
काठमाडौँ : नेपाली सङ्गीतमा पहिलो मुक्तक एल्बम सार्वजनिक भएको छ । 'मुक्तक' नामक एल्बम सोमबार काठमाडौँमा सार्वजनिक गरिएको हो ।
मुक्तककारहरू रश्मि असफल, राधा कणेल र घनेन्द्र ओझाका २/२ वटा मुक्तक विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा तयार पारिएको हो ।
एल्बम छन्द सारथि, सुप्रसिद्ध छन्दकवि रमेश खकुरेल, पूर्व मुख्य सचिव तथा क्यानाडाका लागि पहिलो नेपाली राजदूत साहित्यकार डा. भोजराज घिमिरे, कवि एवं समालोचक प्रा. डा. देवी नेपाल, सङ्गीतकार/गायक कन्हैया सिंह परियार, स्रष्टाका मातापिताहरू मीरा कणेल, लक्ष्मीभक्त कणेल, बद्रीप्रसाद ओझालगायतले सार्वजनिक गरेका थिए ।
एल्बममाथि टिप्पणी गर्दै प्रा. डा. देवी नेपालले मुक्तक आफैँमा छोटोमा विशिष्ट र चामत्कारिक अभिव्यक्ति दिने विधा भएको उल्लेख गर्दै पहिलो पटक नेपाली मुक्तकलाई एल्बमका रूपमा ल्याएकामा बधाई दिए ।
नेपालले गर्न बाँकी काम खोज्दै ती काम गर्ने स्वभाव स्रष्टा ओझा र सङ्गीतकार/गायक श्रेष्ठको रहेको भन्दै त्यसकै उपज उक्त एल्बम रहेको बताए ।
प्रा. डा. नेपालले नेपाली मुक्तक लेखनमा अझै परिष्कार र तीव्र झड्काको आवश्यकता रहेको पनि बताए ।
स्रष्टा ओझाले संस्कृतको चतुष्पदीबाटै मुक्तक विकसित भएको तथा फारसीमा चतुष्पदीकै स्वरूपमा रुबाई लेखिएको उल्लेख गर्दै आफूहरूले चतुष्पदी र रुबाईको सम्मान गर्दै शास्त्रीय छन्द/बहरमा मुक्तकहरू रचना गरेर एल्बम ल्याएको सुनाए ।
ओझाले चतुष्पदी पिङ्गल छन्दमा र रुबाई फारसी छन्द (बहर)मा लेखिने बताए ।
साहित्यकार डा. भोजराज घिमिरेले मुक्तक लेखनको शास्त्रीय परम्परालाई गजल लेखनको शास्त्रीय परम्परालाईझैँ निरन्तरता दिएकामा खुसी व्यक्त गरे ।
मुक्तकहरू भुजङ्गप्रयात्, स्रग्विणी, दिक्पाल, पञ्चचामर, विधाता छन्दमा रचिएका छन्, जुन फारसी बहरहरू मुतकारिब मुसम्मन सालिम, मुतदारिक मुसम्मन सालिम, मुजारे मुसम्मन अखरब, हजज मुसम्मन मकबुज र हजज मुसम्मन सालिमसँग समान छन् ।
कार्यक्रममा ६ वटै मुक्तक सन्तोष श्रेष्ठले प्रत्यक्ष गाएका थिए । प्रत्यक्ष गायनमा बाँसुरीमा धनबहादुर गुरुङ र तबलामा शम्भु श्रेष्ठले साथ दिएका थिए ।
दियालो साहित्य सरगमको आयोजनामा सम्पन्न कार्यक्रमको सहजीकरण साहित्यकार गणेशप्रसाद खतिवडाले गरेका थिए ।