२०८२ भदौ १४ गते शनिवार / Aug 30 , 2025 , Saturday
२०८२ भदौ १४ गते शनिवार
Ads

कथा : खै के रहेछ माया ?

shivam cement
२०८२ भदौ १४ गते ०६:१०
कथा : खै के रहेछ माया ?

–लक्ष्मण सिटौला

ब्याचलर सकेपछि उच्च शिक्षा हासिल गर्न आमाले भनिन्, ‘आफै कमाएर पढ् बाबू ।’

सोचेँ, आमाको कुरा पनि ठीकै हो । मैले पढेका साथीहरू बेरोजगार भएर घरमै बसेको देखेको थिएँ । जति पढे पनि, हाम्रो समाजमा विद्वानको होइन, जागिरेको खोजी हुन्छ – विशेषतः छोरीका बाबुआमाहरूलाई ।

‘पढेर मात्र हुँदैन छोरा, काम पनि खोज ।’

सुतेको बेला पनि आमाको यो कुरा सम्झिन्थेँ, अनि निन्द्रा लाग्दैनथ्यो ।

त्यही बेलामा गोरखा, स्युरिनीटारको एउटा विद्यालयमा अस्थायी शिक्षकको दरबन्दी खुल्यो । विषय पनि मेरै थियो । संचालक समितिको अध्यक्षलाई भेटेँ, सबैको सहमतिमा पढाउन थालेँ ।

विद्यालय नजिकै कोठा लिएँ । भाँडा–भान्साको सामान घरबाट लगेँ । म अंग्रेजीको शिक्षक थिएँ, सबैले माया गर्न थाले । ‘राजन सर’ भनी बोलाउँथे । रमाइलो लाग्यो । केही दिनमै सबैसँग घुलमिल भएँ । विद्यार्थीको प्यारो, अभिभावकहरूको भरपर्दो बन्न पुगेँ ।

घरमा अवस्था खासै राम्रो थिएन । मैले उच्च शिक्षाको तयारीका लागि पैसा कमाउनुपर्ने थियो । भाग्यले साथ दियो – जागिरे भएँ ।

त्यहाँको वातावरण रमाइलो थियो । तल त्रिशूली बग्थ्यो, माथि गाउँ र जंगल ।

तलब बुझ्ने दिन आयो । एकाउन्टेन्ट थिइन् – सरिना । पहिले–पहिले हेरेका थियौँ एकअर्कालाई, बोलचाल खास थिएन । तलब बुझ्न जाँदा कुराकानी भयो । हाम्रो गाउँ उस्तै रहेछ, उनी मामाघरमा बसेर पढेकी रहिछन् । भनिन्, ‘सानैमा देखेको थिएँ तिमीलाई ।’

अचम्म लाग्यो । उनले धेरै ख्याल राखेकी रहिछन् मलाई ।

अर्को महिनाको तलब बुझ्दा तीन हजार बढी पाएँ ।

‘मेरो तलब अघिल्लो महिनाको भन्दा बढी किन ?’

सरिनाले मीठो हाँसो हाँसिन्, तर केही भनिनन् ।

त्यो हाँसोमा अलिकति स्नेह थियो, कर्तव्यबोध पनि । दया र उदारता मिसिएको त्यो हाँसोमा माया छल्किएको महसुस भयो ।

त्यसपछिका हरेक महिना तलबमा तीन–पाँच हजार थपिन थाल्यो । मनमा सन्त्रास थियो । डर लाग्थ्यो । एक दिन सोधेँ ।

‘सर, मैले गर्न सक्ने सहयोग यही हो । अतिरिक्त कक्षा लिनुहोस्, बाँकी म मिलाउँछु ।’

सरिनाको त्यो उत्तर उदारता थियो ।

भोलिदेखि दशौँ कक्षाको अतिरिक्त कक्षा लिन थालेँ । उनी पनि मलाई कुर्दै बस्थिन् । क्लासपछि सँगै खाजा खान थाल्यौँ ।

हामी धेरै नजिक भइसकेका थियौँ ।

शायद यही थियो प्रेम । जहाँ प्रेम मात्र होइन, त्याग, समय, बलिदान, सहयोग, कर्तव्य, खुशी, उदारता, रिस्क र समर्पण मिसिएको हुन्छ ।

स्कूलपछि हामी करिब दुई घण्टा सँगै बस्थ्यौँ । उच्च शिक्षाको योजना बनाउँथ्यौँ । सरिना पनि ब्याचलर सकेकी थिइन् । केही समय काम गरेर पैसा जम्मा गर्ने लक्ष्य दुवैको थियो ।

बर्ष बित्यो । हाम्रो प्रेम गहिरिँदै गयो । समाजमा हल्ला नचलोस् भनेर चुपचाप थियौँ । पढाइ सकिएपछि बिहे गर्ने निर्णयमा पुगेका थियौँ ।

१४ महिना पछि दुवै त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षामा प्रवेश गर्यौँ । मैले अर्थशास्त्र लिएँ, उनले अंग्रेजी । ट्याङला फाटमा सरिनाले कोठा लिइन्, मैले पागामा ।

कमाएर ल्याएको पैसा सकिँदै गयो । सरिनालाई घरको सहयोग थियो । उनी जेठी छोरी थिइन्, दाजुभाइ थिएनन् ।

एकदिन उनले भनिन्, ‘दुई जना दुइतिर बसेर दुई घरको भाडा तिर्नु बुद्धिमानी होइन, एउटै ठाउँ बस्दा खर्च कम हुन्छ ।’

उनी सही थिइन् । हामी सँगै बस्न थाल्यौँ ।

‘लिभ–इन रिलेशनसिप’मा बस्न थालेपछि, घरेलु हस्तकला बनाउँदै हामी महिनाको ३०–४० हजार कमाउँथ्यौँ । धेरै माया गर्थेँ मैंले सरिनालाई । पढाइमा पनि हामी अब्बल थियौँ । योजना थियो — पढाइ सकेर अस्ट्रेलिया जाने ।

हाम्रो गाउँ उस्तै भए पनि संस्कार फरक थियो । म बाहुन थिएँ, उनी नेवार समुदायकी । उनीहरूको परिवार अझै कट्टर ।

गाउँमा हाम्रो बारेमा हल्ला फैलियो । अब हामीले बिहे गर्ने निधो गर्यौँ । त्यही बेला सरिना गर्भवती भइन् । एक महिनासम्म महिनावारी रोकिएको थियो । एकदिन सरिनाको बाबासँग उनको फोनमा झगडा भयो । सरिना धेरै रोइन् । भोलिपल्ट हामी निजी क्लिनिकमा गयौँ । मैले धेरै बिन्ती गरेँ, ‘नफाल है सरि, म जिम्मा लिन्छु ।’

तर उनले मानिनन् । त्यो पहिलो मायालाई गिरायौँ ।

‘अब फर्किन सम्भव छैन सरि । आधा बाटो सँगै हिँडिसक्यौँ, बाँकी पनि पार गर्छौँ,’ मैले भने ।

मैले आमालाई मनाएँ । उहाँले एउटा सर्त राख्नुभयो, ‘उनी नाक छेडेर फुली लगाएर मात्र हाम्रो घर भित्रनुपर्छ ।’

मैले यो कुरा सरिलाई सुनाएँ । सरिना रिसाइन्, ‘तिम्रो जातमा फुली छ भने त्यही फुलीसँग बिहे गर । म आफ्नो जातको अपमान गर्दिन ।’

पहिलो पटक उनका शब्दले मलाई गहिरो चोट दियो । म अलमल परेँ । मैले कोसिस गरेर आमालाई बुझाएको थिएँ, तर के काम लाग्यो ? हाम्रो सम्बन्धमा दरार आउन थाल्यो ।

डिग्री सकिँदै थियो । जातको नाममा झगडा बढ्यो । मन मिल्दैनथ्यो, बोलचाल कम हुँदै गयो । सरिना अब मोबाइल र च्याटमा बढी ब्यस्त हुन थालिन् ।

फेसबुकबाट थाहा पाएँ – उनी बिजय श्रेष्ठ नामका केटासँग नजिकिँदै थिइन् । उनले बोल्नै छोडिन् । खाना बनाउने काममा पनि ध्यान दिँदैनथिन् । म हस्तकला बेचेर ल्याएको पैसाले घर चलाउँथें । एकदिन आमा बिरामी भएको खबर आयो, घर गएको बेला उनले फोन पनि उठाइनन् ।

त्यही बेला थाहा पाएँ – उनका बाबुआमाले मलाई खुलेआम गाली गरेका रहेछन् । उनीहरू सँगै बसेको दुई वर्षलाई जातको नाममा नष्ट पार्न खोजेका थिए ।

फेरि एउटा दिदीको फोन आयो, ‘सरिना बिजय श्रेष्ठसँग गहिरो प्रेममा छिन्, तिमीलाई छोडेर उनी मसँग बस्न आएकी छन् ।’

म बाहुन थिएँ — उनीहरूका लागि ‘कुजात’ । अब आफ्नै जातको केटा भेटिएपछि सरिना खुसी थिइन् रे !

भूकम्प आयो – २०७२ सालको बैशाख १२ गते ।

छ घण्टा पछि बल्ल फोन लाग्यो । तर, सरिनाले होइन, दिदीले उठाइन् । सरिनाले मसँग बोल्न चाहिनन् । त्यो भूकम्पले उनको लागि केही मतलब राखेन । म त भने धेरै रोएँ, ‘वा रे प्रेम !’

अब मलाई प्रेम नै घृणित लाग्न थाल्यो । जात भनेको निहुँ मात्रै रहेछ । धोका दिन जातकै बहाना लिने रे । यति धेरै नजिकिएका थियौँ — एउटै ओछ्यान, एउटै संघर्ष, एउटै सपना । अनि फेरि... जात ?

‘नाक छेडेर फुली लगाउनुपर्छ भने म तिमीसँग बिहे गर्दिन ।’ त्यो वाक्य आज पनि मनमा चिथोर्छ ।

माया यत्ति सस्तो हुँदो रहेछ ? सँगै सुत्नु, सँगै हिँड्नु, सँगै बोल्नु — त्यही माया ?

अहिलेसम्म म कन्फ्युज छु, ‘माया के हो ?’

वास्तवमा, म त उसको लागि ‘कुहिएको अंग’ रहेछु, यही शब्दले घरीघरी चिथोर्छ मलाई आज पनि । मैले मुटु दिएको थिए उसलाई, तर बदलामा मेरो सानो आग्रहलाई पनि लत्याइन् उनले । के त्यहाँ माया थियो त ? सँगै सुत्नु माया हो ? सँगै हिँड्नु माया हो ? सँगै बोल्नु माया हो ? खोइ म आजसम्म कन्फ्युजनमा छु माया के हो ? 

एक शरीरको एउटा अङ्ग कुहिएपछि काटेर फ्याँकिन्छ र उपचार गरिन्छ । कुहिएको चिजलाई फ्याँक्नुभन्दा अर्को विकल्प थिएन । उसको लागि म कुहिएको थिएँ काटेर फालिन् । शायद अब उनी अजर अमर होलिन् । विजय श्रेष्ठसँग धूमधामले बिहे गरिन रे ! आशीर्वाद दिएको छु मैँले । फेरि अर्कोसँग उनले अतिरिक्त बिहे गर्न नपरोस् । समय धेरै व्यतीत भैसकेको छ । थाहा छैन उनी कुन हालतमा छिन् । यद्यपि, म अविवाहित नै छु । बिहे ठूलो कुरो होइन न ठूलो हो जात । प्रेम नै बिटुलो हुने गरेर किन मानिसहरू प्रेमको अभिनय गर्छन् ? म आजको दिनसम्म भ्रममा छु ।

ADV

सम्बन्धित खबर

Advertise