२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

सिन्डिकेटमा हिस्सेदार नखोज्न सुझाव

२०८२ जेठ १ गते ०६:२०
सिन्डिकेटमा हिस्सेदार नखोज्न सुझाव

काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरूले सिन्डिकेट विरोधी आन्दोलनमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अडान प्रष्ट र सिन्डिकेटमा कुनैपनि प्रकारले हिस्सेदार हुन नहुने सुझाव राखेका छन् । संघद्वारा बुधवार आयोजित अन्तरक्रियामा फ्लोरबाट आ–आफ्ना धारणा राख्दै कतिपय व्यवसायीले सिन्डिकेटमा विगतमा संघको नेतृत्वले लोभ राखेका कारण विश्वास र भरोसा गरिहाल्ने स्थित नरहेको पनि प्रतिक्रिया राखे । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका कार्यवाहक महासचिव तुलसी पुरीले सिन्डिकेटका विरोधमा सम्पूर्ण व्यवसायीको नैतिक र भौतिक समर्थन रहने र आवश्यक परे पेशा व्यवसायको रक्षाका लागि २०६१ भदौ १६ को अवस्थामा उत्रिन पनि तयार रहेको बताए । उनले सिन्डिकेटका पक्षमा उभिनु आमव्यवसायीलाई पेशा व्यवसायबाट वञ्चित गराउने दुस्साहस हुने भन्दै त्यस्तो दुस्साहस नगर्न पनि चेतावनी दिए ।

संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्रीले संघको नेतृत्व सिन्डिकेटका विरोधमा उभिनु आवश्यक र सह्रानीय  विषय भएपनि प्राविधिकरूपमा समस्या समाधान गर्ने चातुर्यता अपनाउन नसकेको अवस्थामा परिणाम सोचे भन्दा फरक आउन सक्ने भन्दै संघको नेतृत्व र कार्यसमिति सर्वेसर्वा र पूर्ण नमानी बाहिरी पक्षको पनि सुझाव लिन सक्नुपर्ने सुझाव दिए ।

सिन्डिकेट विरोधी आन्दोलनमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सहितका संस्थालाई साथमा लिएर मन्त्रालयले  मलेसियासँग गर्ने श्रम सम्झौतामा के हुँदैछ भनेर चनाखो रहनुपर्ने कतिपय अवस्थामा रोजगारदाताहरूलाई खबरदारी गर्ने, मलेसियाका रोजगारदातालाई नेपाल  बोलाएर छलफल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम प्रयोग गरेर विषयवस्तुको अन्तर्राष्ट्रियकरण गर्नुपर्ने सुझाव दिए ।

एसोसिएसनका पूर्वकार्यवाहक अध्यक्ष ऋषि शर्माले गाम्कालगायतका केही सिन्डिकेटमा परराष्ट्र मन्त्रालय सहमतिमा लागेकाले परराष्ट्रमन्त्री र सचिवलाई मलेसिया सिन्डिकेटका बारेमा छलफल गरी सूझाव दिन आग्रह गरे ।

एसोसिएसनका उपाध्यक्ष रामप्रसाद गैरेले संघको नेतृत्वले सिन्डिकेटका विरोधमा कार्यक्रम गरेर अत्यन्तै सकारात्मक सुरुवात गरेको भन्दै हरेक निर्णयमा व्यवसायीको हक सुरक्षा हुन्छ, हुँदैन भनेर विश्लेषण गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

व्यवसायी खड्गबहादुर बुढाथोकीले संघले आम व्यवसायीलाई समेट्नुपर्ने सुझाव दिए ।

मञ्च नेपालका महासचिव मिलन कट्टेलले संघको नेतृत्वले हिजोका सिन्डिकेटधारीलाई हाल अविभावक मानेर काम गर्नुपर्ने कारण के हो ? भन्ने प्रश्न राख्दै संघको कार्यालयबाट त्यस्ता तत्वलाई नहटाएसम्म आम व्यवसायी संघको नेतृत्व सिन्डिकेटको विरोधमा अन्तिमसम्म लडाइँ लड्छ भन्ने अवस्थामा नरहने भएकाले संघको नेतृत्वले सबैभन्दा पहिले आफूलाई स्वच्छ र इमानदार प्रमाणित गर्नुपर्ने सुझाव दिए ।

व्यवसायी केदारनाथ अधिकारीले हाल दुबई भिसा सेन्टरको पनि तयारी अघि बढेको भन्दै त्यसमा संघको धारणा मागे । उनले भने, ‘हाल मलेसियाको सिन्डिकेटमा मात्रै जोड दिइएको छ । त्यसरी हुँदैन सबै देशमा भएका सिन्डिकेटका विषयमा संघको आवाज उठ्नुपर्छ ।’

व्यवसायी सोम लामा तामाङले संघले उचित खबरदारी नगरेको देखिएको भन्दै यता व्यवसायीलाई सिन्डिकेटको विरोधमा हस्ताक्षर गराएर उता अध्यक्षले भाग पाउने गरेको हल्ला चलेको बताए । उनले भने, यसमा ठोस् उत्तर चाहियो ।’

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी महिला संघकी प्रतिमा महर्जन, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका अध्यक्ष सन्तकुमार लामा, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका कार्यवाहक अध्यक्ष खड्कबहादुर क्षेत्री (राज केसी), नेपाल वैदेशिक रोजगार व्यवसायी तमुधी समाजका अध्यक्ष तीर्थबहादुर गुरुङ, संघका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर