विराटनगर : नेपालमा सम्भवतः पहिलोपटक मुस्लिम युवालाई लक्षित गर्दै सुशासन र सार्वजनिक प्रशासनबारे विशेष प्रशिक्षण दिइएको छ ।
नेपाल मुस्लिम युथ कमिटी, विराटनगरको आयोजना एवम् संगम पार्टी प्यालेसमा शनिबार सञ्चालन गरिएको उक्त कार्यक्रममा मुस्लिम युवालाई राजनीति, राज्य शासन, नीति निर्माण र सार्वजनिक सेवामा अवसरबारे मार्गदर्शन दिइएको थियो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक, पूर्वमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले मुस्लिम युवालाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय हुन आह्वान गर्दै भने, ‘नेपालको निर्माणमा मुस्लिम समुदायको योगदान ऐतिहासिक रूपमा रहँदै आएको छ । अब नयाँ पुस्ताले सुशासनलाई व्यवहारमा उतार्दै राजनीति र सार्वजनिक प्रशासनमा उच्च सहभागिता जनाउन आवश्यक छ ।’
उनले विगतमा मुस्लिम समुदायले राष्ट्र निर्माण, सैन्य, प्रशासन, कानून, वास्तुकला, संगीत, भाषा–साहित्य र क्रान्तिहरुमा महत्वपूर्ण योगदान दिएको स्मरण गराउँदै वर्तमान पुस्तामा शिक्षा, क्षमता र इच्छाशक्तिको अभाव र मनोबल घटेको विचार व्यक्त गरे ।
सार्वजनिक प्रशासनका विषयविज्ञ सत्तार अन्सारीले प्रतिस्पर्धात्मक सेवामार्फत राज्य संरचनामा सहभागिता बढाउनुपर्ने आवश्यकतालाई औँल्याउँदै भने, ‘प्रणालीलाई टाढाबाट मात्र आलोचना गरेर हुँदैन, प्रणालीभित्र प्रवेश गरेर परिवर्तन सम्भव हुन्छ । मुस्लिम युवाले तयारी र लगनशीलताबाट सार्वजनिक प्रशासनमा स्थान बनाउन सक्छन् ।’
उनले सार्वजनिक प्रशासनमा मुस्लिम समुदायको न्यून सहभागिता सम्बन्धी तथ्यांक प्रस्तुत गर्दै भावी सुधारका लागि कानुनी र संवैधानिक आधारमा प्रकाश पारे ।
नेपाल सरकारको हालै नियुक्त शाखा अधिकृत रानी खातुनले आफ्नो अनुभव बाँड्दै भनिन्,‘सरकारी सेवामा प्रवेश चुनौतीपूर्ण अवश्य छ, तर निरन्तर अध्ययन र दृढ संकल्पले असम्भव छैन । मुस्लिम युवाले आत्मविश्वासका साथ तयारी गरेमा प्रतिस्पर्धात्मक परीक्षामा सफल भइ सेवामा प्रवेश गर्न सक्छन् । स्थायी सरकारमा मुस्लिम सहभागिता बिना समुदायको उत्थान सम्भव छैन ।’
कार्यक्रमका समीक्षक माजिद अन्सारीले यस पहललाई ऐतिहासिक कदमको रूपमा चित्रण गर्दै भने, ‘यस किसिमको पहलले युवामा आत्मविश्वास जागृत गर्ने मात्र होइन, भविष्यमा नीति निर्माण तहमा मुस्लिम आवाजलाई सशक्त बनाउने आधार तयार गर्नेछ ।’
नेपाल मुस्लिम युथ कमिटीका अध्यक्ष निसार अहमदको अध्यक्षता तथा एमाम हैदरको सञ्चालनमा सम्पन्न कार्यक्रममा मोरङ, झापा र सिरहाका युवासहित स्थानीय युवा, विद्यार्थी, समाजसेवी, बौद्धिक वर्ग र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पूर्वमन्त्री हुसैनले यस्ता प्रशिक्षण कार्यक्रमलाई आगामी दिनमा अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना रहेको बताए ।