काठमाडौं : अभिनव साहित्य समाजको २८४औं मासिक साहित्यिक शृंखला राजधानीमा सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार साहित्यिक गतिविधि आयोजना गर्दै आएको समाजले शनिबार आयोजित कार्यक्रममा ‘अभिनव कमला संघर्षशील नारी सम्मान २०८२’ पुराणवाचिका गार्गी चौलागाईं ‘शाकम्भरी’ र सरस्वती चौलागाईं ‘शाम्भवी’लाई संयुक्त रूपमा प्रदान गरेको छ ।
२५ हजार रुपैयाँ राशिको यो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ले हस्तान्तरण गरे । अध्यक्ष ‘वेदमणि’ले सम्मानित व्यक्तित्वहरूले समाज र देशलाई सही दिशानिर्देश गर्ने क्षमता राख्ने बताए ।
सोही अवसरमा समाजका उपाध्यक्ष विमल अर्यालद्वारा लिखित कथा संग्रह ‘अन्तर्मनका तरङ्ग’को लोकार्पण गरियो । २०३८ देखि लेखिएका समसामयिक परिवेशका ५१ कथाहरू समेटिएको यो संग्रहको समीक्षा गर्दै साहित्यकार रमेश प्रसाद खनालले अर्यालका कथाहरूमा नेपाली समाज र देशको जीवन्त चित्रण भएको उल्लेख गरे ।
अर्यालका यसअघि ‘समृद्धि’ (संयुक्त मुक्तक संग्रह, २०७९) र ‘आवरण’ (कविता संग्रह, २०८१) प्रकाशित भइसकेका छन् ।
कार्यक्रममा स्रष्टाहरूले समसामयिक विषयमा केन्द्रित कविता र मुक्तकहरू प्रस्तुत गरेका थिए ।