दाङ : दाङको देउखुरी क्षेत्रको खेतीयोग्य जमिनमा राप्ती नदीले कटान गरेपछि सदाबहार आफ्नै बेगमा बगिरहन्छ । खेतीयोग्य जमिनको वारपारमा राप्ती नदी बगिरहेको छ । नदी बीचको ठूलो भू–भागमा छुट्टै बगर छ । त्यही बगरमा किसानहरूले आफ्नो खेतको हिस्सा खोज्दैछन् । वर्षायाम सकिएको छ । अब राप्ती नदीमा पानीको बहाब पनि घट्दै गइरहेको छ । यही मौकामा वर्षमा एक सिजन मात्रै खेती गर्छन् किसानहरू ।
राप्ती नदीले खेतीयोग्य जमिनलाई बगर बनाएपछि प्रभावित क्षेत्रका किसान खरबुजा खेतीतर्फ लागेका छन् ।
वर्षेनी बाढीले सयौं बिगाहा जमिन बगर बनाउने गरेको छ । बगर हुनबाट जोगिएको जमिनमा किसानहरुले एक सिजन भएपनि खरबुजा खेती गरेका छन् ।
हिजोआज किसानहरू बगरमा खरबुजाको बिउ लगाउनका लागि व्यस्त छन् । बगरमा ढुंगाहरू हटाएर खरहरू पन्छाएर खरबुजाको बिउ रोप्नको लागि तयारी गर्दैछन् । ‘खेतमा नदी पसेर आफ्नो जग्गा कहाँ हो भनेर पत्तो छैन’देउखुरी सेम्रहवाकी प्रमिला थारुले भनिन्,‘नदीले बगर बनाएर छाडेको भागमा अनुमानमा भागबण्डा गरेर खेती गर्ने गरेका छौं ।’ मंसिरको अन्तिम सातादेखि माघ महिनासम्म खरबुजाको बिउ रोप्ने र असारसम्म खरबुजा तयार बनाएर बेचिसक्ने गरेको उनले बताइन् । ‘बगरमा अरु खेती हुँदैन, वारपार नदी बगिरहेको छ’ उनले भनिन्,‘जोत्नको लागि ट्याक्टर, गोरु लग्न सकिँदैन ।’
खेतलाई राप्ती नदीले बगर बनाइ दिएपछि एक सिजन भएपनि खरबुजा लगाउने गरेको देउखुरी बलरामपुरकी फुलमाया चौधरीले बताइन् ।
‘बगर भनेर पहिले बाँझै हुन्थ्यो’ चौधरीले भनिन्,‘बगरमा खरबुजा राम्रो फल्दो रहेछ ।’ पछिल्लो पाँच वर्ष यता खरबुजा लगाउँदै आएको उनले बताइन् । करिब १० कठा बगरमा खरबुजा खेती गरेको उनको भनाइ छ ।
खरबुजा लगाएपछि राम्रो आम्दानी गर्न सकिने देउखुरीका रोहित चौधरीले बताए । बगरमा लगभग १२ कठ्ठामा खरबुजा लगाउने गरेको उनले बताए ।
खरबुजा लगाएर बगरको सदुपयोग भएको र राम्रो आम्दानी भएको उनले बताए । लमही नगरपालिकाका वनगाउँ, सेम्रहवा, बलरामपुर गाउँमा खरबुजा खेती गर्ने गरेका छन् ।