२०८१ मंसिर १३ गते बिहिवार / Nov 28 , 2024 , Thursday
२०८१ मंसिर १३ गते बिहिवार

प्रधानमन्त्रीमाथि दबाब बढाउँदै कांग्रेस, नेताहरूसँग चिनियाँ टोलीको गोप्य भेट

ADV
निमिष झा
२०८१ मंसिर १३ गते ०६:३५
प्रधानमन्त्रीमाथि दबाब बढाउँदै कांग्रेस, नेताहरूसँग चिनियाँ टोलीको गोप्य भेट

काठमाडौं : प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले बीआरआईको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाउँदै लगेको छ । अनुदान भए मात्र बीआरआई स्वीकार गर्नुपर्ने अडानमा रहेको कांग्रेसले प्रधानमन्त्री ओलीलाई ऋण स्वीकार नगर्न फेरि दबाब दिएको छ ।

बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष तहका नेताहरूको बैठकले बीआरआईबाट ऋणको भार नथप्नेगरी अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको हो ।

‘बीआरआई अनुदानका रूपमा भए मात्रै स्वीकार गर्ने, अन्यथा यसलाई ग्रहण नगर्ने भन्ने हाम्रो निष्कर्ष छ’, बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ।

‘म आफैं परराष्ट्रमन्त्री हुँदा बीआरआईको एमओयूमा हस्ताक्षर भएको हो । बीआरआईअन्तर्गतको परियोजना लिने विषयमा कांग्रेसमा द्विविधा छैन’, महतले भने, ‘तर, देशलाई ऋणको भार थप्ने अवस्थालाई स्वीकार्न सकिँदैन ।’

कांग्रेसले सत्ता साझेदार दलका रूपमा सुझाव दिएको र सरकारका तर्फबाट निर्णय गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई नै छाडिएको महतले बताए ।

बैठकमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा सहभागी थिए । त्यसैगरी परराष्ट्रमन्त्री डा. आरजु राणा, गृहमन्त्री रमेश लेखक तथा प्रवक्ता महत पनि सहभागी थिए ।

यसअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पनि कांग्रेसले बीआरआईका ऋण लिन सकिने अडान दोहोर्‍याएको थियो । कांग्रेसको दबाबपछि प्रधानमन्त्री ओलीले पनि बीआरआईमा अनुदान नै लिने भनेका छन् ।

कांग्रेसले सन् २०१७ मा भएको समझदारीका आधारमा विभिन्न परियोजना बीआरआईको फ्रेमवर्कभित्र राखेर ती सबै अनुदानमा दिन चीन तयार भयो भने कार्यान्वयन योजनामा हस्ताक्षर गर्न सरकारलाई सुझाव दिएको छ ।

बुधबार विराटनगर पुगेका कांग्रेस महामन्त्री गगन थापाले पनि बीआरआईबारे सत्ता गठबन्धनमा फरक धारणा नभएको जिकिर गर्र्दै कांग्रेसको धारणा नै सत्ता गठबन्धनको धारणा भएको बताए ।

प्रधानमन्त्री ओली १७ मंसिरमा चीनको ४ दिने औपचारिक भ्रमणमा जाँदै छन् । त्यस अगावै सत्ता गठबन्धनमा बीआरआईबारे एउटै धारणा बनाउन कांग्रेस नेताहरू प्रयासरत छन् । तर, प्रधानमन्त्री ओलीको दल एमाले भने अझ दोधारमै छ । एमालेका अन्य नेताहरूले बीआरआई लिँदा समस्या नपर्ने बताइरहेका छन् । 

तर, कांग्रेस नेताहरूले भने बीआरआई ऋणमा लिनै नहुने अडानमै छन् । यस्तो बेलामा सत्ता गठबन्धनमा समेत खटपट हुन सक्ने देखिएको छ ।

चीनले अघि सारेको बीआरआई परियोजनामा नेपालले सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको थियो । त्यसपछि नेपालले १२ मे २०१७ मा बीआरआई फ्रेमवर्क समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । उक्त पत्रमा तत्कालीन परराष्ट्रमन्त्री एवं प्रवक्ता कांग्रेस नेता महतले गरेका थिए ।

बीआरआईमा केके गर्न सकिन्छ भन्नेबारेमा चीनले पठाएको प्रस्तावमा नेपालले छलफल गरेर त्यसलाई संशोधन गरी फर्काएको थियो । तर, नेपालले संशोधन गरेर पठाएको प्रस्तावमा चीनले सहमति जनाएको छैन । बीआरआई परियोजना कार्यान्वयनमा आइसकेपछि चीनले जतिवटा काम नेपालमा गर्छ, ती सबै बीआरआईअन्तर्गत हुने भनेको छ तर त्यसमा सत्ताधारी दल कांग्रेस र एमालेले मानेका छैनन् ।

चीनले पठाएको प्रस्तावमा प्रधानमन्त्री ओलीले पुनः छलफल गरिरहेका छन् । बीआरआईलगायत चीनले गरेको अन्य प्रस्तावको बारेमा छलफल गर्नका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र कांग्रेसबाट महामन्त्री थापासहितको कार्यदलमा छलफल भइरहेको छ ।

चीनले गरेको प्रस्तावमा टुंगो लागेपछि बिहीबार चीन जान लागेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोही आधारमा चिनियाँ नेतृत्वसँग छलफल गर्ने छन् ।

परराष्ट्रमन्त्री आज चीन जाँदै

प्रधानमन्त्री ओलीको भ्रमणको तयारी स्वरूप परराष्ट्रमन्त्री राणा बिहीवार चीन जाँदै छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चीन जान लगेकी उनले समकक्षीसँग चीनको छेङ्दुमा शुक्रबार भेटवार्ता गर्ने छन् ।

भेटमा प्रधानमन्त्री ओलीको भ्रमण, २ देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।

ओली–सी भेट १८ गते

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच १८ मंसिरमा भेटवार्ता हुने भएको छ ।

बेइजिङ पुगेको भोलिपल्टै चिनियाँ राष्ट्रपतिलगायत अन्य उच्च चिनियाँ अधिकारीहरूसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुने भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार १७ मंसिरमा चीन प्रस्थान गर्ने प्रधानमन्त्री ओली ४ दिन बेइजिङमा बिताएर २० मंसिरमा फर्कने छन् ।

प्रधानमन्त्री १९ मंसिरमा नेपाल उद्योग वाणिज्य महासंघ र पेकिङ युनिभर्सिटीले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी चलिरहे पनि भ्रमणको आधिकारिक घोषणा भने भइसकेको छैन । सम्भवतः १४ मंसिरमा बेइजिङ र काठमाडौंबाट एकसाथ भ्रमणको घोषणा हुने छ । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्स चार्टर्ड गरेर बेइजिङ जाने र त्यसैमा फर्किनेगरी भ्रमणको तयारी छ ।

चिनियाँ उच्चस्तरीय काठमाडौंमा

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेका बेला चीनको एक उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । 

बीआरआई परियोजना कार्यान्वयनका विषयमा सत्ता गठबन्धनमा रहेका दलहरूबीच नै विवाद भइरहेका बेला चीनबाट गोप्य रूपमा उच्च स्तरीय टोली आएको हो ।

चीनको स्वशासित क्षेत्र सिजाङ प्रान्तस्थित विदेश मामिला कार्यालयका उपमहानिर्देशक लिउ लिनको नेतृत्वमा ६ सदस्यीय टोली काठमाडौं आएको हो । 

टोलीलाई नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । टोलीमा पाबु झुओमा, काइरेन याङसी,  पेङ युआन युआन, बसाङ र झोउ जियान छन् ।

शनिबारसम्म काठमाडौंमा रहने टोलीले केही सरकारी अधिकारी र राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने छ । उनीहरूले बुधबार केही नेताहरूसँगको छलफल गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise