काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकहरुको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन् ।
उनले आजपनि नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भएपनि वैदेशिक रोजगारमा रहेका नागरिकहरुको श्रमको सम्मान गर्न नसकेको आरोप लगाए । उनले प्रधानमन्त्री, मन्त्री र सांसदहरुको तलबभत्ता विदेशबाट पठाइएको रेमिटेन्सले धानेको छ हामीले नुनको सोझो गर्नु पर्दैन ? भन्दै प्रश्न गरे ।
वैदेशिक रोजगारीको नाममा आजपनि लाखौं मानिस दलालबाट ठगिएको उनको भनाइ छ । वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयले आवश्यक कूटनीतिक पहल गर्न नसकेको उनको आरोप छ ।
उनले भने, ‘अहिलेमात्रै पनि मुलुकमा १४ खर्ब ३२ करोडको रेमिट्यान्स विदेशबाट नेपाली नागरिकले पठाएको हो । आज हामी सांसदहरु, प्रधानमन्त्री, मन्त्री, यहाँको कर्मचारी सबै मानिसहरुको तलव र भत्ता यही विदेशबाट पठाइएको रेमिटले धानेको छ । हामीले नुनको सोझो गर्नुपर्छ कि पर्दैन ? यहाँ श्रम र परराष्ट्र मन्त्रालय छ भन्छन् । आज लाखौं नेपाली नागरिकहरु दलालको ठगीमा परेर घरबार बिहिन भएका छन् । तर श्रम मन्त्रालयमा सिर्फ झण्डा हालेर बस्ने हो कि मन्त्रीले जनताका लागि काम गर्ने हो ? यदि त्यो मन्त्रायले जनताका लागि काम गर्दैन भने त्यो मन्त्रालयको कुनैपनि काम छैन । अहिले पनि नेपाली अलपत्र परेका छन् । परराष्ट्र मन्त्रालयले कुनैपनि कुटनीति गाँसेको छैन । जहाँ गएपनि नेपाली नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ सभामुख महोदय ।’
वेदेशिक रोजगारीका लागि जहाँ गएपनि नेपाली नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य गर्न उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।