२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सुन व्यवसायमा जर्ती विवाद : व्यवसायी गुप्ता र महासंघको आ–आफ्नो तर्क

ADV
कृष्णानन्द भट्ट
२०८१ असार ६ गते २१:३३
सुन व्यवसायमा जर्ती विवाद : व्यवसायी गुप्ता र महासंघको आ–आफ्नो तर्क

काठमाडौं : सुनको गरगहनाको खरिद बिक्री गर्दा सेवाग्राहीलाई जर्ती बापतको शुल्क कटौती गरेसँगै आफूविरुद्ध सुन व्यवसायीले विषवमन गरेको व्यवसायी नरेन्द्र गुप्ताले बताएका छन् । उनले श्री रिद्धि सिद्धि ज्वेलर्स र सुन व्यवसायी एक अर्कोतिर आरोप प्रत्यारोप गरेको बताएका छन् । 

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सुनको जर्ती नलिने घोषणा गर्ने श्रीरिद्धि सिद्धि ज्वेलर्सले सम्बन्धित गहना व्यवसायीलाई अन्योलमा पारेको र कालीगढबीच द्वन्द्व सिर्जना गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । सरकारले गहना व्यवसाय सञ्चालन एवं नियमनका लागि ऐन, नियम, निर्देशिका जारी नगरेको अवस्थामा गहना व्यवसायीको छाता सङ्गठनले आपसी समझदारीमा निर्धारण गरेको विधि तथा पद्दतिलाई  देशभर सञ्चालित व्यवसाय संचालन हुँदै आएकोमा केही व्यवसायीले आफू खुसी  विभिन्न अफर दिएर आम उपभोक्ता र सुनचाँदी  व्यवसायी एवं कालीगढबीच अविश्वासको संकट पैदा गराएको उल्लेख गरेको छ । 

श्रमिकको पारिश्रमिक, निर्माणको क्षति, जर्ती, ज्याला आदिमा नेपाल सरकारले विभिन्न समयमा परिपत्र जारी गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्ती बापत १० प्रतिशत थप शोधभर्ना दिने नियम किटानी गरेको महासंघले बताएको छ । यसगरी टक्सार विभागले समेत सिक्का टकमरीमा पनि ७.२ प्रतिशत जर्तीको व्यवस्था गरेको र यही व्यवस्था अनुरुप कुनै फर्म वा कम्पनीले जर्ती बापत नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गरगहना बिक्री गर्नु सुनचाँदी बजारमाथी अस्वस्थ प्रतिस्पर्धामा धकेल्नु गलत भएको महासंघको दाबी छ । 

अर्जुन रसाईली, किसान सुनार, प्रचण्ड शाक्यले सँयुक्त विज्ञप्ति जारी गर्दै श्री रिद्धि सिद्धि ज्वलर्सका सञ्चालक नरेन्द्र गुप्ताले आफ्नो कदम उपभोक्तामैत्री रहेको भन्दै संस्थाले गरेको निर्णयमाथि पुनर्विचार नगर्ने दाबी गरेको छन् । वरिष्ठ सुन व्यवसायी गुप्ताले भने आफ्नो कम्पनीले जर्ती वाफतको शुल्क नलिने र तयारी गहनाको ७ प्रतिशत शुल्कमै उपभोक्तालाई बिक्री वितरण गर्ने घोषणा गरेका छन् । यसअघि १२ प्रतिशत शुल्क भएता पनि आफूले ७ प्रतिशत मै ग्राहकलाई उपलब्ध गराउने गरी असार १५ गतेसम्मको लागि यो अफर ल्याएको बताएका छन् । असार १५ गते पश्चात् पनि जर्ती बापतको शुल्क सेवाग्राहीबाट नलिने दाबी गरेका छन् ।

सुनचाँदी व्यवसायी बीच बढ्दो टकरावले अन्य व्यवसायीमाथी चुनौती खडा भएको छ । सुन व्यवसायी गुप्ताले कोटाको सुनमाथिको बेथितिको कारण यो अवस्था सृजना भएको भन्दै विगतदेखि नै विरोध गर्दै आएका छन् । 

अस्वाभाविक किसिमले नेपाल सरकारले असार १५ गतेबाट २० प्रतिशत भन्सार दर पु¥याएको, यसले सुनको मूल्यमा अस्वाभाविक वृद्धि भएको गुप्ताले जनाएका छन् । उपभोक्तालाई असार महिनामा छुट दिने उद्देश्य अनुरुप आफूले सात प्रतिशत ज्यालामा गहना दिने निर्णय गरेको बताए । ‘यो आपत्तिको विषय होइन समर्थनको विषय हो तर, तीनवटा संस्थाले जुन विरोध गरेको छ, यो विरोधका लागि विरोध मात्रै हो’, उनले भने ।

उनले पहिले १२ प्रतिशत ज्याला रहेतापनि अहिले आफूले सात प्रतिशतमा ल्याउँदा प्रतिस्पर्धी व्यवसायीले आपत्ति जनाउनुको अर्थ नरहेको उल्लेख गर्दै उपभोक्तालाई छुट नदिनुस् भनेर भन्न नपाइने उनको भनाइ छ । काम गर्दा केही सुन हराउने भएतापनि हराएको सुन बापत जर्ती भनेर ग्राहकसँग लिनु उचित नहुने उल्लेख गर्दै ज्याला भनेर लिनुस् भनेर आफुले यो आन्दोलन गरेको गुप्ताले बताएका छन् । ‘मेरो आन्दोलन विरुद्धमा मेरा प्रतिस्पर्धी लागेका छन्, मेरो अनुरोध छ, यहाँहरु ग्राहकको पक्षमा लाग्नुहोस्, मैले उपभोक्ताको साथ पाएको छु, म गरेको जर्तीको निर्णयमा जस्तो सुकै दबाब आएतापनि पछि हट्दिन’, उनले भने ।

यसैगरी सुनचाँदी व्यवसायी बीचमा जर्तीको विषयमा पछिल्लो समय देखिएको विवादको बीच ‘सुनचाँदी व्यवसाय तथा कालिगढ बचाउ अभियान’ गठन भएको छ । बजार व्यवस्थित गर्न भन्दै काठमाडौं सुनचाँदी व्यावसायिक संघका अध्यक्ष रोहिणीदेवी शाक्यको संयोजकत्वमा यो समिति गठन भएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise