२०८२ कार्तिक ३ गते सोमवार / Oct 20 , 2025 , Monday
२०८२ कार्तिक ३ गते सोमवार
Ads

समृद्धि र सुशासनको आकांक्षा पूरा गर्ने संकल्पका साथ अघि बढौं : प्रधानमन्त्री कार्की

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ३ गते ०९:०८
समृद्धि र सुशासनको आकांक्षा पूरा गर्ने संकल्पका साथ अघि बढौं : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकांक्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उक्त शुभकामना व्यक्त गरेकी हुन् ।

‘कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो’, शुभकामना सन्देशमा भनिएको छ,’तसर्थ कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔं ।’

प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेको र यसका निम्ति राजनीतिक संवाद र सुरक्षास्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढिरहेको सन्देशमा उल्लेख गरेकी छन् ।

सन्देशमा भनिएको छ, ‘फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस् कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौं ।’

यस वर्षको परिवर्तनको असिम आकांक्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, ‘भदौको महान् जेनजी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पेको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको छ, यसबीचमा जेनजीले चाहेको सुशासन र विकासको आधारशीला तयार पनि भएको छ ।’

दीपावलीको उज्यालोसँगै आउने यी पर्व जीवनमा आशा, विश्वास र समृद्धिका प्रतीक भएको र अन्धकारमाथि उज्यालोको, निराशामाथि आशाको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा यी पर्वहरू मनाउने गरेको सन्देशमा छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise