने सन्दर्भमा उन्मुक्ति पार्टीभित्र २ शीर्ष नेताबीच फरक मत देखिएको छ । अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीच उत्पन्न मतान्तरका कारण एकीकरण पेचिलो बनेको छ ।

चौधरी एकीकरण गर्ने पक्षमा छन् भने श्रेष्ठ सकारात्मक छैनन् । उनीहरू दुवै श्रीमान्–श्रीमती हुन् । उनीहरूबीच उत्पन्न फरक मतका कारण एकीकरण प्रक्रियामा ढिलाइ भइरहेको पार्टीका नेताहरू बताउँछन् ।

नेताहरूका अनुसार संरक्षक चौधरी जनमतका अध्यक्ष राउतसँग एकीकरणबारे निरन्तर संवाद र छलफलमा छन् तर अध्यक्ष श्रेष्ठ एकताको विपक्षमा उभिएकी छन् ।

पार्टी नेताहरूसँगको कुरामा अध्यक्ष श्रेष्ठले पार्टी एकताबारे अनभिज्ञता प्रकट गरेकी छन् । ‘राउतको पार्टीसँग एकता गर्ने कुरा आएको छ तर मलाई केही थाहा छैन’, उनको भनाइ उद्धृत गर्दै सांसद चौधरीले भने ।

त्यस्तै, पार्टी एकता गर्ने विषयमा पार्टीभित्र एक मत हुन नसकेको र एकताका लागि साथीहरू तयार नभएपछि तत्काल एकताको सम्भावना नरहेको केही दिनअघि पार्टी बैठकमा श्रेष्ठले भनेकी थिइन् ।

पार्टी एकताको विषयमा चौधरी–श्रेष्ठ सम्बन्ध पुनः चिसिएको छ । यसअघि पनि पार्टी नेतृत्वको विषयमा दु्वै जनाबीच तीव्र विवाद उत्पन्न भएको थियो । त्यतिबेला पार्टी फुटको संघारमै पुगेको थियो ।

उनीहरूबीचको मनमुटावकै कारण पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसमेत गुमाएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise