काठमाडौं : जेनजी आन्दोलनका क्रममा भएको क्षतिलगायतका विषयमा छानबिन गर्न आयोग बन्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिलगायतका विषयमा छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको हो ।
उनका अनुसार आयोगमा कसलाई राख्नेलगायतका विषय टुंगिएको छैन । यो विषयमा आगामी मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ । तथापि आयोगको नेतृत्वमा न्यायिक पृष्ठभूमिका व्यक्ति हुने र त्यसमा पनि पूर्वन्यायाधीश नै हुने अर्यालले बताएका छन् ।
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा पार्क बनाउनेलगायतका निर्णय पनि गरेको छ । मन्त्री अर्यालले भनेका छन्, ‘शहादत प्राप्त गर्नेका हकमा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय भएको छ ।’
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्तिबापत १५ लाख रुपैयाँ दिने घोषणा पनि गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च ५ लाख गरी कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन लागिएको हो ।
गृहमन्त्री अर्यालका अनुसार क्षतिपूर्तिबापतको रकम अर्थ मन्त्रालयमार्फत गृह वा सम्बन्धित जिल्ला प्रशासनबाट वितरण गरिनेछ । आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ ।
आन्दोलका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई सम्बन्धित स्थानमा पुर्याउन सवारीसाधनको व्यवस्था पनि सरकारले मिलाउनेछ । दुर्गमको हकमा भने हेलिकोप्टरमार्फत मृतकको शव सम्बन्धित ठाउँमा पुर्याइनेछ ।
यही भदौ २३ गते र २४ गते भएको आन्दोलनका क्रममा देशभर ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३ सय १६ जना घाइते छन् । २ सय ८३ जना घाइतेहरू देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।