मानव सभ्यताको विकासमा लेखन र अध्ययनको महत्वपूर्ण भूमिका रहिआएको छ । आजको आधुनिक समाज ज्ञान, विज्ञान, प्रविधि र मानवतावादी मूल्यमा आधारित छ, जसको मूल आधार नै पुस्तक हो । पुस्तक ज्ञानको भण्डार हो, जसले मानिसलाई न केवल सूचनामा पहुँच दिन्छ, सोच्ने, बुझ्ने र विवेकपूर्ण निर्णय लिन प्रेरित पनि गर्छ । वर्तमान डिजिटल युगमा इन्टरनेट, सामाजिक सञ्जाल र प्रविधिको आकर्षणका कारण मानिस पुस्तकमाथि भन्दा स्क्रिनतिर बढी आकर्षित हुने प्रवृत्ति देखिन्छ । तथापि, पुस्तक पढ्ने बानी अझै पनि जीवनको उन्नति र आत्मविकासका लागि अत्यन्तै आवश्यक छ ।
पुस्तक पढ्नुको प्रमुख कारण नै ज्ञान प्राप्ति हो । तर ज्ञान मात्र होइन, पुस्तकले व्यक्तिको सोच्ने तरिका, बोलीचाली, लेखन शैली र व्यवहारसम्म परिवर्तन गर्छ । बच्चादेखि वृद्धसम्म सबैका लागि पुस्तक पढ्नु उपयोगी हुन्छ । बाल्यकालमा पढिने पुस्तकहरूले बालबालिकाको सोच र चरित्र निर्माणमा टेवा पुर्याउँछ भने युवावस्थामा पढिने पुस्तकहरूले लक्ष्य निर्धारण, नेतृत्व दक्षता, निर्णय क्षमता र आत्मविश्वास निर्माणमा सहयोग पुर्याउँछ । प्रौढ अवस्थाका मानिसका लागि भने पुस्तक मानसिक सन्तुलन र जीवन दर्शन बुझ्ने माध्यम बन्छ ।
पुस्तक पढ्ने बानीले मानिसको भाषा सिपमा सुधार ल्याउँछ । कुनै पनि भाषा प्रवाहपूर्वक बोल्न, लेख्न वा बुझ्न नियमित अध्ययन आवश्यक हुन्छ । पुस्तक पढ्दा शब्द भण्डार बढ्छ, वाक्य संरचना बुझिन्छ र व्याकरण पनि आत्मसात् हुन थाल्छ । यसका साथै पुस्तक पढ्ने बानीले मानसिक अनुशासन पनि सिकाउँछ । कुनै पुस्तक पढ्न निरन्तरता, एकाग्रता र धैर्य चाहिन्छ, जसले मानिसमा आत्मनियन्त्रण र अनुशासनको विकास गर्छ ।
मानसिक स्वास्थ्यका दृष्टिकोणले पनि पुस्तक पढ्ने बानी अत्यन्त उपयोगी छ । मनोवैज्ञानिकहरूका अनुसार पढाइ तनाव कम गर्ने, चिन्ता हटाउने र दिमागलाई सक्रिय राख्ने क्रियाकलाप हो । अध्ययनले एकाग्रता बढाउँछ, स्मरण शक्ति सुधार गर्छ र मानसिक थकान कम गर्छ । खासगरी जीवनका कठिन मोडमा आत्म सहायता वा प्रेरणात्मक पुस्तकहरूले मानिसलाई सकारात्मक सोच बनाउन मद्दत पुर्याउँछन् ।
पुस्तकले हामीलाई भौगोलिक सिमाना र समयको बन्धनबाट मुक्त गरिदिन्छ । एकैछिनमा हामी इतिहासको कुनै कालखण्डमा पुग्न सक्छौं, विश्वका कुनाकाप्चा चहार्न सक्छौं वा विज्ञान, दर्शन, साहित्य र कला संसारमा रमाउन सक्छौं । यथार्थको सीमितता पार गरेर कल्पनाको दुनियाँमा डुब्न सकिने माध्यम पनि पुस्तक नै हो । यसले मानिसको कल्पनाशीलता, सिर्जनात्मकता र संवेदनशीलतालाई प्रस्फुटित गर्छ ।
पढ्ने बानीले सामाजिक चेतना पनि विकास गर्छ । पुस्तकले मानिसलाई समाजका विविध पक्षहरू बुझ्न मद्दत गर्छ – गरिबी, अन्याय, लिंग भेद, जातीय विभेदजस्ता मुद्दामाथि पुस्तकले गहिरो दृष्टिकोण प्रदान गर्छ । यसरी अध्ययनले मात्र व्यक्तिगत विकास होइन, सामाजिक उत्तरदायित्वबोध पनि बढाउँछ ।
पुस्तक पढ्ने मानिस प्रायः अरूको दृष्टिकोण बुझ्न सक्ने, सहिष्णु र विवेकशील हुने गर्छन् । पढाइले बहुपक्षीय सोच विकास गर्छ र मानिसलाई पूर्वाग्रहबाट टाढा राख्छ । अहिलेको सामाजिक विभाजन, कट्टरता र ध्रुवीकरणको समयमा पुस्तक पढ्ने बानीले विविध विचारहरूको सम्मान गर्न सिकाउँछ, जसले सहिष्णु समाज निर्माणमा टेवा पुर्याउँछ ।
अब कुरा गरौं, कस्ता पुस्तक पढ्ने भन्ने बारेमा । सबै खालका पुस्तक पढ्नु राम्रो हो तर पाठकको उमेर, रुचि, आवश्यकता र स्तरअनुसार पुस्तक छनोट गर्नुपर्नेहुन्छ । बालबालिकाका लागि चित्रसहितका कथा पुस्तक, शिक्षाप्रद बाल साहित्य उपयुक्त हुन्छन् । किशोर किशोरीहरूले प्रेरणात्मक जीवनी, रोचक साहित्य, विज्ञानसम्बन्धी पुस्तक वा इतिहास पढ्न सक्छन् । युवावस्थामा व्यवसाय, मनोविज्ञान, नेतृत्व, दर्शन र आधुनिक प्रविधिसँग सम्बन्धित पुस्तकले ठुलो लाभ दिन सक्छ ।
साहित्यिक पुस्तक पढ्दा भाषाशैली, भाव सम्प्रेषण र साहित्यिक चेतना बढ्छ । काव्य, उपन्यास, निबन्ध, यात्रा वृत्तान्त आदिले जीवनलाई विविध कोणबाट बुझ्न मद्दत गर्छ । विज्ञान र प्रविधिका पुस्तकले तर्क गर्ने बानी र नवीन सोच निर्माण गर्छन् । इतिहासका पुस्तकले अतीत बुझ्न, वर्तमान विश्लेषण गर्न र भविष्यको योजना बनाउन मद्दत गर्छन् । आत्मविकास, ध्यान, योग, समय व्यवस्थापनजस्ता विषयमा लेखिएका पुस्तकले व्यावहारिक जीवनलाई अझ व्यवस्थित बनाउन सहयोग पुर्याउँछन् ।
पढ्ने पुस्तक छनोट गर्दा सधैं विश्वसनीय लेखक, समीक्षाका आधारमा छनोट गर्नु उपयुक्त हुन्छ । लोकप्रियता मात्रको आधारमा पुस्तक छनोट गर्नु उपयुक्त नहुन सक्छ । साहित्यिक गहिराइ, तथ्यको प्रमाणिकता र भाषिक सन्तुलनजस्ता पक्ष विचार गर्नु जरुरी हुन्छ ।
पुस्तक पढ्ने बानी विकास गर्न सुरुमा अलिक गाह्रो लाग्न सक्छ । व्यस्त जीवनशैली, मोबाइलको लत र ध्यान भंग गर्ने कुराहरूले पढ्ने मनोवृत्ति कमजोर बनाउँछन् । तर यदि दैनिक केही समय पढाइका लागि छुट्टाइयो भने बिस्तारै यो बानी बन्न थाल्छ । सुरुमा छोटा पुस्तक वा रुचिका पुस्तक पढ्न सुरु गर्दा सजिलो हुन्छ । एकपटक पढ्ने स्वाद लागेपछि यो बानी जीवनको अभिन्न अंग बन्छ ।
पढ्न समय छैन भन्ने बहाना प्रायः गरिन्छ तर दिनको १५–२० मिनेट पनि पढ्ने बानीले जीवनमा ठुलो प्रभाव पार्न सक्छ । यात्रा गर्दा, विश्रामको समयमा, सुत्नुअघि वा बिहान उठ्नेबित्तिकै पढ्न सकिन्छ । आजकाल अडियो बुक, ई–बुक, मोबाइल एप्स आदिले पढ्न सजिलो बनाएका छन्, जसले प्रविधिको सदुपयोग गर्दै अध्ययनलाई निरन्तरता दिन सकिन्छ ।
विद्यालय, परिवार र समाजले पुस्तक पढ्ने संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । अभिभावकले बालबालिकालाई सानैदेखि पुस्तक उपहार दिनु, सँगै पढ्नु र पुस्तक प्रेमी वातावरण सिर्जना गर्नु आवश्यक छ । विद्यालयहरूले पुस्तकालयमा पहुँच, पठन संस्कार प्रतियोगिता, पुस्तक समीक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ । सामाजिक संस्थाहरूले सामुदायिक पुस्तकालय, खुला पठन केन्द्र स्थापना गरेर समाजमा अध्ययन संस्कारको विकास गर्न सक्छन् ।
आजको प्रतिस्पर्धात्मक युगमा सफल हुन केवल डिग्री मात्र होइन, ज्ञान, सोच, दृष्टिकोण र व्यवहार पनि उत्तिकै आवश्यक छन् । ती सबैको मूल स्रोत नै पुस्तक हो । मोबाइल, टेलिभिजन, सामाजिक सञ्जालमा बिताएको समयको सानो अंश पनि पढाइमा लगाइयो भने जीवनमा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ ।
पुस्तक पढ्ने बानी केवल एउटा सिप होइन, यो जीवनशैली हो । यसले व्यक्तिको बौद्धिक, सामाजिक, भावनात्मक र नैतिक विकासमा गहिरो प्रभाव पार्छ । पुस्तक पढ्ने बानीले मानिसलाई केवल जान्ने बनाउँदैन, बुझ्ने पनि बनाउँछ र यही बुझाइले साँचो अर्थमा शिक्षित बनाउँछ । त्यसैले, आउनुहोस्, आजैबाट पुस्तक पढ्ने बानी विकास गरौं । जीवनको हरेक चरणमा पुस्तकलाई साथी बनाऔं, ज्ञानको उज्यालो फैलाऔं र आफ्नै जीवनलाई उज्यालो बनाऔं ।