काठमाडौं : ‘पहिले सुरक्षा त्यसपछि व्यवसाय’ भन्ने नारासहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ताहाचलस्थित वैदेशिक रोजगार विभाग र गौशाला प्रहरी चौकी निर्माणको पहल सुरु गरेको छ । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीमा दुवै कार्यालय पूर्ण रूपमा जलेका छन् ।
संघका अध्यक्ष भुवनसिंह गुरुङले संघले नागरिकको सेवा सहजताका लागि महानगरीय प्रहरी वृत्त गौशालालाई सहयोग गर्न पहल गर्दैगर्दा त्यहाँका प्रहरी प्रमुखले नयाँ भवन बनाउन आवश्यक रहेको बताएपछि संघले त्यसका लागि अग्रसरता लिएको बताए ।
त्यसैगरी विभागको ताहाचल कार्यालय तत्काल नबनेको अवस्थामा वैदेशिक रोजगार व्यवसायी र वैदेशिक रोजगारमा जाने कामदारलाई सेवा पाउन समस्या हुने भएकाले सकेसम्म छिटो मर्मतका लागि पनि पहल भएको उनले बताए ।
यता नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले बसपार्कमा रहेको प्रहरी चौकी मर्मत गरिदिने भएको छ । गत भदौ २४ को आगजनीमा क्षतिग्रस्त चक्रपथ, तिलेङ्गेटार र बसपार्क गरी तीन वटा प्रहरी कार्यालयलाई मर्मतका लागि सहयोग जुटाउन पहल गरेको समिति महानगरीय प्रहरी वृत्त चक्रपथका प्रमुखसँग छलफल गरेपछि बसपार्कमा क्षतविक्षत अवस्थामा रहेको चौकी पुनःनिर्माण गर्ने निर्णयमा पुगेको हो ।
समिति घटस्थापना अघि नै चौकी मर्मत गरेर प्रहरीलाई हस्तान्तरण गर्ने तयारीमा लागेको हो । त्यसका लागि सोमबार नै बसपार्क चौकीको लागत स्टिमेट गरेर कामको सुरुवात गरिएको समितिले बताएको छ ।
आइतबार स्काई पार्टी प्यालेसमा समितिमा आबद्ध वैदेशिक रोजगार व्यवसायीहरूको भेला आयोजना गरेर समितिले महाराजगञ्ज, बसुन्धारा र बसपार्क चौकीलाई सहयोग गर्ने सहमति अनुसार न्यूनतम ३० हजार रुपैयाँ सहयोग जुटाउन सुरु गरेको थियो ।
सोमबार बिहानसम्म करिब १५ लाख रुपैयाँ संकलन भएपछि समितिका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको नेतृत्वमा तीन वटै चौकी पुगेर छलफल गर्दा धेरै भिडभाड हुने बसपार्क क्षेत्रमा रहेको चौकी मर्मत गर्नु व्यवहारिक हुने निष्कर्ष निकालिएको उपाध्यक्ष तारानाथ अर्यालले मध्यान्हलाई जानकारी दिए ।
उपाध्यक्ष अर्यालले बसपार्कको प्रहरी चौकी मर्मत सम्पन्न भएपछि रकम बचत भएको अवस्थामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बैंक खातामा जम्मा गरिने निर्णय भएको पनि जानकारी दिए ।
हालैको आगजनी र तोडफोडमा राजधानीमा रहेका प्रहरी वृत्त, प्रभाग र चौकीहरूमा व्यापक क्षति पुगेको छ । प्रहरी चौकीहरूमा लत्ताकपडा, चौखट, झ्यालका सिसा, शौचालय, पिउने पानीको प्रणाली ध्वस्त भएकाले प्रहरी ड्युटी गर्न समेत प्रतिकूलता झेलिरहेका छन् ।
कतिपयका हतियार, लठ्ठी, सञ्चारसेट छैनन् भने तत्कालै घटनास्थलमा पुग्न सवारी साधनको पनि अभाव देखिएको छ । उपत्यकामा कतिपय प्रहरी पोशाकको अभावमा ड्युटीमा जान नपाएर आगजनीमा परेका भवन सफा गरेर बसेका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी)ले कमान्ड गर्ने १८ वटा वृत्तमध्ये मालीगाउँ वृत्त मात्रै सुरक्षित रहेको छ ।