काठमाडौं : दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत यसै सन् २०२४ देखि थप ३ वटा क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । हालसम्म कृषि, उत्पादनमुलक र जाहज निर्माणतर्फ मात्रै नेपाली लैजाने गरेको कोरियाले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इण्डष्ट्री क्षेत्रमा पनि कामदार लैजाने भएको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले परीक्षा उत्तीर्ण भएकाहरुलाई लैजान अनावश्यक विलम्ब हुँदा असन्तुष्टि बढेपछि कृषितर्फ भाषा परीक्षा पास भएकालाई वनतर्फ र अन्यलाई सेवा तथा रुट इण्डस्ट्रीतर्फ पनि लैजान सकिने भनेर कोरियाले औपचारिकरुपमा पत्रमार्फत नै जानकारी दिएको बताए ।
दक्षिण कोरियाले मोल्डिङ, कास्टिङ, वेल्डिङ, प्लास्टिक वर्किङ, सर्फेस र हिट ट्रिटमेन्ट जस्ता प्रक्रिया प्रविधिहरू प्रयोग गरी व्यापार क्षेत्रको कामलाई ‘रुट इण्डस्ट्री’ भनि परिभाषित गरेको छ ।
ईपीएस भाषा परीक्षामा पास भएका र भाषा परीक्षा पास गरेका कोरिया रिटर्नीले थप भएका ३ क्षेत्रमा अवसर पाउने बताइएको छ ।
काठमाडौं : इजरायलले आफ्नो भूमिमा हमासको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीहरुको आश्रित परिवारलाई आजीवन भत्ता दिने निर्णय गरेको छ ।
अक्टोबर ७ मा हमासका लडाकुको आक्रमणमा परी लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामीको मृत्यु भएको थियो ।
त्यसैगरी उक्त आक्रमणमा घोडाघोडी–४ बर्दियाका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरीको पनि ज्यान गएको थियो ।
उनीहरुको परिवारले आजीवन भत्ता पाउने इजरायलले बताएको छ । विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिइने इजरायल सरकारले निर्णय गरेको बताइएको छ ।
काठमाडौं : वैदेशिक रोजगारमा गएका १० जना नेपालीको एकैदिन असामयिक निधन भएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा थप ७ जना र कुवेतमा तीन जना नेपालीको मृत्यु भएको हो ।
परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भएका धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर वि.क, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको जनाएको छ । यसअघि सरकारले रुसी सेनामा भर्ती भएका १४ जना नेपालीको मृत्यु भएको सार्वजनिक गरेको थियो । योसँगै रुसी सेनामा भर्ती भएर मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ ।
उता कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान महबुला क्षेत्रमा कारले ठक्कर दिँदा तीन जना नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो भ¥याङका सुजन कार्की, पन्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् ।
कुवेतको पापाजोन कम्पनीमा कार्यरत उनीहरू साथीलाई भेट्न गएका थिए । फर्किने क्रममा बाटो काट्दा कारले ठक्कर दिएपछि उनीहरुको मृत्यु भएको नेपाली दूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिए । मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतमा तीन जना नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको विषयमा जानकारी लिएको मन्त्रालयले जनाएको छ । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन् ।
मन्त्री अर्यालले मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतस्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशनसमेत दिएका छन् ।
नेपाली दूतावासले मृतकहरूले पाउने क्षतिपूर्तिको निमित्त घटनाको प्रकृतिको सम्बन्धमा थप बुझ्न स्थानीय कानून व्यवसायीलाई परिचालन गरिएको बताएको छ ।
काठमाडौं : प्रहरीले वैदेशिक राेजगारका लागि दुबई र राेमानिया पठाइदिने भनि ठगी गरेकाे आरोपमा दुई जनालाई पक्राउ गरेको छ । तनहुँ बन्दिपुर घर भइ हाल काठमाडौंको मैतीदेवी बस्ने विष्णु बहादुर भण्डारीले राज कुमार कुमाललाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भनि दुई लाख पचास हजार ठगी गरेको प्रहरीले बताएको छ ।
शुरूमा सात लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि मासिक ७० हजार रुपैयाँ तलब दिलाइदिन्छु भनि प्रलोभनमा पारी पटक-पटक गरी उक्त रकम लिएको प्रहरीले बताएको छ । भण्डारीलाई प्रहरीले काठमाण्डौंको बत्तीसपुतलीबाट पक्राउ गरेकाे हाे ।
त्यसैगरी रोमानिया पठाइदिन्छु भनि ठगी गरेकाे उजुरीका आधारमा सुर्खेत चिङगार्ड घर भइ हाल काठमाडौंको नयाँबानेश्वर बस्ने सुरेश रानालाई पनि प्रहरीले पक्राउ गरेको छ । रानाले नवराज मल्ललाई असी हजार रुपैयाँ तलब हुने भन्दै त्यसको लागि सात लाख रुपैयाँ लाग्छ भनि विश्वास दिलाएर पटक-पटक गरी दुई लाख साठी हजार रुपैयाँ रकम लिइ सम्पर्कविहीन भएकाे प्रहरीले बताएको छ ।
दुवै जनालाई वैदेशिक राेजगार ऐन २०६४ अनुसार अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरी बताएको छ ।
काठमाडौं : रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा थप ७ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेको हो ।
मृत्यु हुनेहरुमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर वि.क, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो । सरकारले यसअघि रुसी सेनामा भर्ती भएका १४ जनाको मृत्यु भएको सूचना सार्वजनिक गरेको थियो । योसँगै रुसी सेनामा भर्ती भएर मर्ने नेपालीको संख्या २० पुगेको छ ।
काठमाडौं : कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान महबुला क्षेत्रमा कारले ठक्कर दिँदा तीन जना नेपालीको घटनास्थलै मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौं सानो भर्याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् ।
कुवेतको पापाजोन कम्पनीमा कार्यरत उनीहरू साथीलाई भेट्न गएका थिए । फर्किने क्रममा बाटो काट्दा कारले ठक्कर दिएपछि मृत्यु भएको नेपाली दूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिए ।
मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले नक्कली सुन देखाएर नेपाल बैंकको ४ करोड र विभिन्न व्यक्तिहरुलाई अमेरिका पठाइदिन्छु भनि थप एक करोड गरी ५ करोड ठगी गरेर फरार रहेका व्यक्तिलाई बौद्धस्थित हायात क्यासिनोबाट पक्राउ गरेको छ ।
प्रहरीले सप्तरी कन्चनरुप वडा नं. ८ घर भएका टोकनाथ साहलाई बुधबार बिहान पक्राउ गरेको हो । साहले नेपाल बैंक लिमिटेडमा नक्कली सुन धितो राखी ४ करोड १४ लाख ८४ हजार कर्जा लिइ उक्त कर्जा नतिरी फरार भएपछि उच्च अदालत विराटनगरले उनलाई ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ बिगो र ३ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
त्यसका अतिरिक्त साह विभिन्न व्यक्तिहरुलाई वैदेशिक रोजगारका अमेरिका पठाउने भनि एक करोड रुपैयाँ ठगी गरेर फरार भएका थिए । उनी हायात क्यासिनोमा आएको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका डीएसपी गोविन्द पन्थीको नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । साहले युवा युवतीहरुलाई विदेश पठाउने प्रलोभनमा पार्न रवाफपूर्ण व्यवहार देखाउने, आफू अमेरिकाका सम्पूर्ण ठाउँ घुमे जसरी व्याख्या गर्ने र डिमाण्डको कोटा थोरै भएकाले पहिला जो आउँछ उही जान्छ भनि दबाब प्रभावमा पारी ठगी गर्ने गरेको खुलेको प्रहरीले बताएको छ ।
त्यतिमात्र नभइ आफूलाई दिपक सोनी भनेर पनि चिनाइ विभिन्न व्यक्तिलाई प्रयोग गर्ने गरेको र साहले विभिन्न कम्पनीका १५ थान सिम प्रयोग गरेको खुलेको पनि प्रहरीले बताएको छ । साहलाई उच्च अदालत विराटनगरबाट भएको ३ वर्ष कैद र ९८ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ बिगो फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको प्रहरीले बताएको छ । साह पक्राउ परेपछि अपराधबाट बच्न एकछिन भागे पनि सधैं उम्कन नसकिने दृष्टान्तको पुनःपुष्टि भएको भन्दै डीएसपी पन्थीका कार्यशैलीले चर्चा र प्रशंसा भएको छ ।
काठमाडौं : वैदेशिक रोजगारका क्रममा मलेसियामा कार्यरत रहँदा मानसिक समस्यामा परेका बझाङको केदारस्यूँ गाउँपालिका – ७ निवासी दिपक बहादुर धामी लामो प्रयासमा नेपाल फर्किएका छन् ।
मान्यता प्राप्त चिकित्सकको प्रेसक्रिप्सन नभएको भन्दै नेपाल एयरलाइन्सले आफ्नो फ्लाइटमा चढाउन नमानेपछि दुई दिनभन्दा बढी समय मलेसियाको क्वालालम्पुर विमानस्थलमा अड्किएका धामीलाई मलेसियास्थित नेपाली दूतावासको पहलपछि हिमालय एयरलाइन्सको उडानमार्फत बुधबार बिहान नेपाल ल्याइएको हो ।
मानसिक समस्यामा परेका धामी नेपालबाट गएको कम्पनी छोडेर काम गर्न गएका कारणले प्रक्रिया मिलाउन नै एक हप्ता लागेको थियो । व्यक्तिगत र गैरसरकारी पहल गर्दा कम्पनीले धामीलाई नेपाल फर्कन नदिएपछि नेपाली दूतावासले नै कम्पनीसँग कुरा गरेपछि मात्रै धामीलाई नेपाल पठाउन कम्पनी सहमत भएको थियो ।
धामीलाई नेपाल फर्काउन शुरुवातमा १५ सय रिंगेट जम्मा गरेका नेपालीले मलेसियामा यताउता गर्दा उक्त रकम सकिएपछि थप १ लाख ८० हजार नेपालबाट मगाएर टिकट लिनुपरेको उद्धारमा सक्रिय समाजसेवी चक्र मल्लले बताएका छन् । मानसिक समस्यामा परेका धामीलाई नेपाल फर्काउन उनलाई पठाउने म्यानपावर कम्पनी लालधनुष इनन्टरनेशनल सर्भिस प्रा.लि., मलेसियास्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, मलेसियास्थित विभिन्न व्यक्ति तथा सामाजिक संघसंस्थाले महत्वपूर्ण सहयोग गरेका छन् ।
त्यस्तै दूतावासका प्रथम सचिव प्रेम बहादुर बुढथापा र बलिराम प्रसाद धामी, टेक बहादुर बुढा, सुदूरपश्चिम मलेसिया तथा साउदी समाजमा आबद्ध सदस्यहरु, प्रवासी नेपाली मञ्च मलेसिया र राष्ट्रिय स्वतन्त्र पार्टी मलेसियाले उनको उद्धारका लागि विशेष पहल गरेका थिए ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो कार्यकालमा दिएका १६ बुँदे निर्देशन कार्यान्वयनमा लैजान सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रालयले बुधबार सहसचिव गोविन्द प्रसाद रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यमा उपसचिव मेघनाथ रिमाल र शाखा अधिकृत प्रकाश पन्थी रहेका छन् ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हालैका दिनमा वैदेशिक रोजगारी व्यवस्थापनसँग सम्बन्धित विशेषगरी पूर्वप्रस्थान अभिमुखीकरण तालिमको शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुनेसम्बन्धी विषय, दक्षिण कोरियामा ईपीएस प्रणालीबाट कामदार पठाइरहेको अवस्थाका बीच ई७ भिसामा समेत कामदार पठाउने विषय, विभिन्न देशबाट कामदार माग भइ आएकोमा मन्त्रालयबाट गठन भएको समितिबाट माग प्रमाणीकरण गर्ने विषयलगायतका सम्बन्धमा आएका समाचार, कामदारका गुनासा र सरोकारवाला संघसंस्थाबाट उठान भएका सवालहरु सम्बोधन गर्न समिति गठन गरेको बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीको कार्यकालमा भएका शुल्क वृद्धिसम्बन्धी विषयहरु तत्काल कार्यान्वयन नगर्न एवम् कतिपय विषयहरु विस्तृत अध्ययन गरेर कार्यान्वयन गर्न निर्देशन दिएका थिए । समितिलाई २१ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश छ ।
काठमाडौं : भिजिट भिसाको सेटिङमा पठाएर मानव तस्करीमा संलग्न रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले धादिङ त्रिपुरासुन्दरी घर भइ हाल काठमाडौंको माछापोखरी बस्ने लक्ष्मी भन्ने बबि श्रेष्ठ र भविलाल थापालाई पक्राउ गरेको हो ।
प्रहरीले थापालाई सेटिङ मिलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएको अवस्थामा पक्राउ गरेको हो भने श्रेष्ठलाई थापाको बयानका आधारमा पक्राउ गरेको हो । श्रेष्ठ र थापाले ३ जना महिलालाई भिजिट भिसामा दुबई पठाइदिन्छु भनि प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले ६ लाख रुपैयाँ लिएको समेत खुलेको प्रहरीले बताएको छ ।
त्यसैगरी खिमा डाँगीसमेत २ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनि ६० लाख रुपैयाँ लिइ सम्पर्कविहीन भइ ठगी गरेकोे उजुरीका आधारमा प्रहरीले उदयपुरको त्रियुगा घर भइ हाल काठमाडौंको टोखा बस्ने लोक बहादुर राउतलाई पनि पक्राउ गरेको छ ।
उनले अमेरिका पठाउन प्रतिव्यक्ति ८० लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि प्रतिमहिना ७ लाख ५० हजार रुपैयाँ तलब हुने प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भनि विश्वास दिलाइ पटक–पटक गरी उक्त रकम हात पारेको प्रहरी बताएको छ । राउतलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको तथा थापा र श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान शाखा पठाइएको प्रहरीले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies