२०८२ कार्तिक ११ गते मङ्गलवार / Oct 28 , 2025 , Tuesday
२०८२ कार्तिक ११ गते मङ्गलवार
Ads

‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने, कोशी र मधेशमा भारी वर्षा हुने

shivam cement
२०८२ कार्तिक ११ गते १६:२९
‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने, कोशी र मधेशमा भारी वर्षा हुने

काठमाडौं : बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुद्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ ।

हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

यो प्रणालीले समुद्री क्षेत्रबाट ठुलो मात्रामा जलवाष्प बोकेर ल्याएकाले नेपालको विशेषगरी कोशी र मधेश प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उनले बताए । यसको प्रभाव बागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।

उनकाअनुसार चक्रवातको प्रभाव १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार दिउँसोसम्म रहने पूर्वानुमान छ । उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पनि उनले जानकारी दिए । उनले हाल ठुला नदीहरूको बहाव सामान्य अवस्थामा भएपनि चक्रवातका कारण नदीका जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताए ।

बागमती र कोशीजस्ता ठुला नदीमा ठुला बाढी आउने जोखिम रहेको उनको भनाइ छ । यद्यपि नदी सतह शतर्कता तहसम्म पुग्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन उनले आग्रह गरे ।

उनले मधेश र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोला–नालामा भने तीव्र बहावको सम्भावना रहेको बताए । १३ गते रातिदेखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन उनले आग्रह गरे ।

जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले मंगलबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिइन् । हिमपातका कारण पर्वतारोहण तथा दैनिक जनजीवनमा पनि असर गर्ने उनको भनाइ छ ।

उनले पश्चिमी वायु साथै अरब सागरमा बनेको न्युनचापीय प्रणालीको प्रभावले गर्दा मंगलबारको बदली देखिएको बताइन् । बुधबारदेखि विस्तारै यो सुधार हुँदै आउने उनको भनाइ छ । बिहीबारबाट भने फेरि चक्रवात ‘मोन्था’ सक्रिय हुने भएकाले नेपालको मौसम प्रभावित हुने उनले जानकारी दिइन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise