२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मनपुरा !

shivam cement
खिम केसी
२०८२ कार्तिक ११ गते १३:५७
Shares
मनपुरा !

तिम्रो प्रार्थनाको डोरी समाउँदै 
म उक्लनेछु जिन्दगीको घनघस्या 
जूनहरु आकाशबाट ओझेलिनु अगावै 
सपनाका शितहरु कर्कलाको पातबाट 
टिल्पिलिनु पहिले निङ्लासैनीको साङ्लोमा 
जिजीविषा भाकल छाडेर बढिरहेछ यात्रा 
निरन्तर पाजुलै पाजुलो पाटनतिर 

मनपुरा,
अब मलाई उकालो उकालो लाग्ने छैन 
न भोक न प्यास न थकान नै 
हिँड्ने बेला तिमीले छोडिदिएकी त्यही स्पर्श 
ऊर्जा हुनेछ मेरो लागि 
र, 
म बगिरहनेछु निरन्तर 
जो निश्चल सुनरियाको कलकल बहाब
सर्लक्कै पोखिदिएकी थियौ मेरै पैतालामा 
लाग्छ अब बाँध फुटेर भङ्गालिनेछैन जीवनका खहरेहरु ।

हो मनपुरा,
ठाडी भाकामा बाँध्नुपर्नेछैन 
तिमीले खसमका खातिर विरहका सुस्केराहरु 
मलाई तिम्रै हात समाएर हेर्नुछ खतडाबाट खलङ्गा 
अनारखोलीको ओरालो झरेर शैलेश्वरीमा कसम खाइ 
कोर्नुछ एउटा क्यानभासभित्र 
तिम्रो र मेरो सुखदुःखका रंगहरु 
साथमा खेल्नुछ तालमा पैतला मिलाउँदै 
जीवनका गौराहरु अनादीकालसम्म।।

(दाङ, हाल अमेरिका )

सम्बन्धित खबर